सुदूरपश्चिममा नेताहरुले गरे मतदान

भीमदत्तनगर, १४ असार । दुई दशकपछि आज हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन सुदूरपश्चिमभर शान्तिपूर्ण वातावरणमा भइरहेको छ । बिहान भएको वर्षाका कारण केहीबेर कैलाली र कञ्चनपुरमा सामान्य प्रभावित बने पनि मतदान गर्न हौसिएका मतदाता पानीको प्रवाह नगरी मतदानस्थल पुगेका छन् । यहाँका सात पहाडी जिल्लामा पनि शान्तिपूर्ण वातारणमा मतदान भइरहेको सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रोमेन्द्रसिंह देउजाले बताउनुभयो ।

“सबै जिल्लामा शान्तिपूर्ण माहोलमा मतदान भइरहेको छ”, उहाँले भन्नुभयो, “मतदानस्थलमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।”

सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा सक्रिय रहनुभएका विभिन्न राजनीतिक दलका नेताले समेत आ–आफ्नो मतदानस्थल पुगेर मतदान गर्नुभएको छ । सुदूरपश्चिमको पहाडी जिल्ला अछाम पुगेर नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले मतदान गर्नुभएको छ । उहाँले साफँेबगर नगरपालिका–६ स्थित चन्द्रोदय आधारभूत माविमा रहेको मतदानस्थल पुगेर मतदान गर्नुभयो । उहाँले सो मतदान केन्द्रमा पहिलो मतदान गरेको युवा सङ्घ नेपालका केन्द्रीय सचिब वचनबहादुर सिंहले जानकारी दिनुभयो ।

त्यसैगरी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले दार्चुलाको महाकाली नगरपालिका–५ मा रहेको अपिनाम्पा संरक्षण क्षेत्रको कार्यालय परिसरमा रहेको मदतान केन्द्रमा पुगेर मतदान गर्नुभएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित बैजनाथ माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले आज बिहान मतदान गर्नुभएको छ भने नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले भीमदत्तनगरपालिका–२ उल्टाखामस्थित सरस्वती माविमा पुगेर मतदान गर्नुभएको छ ।

त्यसैगरी, नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य लेखराज भट्टले कैलालीको अत्तरिया नगरपालिका–१ स्थित घण्टेश्वर माविमा रहेको मतदानस्थलमा पुगेर मतदान गर्नुभएको छ । त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री जयन्त चन्दले बैतडीको सुर्नया गाउँपालिका–२ वासुदेव माविमा पुगेर मतदान गरेको राप्रपाका नेता हेमबाबु लेखकले बताउनुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *