तरूण दलका युवाले कुदाएकाे माेटरसार्इकलकाे ठक्करबाट बालक घाइते

मङ्सिर १८, सुनसरी । नेपाल तरुण दलका युवाहरूले चलाएको मोटरसाइकलले ठक्कर दिँदा सुनसरीको अमाहीबेल्हामा एक बालक घाइते भएका छन् ।

हिजो दिउसो करिब ४ बजेतिर साविक बर्जु ५ हाल अमाहिबेला ९ पण्डित टोलमा नेपाली काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार विजयकुमार गच्छदारको चुनावी कार्यक्रममा गएका युवाहरूले कुदाएको मोटरसाइकलको ठक्करबाट स्थानीय पण्डित टोल बस्ने जयनारायण पण्डितको ६ वर्षीय बालक घाइते भएका हुन् ।

प्रत्यक्षदर्शीका अनुसार मादक पदार्थ सेवन गरेका तरुण दलका कार्यकर्ताले कुदाएको मोटरसाइकलले बालकलाई ठक्कर दिएको हो ।

उनको टाउकोमा चोट लागेको इलाका प्रहरी कार्यालय चिमडीका सई पाण्डब राजवंशीले जानकारी दिए । उनले कसले घाइते बनायो खुलाउन चाहेनन् । ‘सामान्य कुरा हो, केही भएको हैन ।’ उनले भने ।

स्थानीय टोलमा खेल्दै गरेका बालकलाई मोटरसाइकलले ठक्कर दिएको स्थानीयले बताएका छन् । बालक घाइते भएपछि ती युवाहरूले अभिभावक र स्थानीय महिलाहरूलाई बच्चा बाटोमा छाडेको भन्दै गाली गलौज गर्दै उपचार गर्नु भनी १ हजार दिएर गएको स्थानीयको आरोप छ ।

इप्रका चिमडीमा सई राजवंशीले मोटरसाइकलको ठक्करबाट नभई कच्ची बाटोमा मोटरसाइकलको टायरले ढुङ्गा उछिट्याएर बच्चालाई लागेको जिकिर गरे । तर, स्थानीय महिला र प्रत्यक्षदर्शीले भने, मोटरसाइकलले नै ठक्कर दिएको र युवाहरूले तथानाम गाली समेत गरेको जिकिर गरेका छन् । ‘उपचारका लागि अस्पताल लैजाउँ भन्दा गाली गर्दै ‘केही भएको छैन, किन अस्पताल लानु ?’ भन्दै मलमपट्टि गर्न भनेर बालकका बाबु जयनारायणलाई एक हजार थमाई दिएको स्थानीय देवचन्द मेहताले बताए ।

इप्रकाका सईले बच्चालाई सामान्य चोटपटक लागेको भन्दै प्रहरी कै भ्यानमा लगेर स्थानीय मेडिकलमा प्राथमिक उपचार गराएर पठाएको बताए । ‘मोटरसाइकलले हानेको हैन, ढुङ्गाले लागेछ, उहाँहरूले उपचार गर्नु भनेर एक हजार पनि दिनुभको छ, हामीले नै भ्यानमा हालेर मेडिकलमा लगेर उपचार गरिदियौं ।’ उनले भने ।

स्थानीय भने, एउटा बालकलाई मोटरसाइकलले ठक्कर दिँदा राम्ररी उपचार गर्नुको सट्टा गाली गलौज गर्दै एक हजार दिएर घटना सामसुम पार्न खोजेको भन्दै आक्रोसित भएका छन् । उनीहरूले स्थानीय प्रहरीले पनि सहयोग नगरेको बताए । ‘प्रहरीले के भएको हो ? खोजी गरेर पीडितलाई न्याय दिनुपर्नेमा उल्टै हप्की दप्की गर्दै उनीहरूकै पक्षमा कुरा गर्‍यो ।’ एक स्थानीयले भने । स्थानीयले इप्रका चिमडीका सई राजबंशीले यस अघिपनि गाउँमा कुनै वादविवाद पर्दा स्थानीय पीडितको पक्षमा भन्दा पनि पावर र पैसामा काम गर्ने गरेको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 6 =