आतङ्कका बिचमा मतदानको पर्खाई

बिहीबार ४५ जिल्लाका एक सय २८ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा मतदान गर्न मतदाताहरु आतुर भएर बसेका छन् । बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म १२८ प्रतिनिधि सभा तथा दुई सय ५६ प्रदेश सभा सदस्य छनौट गर्ने मतदान हुनेछ ।

तर, मतदानको पूर्व सन्ध्यामा देशभर भइरहेको बम आतङ्कले मतदातालाई भयभित बनाइदिएको छ । कतिपय मतदान केन्द्रमै तथा कतिपय अत्यन्त सुरक्षा संवेदनशील स्थानमा समेत बम राखिएका घटनाहरू सार्वजनिक भइरहेका छन् ।

ठाउँ–ठाउँमा भारतीय नागरिकहरू समेत बम र अन्य हतियार सहित पक्राउ परिरहेका छन् । नेपालको निर्वाचन विथोल्न उनीहरू किन सक्रिय छन्, उनीहरू को बाट परिचालित छन्, नेपालमा निर्वाचन विरोधी गतिविधि गर्नेहरुसँग उनीहरूको के साइनो छ, गम्भीर खोजी गरिनुपर्छ ।

पहिलो चरणको निर्वाचनको पूर्वसन्ध्या देखि नै उम्मेदवारलाई लक्षित गरी बम विस्फोटको श्रृंखला सुरु भयो । उम्मेदवारको चुनावी प्रचारलाई प्रभावित पार्ने गरी चुनावी सभामा, उम्मेदवारको घरमा वा बाटोमा बम विस्फोट गराईंदै आएको छ । निर्वाचन विरोधी हिंसात्मक घटनाबाट अहिलेसम्म एक जनाले ज्यान समेत गुमाइसकेका छन् भने दर्जनौं घाइते अवस्थामा छन् ।

केही दिन पहिला प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यक्रमलाई लक्षित गरी दाङमा भएको विस्फोटमा परी म्यादी प्रहरी विनोद चौधरीले ज्यान गुमाए । रौतहटमा भएको विस्फोटबाट नाबालक र उनकी आमा गम्भीर घाइते बन्न पुगे । उदयपुरमा बम विस्फोट हुँदा उम्मेदवारसहित सात जना घाइते भए उदयपुर क्षेत्र नं. २ का काँग्रेस उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भई अहिले पनि अस्पतालमै छन् । कार्कीसँगै अन्य दुई जना पनि गम्भीर घाइते भएका छन् । यस्तै, नुवाकोट १ मा नेपाली काँग्रेसका नेता एवम् पुर्वअर्थमन्त्री डा रामशरण महत र रमेशकुमार महतलाई लच्छित गरी बम प्रहार भयो । विद्युतीय एम्बुसमा परि काँग्रेस कार्यकर्ता चढेको जीप ध्वस्त भएको थियो भने कैयौैं कार्यकर्ता घाइते भएका थिए ।

यसै गरी रोल्पामा पनि निर्वमान सभामुख ओनसरी घर्ती मगर लगायत माओवादी केन्द्रका नेताहरूलाई कृष्णबहादुर महरा र बर्षमान पुन चढेको गाडीलाई लक्षित गरी दुईवटा बम प्रहार भयो । २४ कात्तिकमा विनाविभागीय मन्त्री तथा वाम गठबन्धनबाट पश्चिम रुकुमका प्रतिनिधिसभा सदस्य उम्मेदवार जनार्दन शर्मा चढेको गाडीमाथि दुई वटा बम प्रहार भयो । त्यसको भोलिपल्ट माओवादी नेता तथा रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुनलाई लक्षित गरी माइन विस्फोट गराइयो । २६ कात्तिकमा उनीमाथि फेरि आक्रमण भयो ।

उनी सडकमा हिँडिरहेका बेला माथिपट्टिबाट एक समूहले ढुङ्गा खसाएको थियो । त्यसक्रममा प्रहरी र आक्रमणकारीबीच दोहोरो फायरिङसमेत भयो । २८ कात्तिकमा एकै दिन तीन नेतालाई लक्षित गरी बम प्रहार भयो । म्याग्दीको बेनी नगरपालिकामा काँग्रेसको चुवानी अभियानलाई लक्षित गर्दै बम विस्फोट गराइएको थियो । काँग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार खम्बिर गर्बुजा उक्त कार्यक्रममा सहभागी थिए । भोजपुरमा पनि एमालेबाट प्रदेशसभा सदस्य उम्मेदवार एवम् पूर्व संचारमन्त्री शेरधन राईलाई लक्षित गरी बम प्रहार भयो । घटनामा उनका अंगरक्षक डिल्ली देवकोटा घाइते भए । सोही दिन सङ्खुवासभामा प्रतिनिधिसभामा एमालेका उम्मेदवार राजेन्द्र गौतमलाई पनि लक्षित गरी विस्फोट गराइयो । ३० कात्तिकमा सिँचाइ राज्यमन्त्री अमरसिंह पुन र माओवादी नेता नारायणकाजी श्रेष्ठलाई लक्षित गरी बम विस्फोट गराइयो ।त्यो श्रृंखला आजसम्म जारी छ ।

निर्वाचन विरोधी गतिविधि गर्नेहरुले प्रधानमन्त्री लगायत शीर्ष नेताहरू सम्मिलित कार्यक्रम देखि सामान्य उम्मेदवार सम्मलाई लक्षित गरी बम पड्काउने, तर्साउने गरी नै रहेका छन् । केही दिन अघि मात्रै पनि काठमाडौँमा काँग्रेस उम्मेदवार गगन थापालाई लक्षित गरी बम आक्रमण भएको थियो । निर्वाचनको अघिल्लो दिन आज देशका प्रायः धेरै ठाउँबाट बम विस्फोट गरिएको वा निस्क्रिय पारेका समाचारहरु आइनैरहेका छन् ।

सम्पूर्ण घटनाको प्रकृति हेर्दा तर्साएर चुनाव भाँड्ने नियत देखिन्छ । प्रहरीले निर्वाचनबाट बाहिर रहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बम आतंका मच्चाएको बताएको छ । अझ अनौठो कुरा त के छ भने ठाउँ–ठाउँमा भारतीय नागरिकहरू समेत बम र अन्य हतियार सहित पक्राउ परिरहेका छन् । नेपालको निर्वाचन विथोल्न उनीहरू किन सक्रिय छन्, उनीहरू को बाट परिचालित छन्, नेपालमा निर्वाचन विरोधी गतिविधि गर्नेहरुसँग उनीहरूको के साइनो छ, गम्भीर खोजी गरिनुपर्छ ।

निर्वाचनको सम्मुखमा गरिएका श्रृंखलाबद्ध यस्ता क्रियाकलापहरुले निर्वाचन विरोधी समूह नै हो भन्ने बुझाउछ । नागरिकको स्वतन्त्र पूर्वक मतदान गर्न पाउने अधिकार कसैले कुण्ठित गर्न पाइदैन । देशमा लोकतन्त्र स्थापना भइसकेको बेला बुलेट हैन ब्यालेटको राजनीति गर्नुपर्दछ । अराजनैतिक क्रियाकलाप गर्नेहरु विरुद्ध कडाईका साथ लाग्न जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *