यस्तो आयो घर बनाउने नयाँ मापदण्ड

असार १३ । सरकारले योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड तयार गरी लागू गरेको छ । सरकारले ‘बस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२’ तयार गरी लागू गरेको हो ।

नयाँ मापदण्डमा भूकम्पपछिको पुनर्निर्माण र आवश्यक पर्ने खुला स्थानलाई महत्त्व दिइएको छ । मापदण्डमा आवासीय प्रयोजनका लागि प्रस्तावित भौतिक योजना क्षेत्रको हकमा प्रस्तावित घडेरीको क्षेत्रफल भूमिसम्बन्धी नियमहरू २०२१ ले तोकेभन्दा कम कित्ताकाट नहुने गरी योजना प्रस्ताव गर्नुपर्नेछ । त्यसैगरी, एउटै उचाइका अधिकतम तीनतले भवनहरू भएको खण्डमा मात्र जोडिएका भवनहरू निर्माण गर्न दिइने प्रावधान छ । जोडिएका भवनहरू निर्माण गर्दा पछि भवनको मर्मत गर्नुपर्दाको अवस्थामा भवन स्वामित्वकर्ताहरूमा पर्न आउने दायित्वसमेत भवन निर्माण स्वीकृतिका लागि पेश गरिने निवेदनसहित संलग्न हुनुपर्ने मापदण्डमा उल्लेख छ ।

त्यसैगरी, सार्वजनिक प्रयोजनका लागि गरिने जग्गा विकास वा भवन एकीकरण योजना प्रस्ताव गर्दा भवनहरूको गुरुयोजनासहित पेश हुनुपर्नेछ । प्राविधिक समितिको सिफारिशमा स्थानीय निकायले त्यस्तो योजना स्वीकृत गर्नेछ । भौतिक निर्माण योजना कार्यान्वयन अनुमति दिँदा योजना प्रस्ताव गरिएको कुल जग्गाको कम्तीमा १५ प्रतिशत बाटोका लागि र कम्तीमा ५ प्रतिशत खुला क्षेत्रको लागि छुट्ट्याइएको हुनुपर्ने व्यवस्था मापदण्डमा गरिएको छ । यस्तो खुलाक्षेत्रको क्षेत्रफल ८० वर्गमिटरभन्दा कम र चौडाइ ८ मिटरभन्दा कम हुनु हुँदैन । यस्तो खुला क्षेत्रले प्रस्तावित भौतिक योजना क्षेत्रको बाहिरी साँध वा सिमाना छोएको मान्य नहुने मापदण्डमा भनिएको छ ।

सडक
सार्वजनिक भौतिक योजनाको हकमा विद्यमान सार्वजनिक सडकसँग जोडिने प्रस्तावित योजनाको मूल सडकको चौडाइ कम्तीमा ८ मिटर हुनुपर्नेछ । विद्यमान घना बस्तीलाई भवन एकीकृत योजनाद्वारा पुनः निर्माण गर्ने स्वीकृति माग भएको अवस्थामा मापदण्डअनुसार स्वीकृति दिइने व्यवस्था पनि मापदण्डमा गरिएको छ । नियन्त्रित भौतिक योजनाको हकमा विद्यमान सार्वजनिक मूल सडकसँग जोडिने प्रस्तावित योजनाको प्रत्येक सडकमा उक्त सार्वजनिक सडकदेखि २० मिटर भित्रसम्म चारपाङ्ग्रे गाडी छिर्ने र निस्कने बेग्लाबेग्लै ढोका तथा बाटो हुनुपर्नेछ ।

६ मिटरसम्म चौडा सार्वजनिक बाटोले छोएको जग्गामा १० मिटरसम्म अग्ला आवासीय प्रयोजन भवनका लागि प्रस्तावित योजनालाई मात्र स्वीकृति दिन सकिने मापदण्डमा उल्लेख छ । मापदण्डअनुसार ८ मिटर वा त्यसभन्दा बढी चौडा सार्वजनिक सडकले छोएको जग्गामा मात्र १० मिटरभन्दा अग्ला आवासीय र सार्वजनिक भवन निर्माण गर्न पाइनेछ । कुनै पनि बाटो घुम्ती वा मोडको न्यूनतम अर्धव्यास ३ दशमलव ५ मिटरभन्दा बढी हुनुपर्नेछ ।

ढल तथा बाटो निर्माण सम्पन्न गर्ने दायित्व घर निर्माण गर्नेको नै हुनेछ भने बाटो तथा खुला क्षेत्रको स्वामित्व त्यस भौतिक योजनाबाट लाभान्वित हुने भवन र जग्गा खरीदकर्ताहरूमा संयुक्त रूपमा रहने कानूनी व्यवस्था खरीदकर्ताहरूले नगरी योजना प्रस्ताव गर्ने संस्थाले नै गर्ने मापदण्डमा उल्लेख छ ।

भवनको उचाइ तथा सेटब्याक
भवनको उचाइ र सेटब्याकको अनुपातको सम्बन्धमा १० मिटरसम्म अग्ला भवनहरूको सँधियारतर्फको न्यूनतम सेटब्याक (दुई घर बीचको दूरी) १ दशममलव ५ मिटर हुनुपर्नेछ । झ्याल–ढोका तथा भेण्टिलेटर नराख्ने भए सँधियारतर्फ तथा एउटै कित्ताको जग्गामा स्वीकृति प्राप्त गरी बनिसकेको घर भए सोतर्फ भवन संहिता २०६० को प्रतिकूल नहुने गरी टाँसिएको भवन बनाउन दिइनेछ । १० मिटरभन्दा बढी तर १७ मिटरसम्म अग्ला भवनहरूको हकमा सार्वजनिक भवनहरूको सँधियारतर्फको सेटब्याक न्यूनतम ३ मिटर र अन्य भवनहरूको सँधियारतर्फको सेटब्याक न्यूनतम २ मिटर हुनुपर्नेछ ।

१७ मिटरभन्दा अग्ला जुनसुकै भवनहरूको उचाइ र सँधियारतर्फको सेटब्याकको अनुपात ४ः१ हुने गरी तर न्यूनतम सेटब्याक ५ मिटरभन्दा कम हुन नहुने मापदण्डमा उल्लेख छ । एउटै कित्ता वा धेरै कित्ता मिलेर बनेको घडेरीमा एकभन्दा बढी भवनहरू निर्माण गर्न स्वीकृति दिँदा वा घरबाटो सिफारिश दिँदा दुई भवनहरूबीचको दूरी मापदण्डअनुसार हुने गरी स्वीकृति दिइने भनिएको छ । मूल सडक किनारमा भवन निर्माण गर्दा बाटोको चौडाइमा सडकको दुवैतर्फको सेटब्याक जोड्दा जति योगफल हुन्छ, सोको २ गुणाभन्दा अग्लो हुने गरी (लाइट–प्लेनलाई छेक्ने गरी) बनाउन पाइनेछैन । यस्तै, स्थानीय निकायको क्षेत्रभित्र पर्ने लोकमार्गहरूको छेउमा भवन निर्माण गर्न प्रचलित ऐन नियमहरूको अधीनमा र नगरपालिका क्षेत्रमा स्वीकृत नगर यातायात माष्टर प्लानको समेत अधीनमा भवन निर्माण गर्नुपर्नेछ ।

पर्खाल
घरवरपर ४ फिटभन्दा अग्लो पर्खाल बनाउन नपाइने भए पनि पर्खालमाथि १ दशमलव २ मिटर अग्लो जाली लगाउन भने पाइनेछ । भवन निर्माण मापदण्ड २०६४ मा साढे ५ फिटसम्म अग्लो पर्खाल लगाउन पाइने प्रावधान थियो । २०७२ साल वैशाखमा आएको भूकम्पले उपत्यकाका कतिपय निजी तथा सरकारी भवनका पर्खाल भत्किएका थिए । यसरी भत्किएका पर्खालमा पुरिएर मात्रै १ सय ७५ जनाको ज्यान गएको थियो । अग्ला पर्खालले कैयौंको ज्यान लिएपछि समितिले पर्खालको समेत उचाइ तोक्ने निर्णय गरेको हो । यो मापदण्ड लागू भएपछि अहिले लगाइएका ४ फिटभन्दा अग्ला पर्खाल भत्काउनुपर्ने कि नपर्ने भन्नेमा विषयमा भने मस्यौदामा केही उल्लेख छैन ।

आवासीय भवनको सम्बन्धमा
आवासीय भवन निर्माण गर्दा २ सय ५० वर्ग मिटरसम्म क्षेत्रफल भएको घडेरीलाई ७० प्रतिशत र सोभन्दा बढीकोलाई ६० प्रतिशत बढी नहुनेगरी जग्गा उपयोग गर्नुपर्नेछ । यस्तै, सरकारी, अर्धसरकारी वा सार्वजनिक भवनहरू निर्माण गर्दा जग्गा उपयोग प्रतिशत ५० प्रतिशतभन्दा बढी नहुने गरी निर्माण गर्नुपर्नेछ ।

भुइँ क्षेत्रको अनुपातका सम्बन्धमा स्थानीय निकायको परिषद्ले आफ्नो क्षेत्राधिकारभित्र मापदण्ड स्वीकृत गरी लागू गर्दा तोकिएको प्राविधिक समितिको सिफारिशमा भुइँ क्षेत्र अनुपात कायम गर्न सक्ने व्यवस्था गरिएको छ । अहिले नेपाल सरकारको स्वीकृति प्राप्त गरी मापदण्ड लागू गरिरहेका स्थानीय निकाय तथा विकास प्राधिकरणहरूले सोही मापदण्डबमोजिम भुइँ क्षेत्रको अनुपात कायम गर्न सक्ने व्यवस्था मापदण्डमा छ ।

स्थानीय सडक निर्माण गर्दा नयाँ निर्माण हुने सडकको क्षेत्राधिकार सो सडकको केन्द्र रेखाबाट न्यूनतम ३ मिटर कायम गर्नुपर्नेछ । तर, जटिल भौगोलिक क्षेत्रमा सडकको चौडाइ केन्द्र रेखाबाट न्यूनतम २ मिटर कायम गर्न सकिनेछ । यस्ता नयाँ निर्माण हुने सडक छेउमा भवन निर्माण गर्न स्वीकृति दिँदा सडकतर्फको न्यूनतम सेटब्याक १ दशमलव ५ मिटर कायम गर्न गरिने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *