मान्छेको मन (कथा)

“बस्दै बस्दिन अब म यस घरमा । बस्दै बस्दिन ।”यसरी सबैको अर्घेलो भएर बस्नु भन्दा त बरु खुरुक्क गएर कुनै वृद्धाश्रममा गएर शान्तिसँग जीवन बिताउन बेस हुन्छ” भन्दै बिहानैदेखि फतफताउन थालेका थिए मकरध्वज । शनिवारको दिन भएको हुनाले त्यस दिन मकरध्वजका एक मात्र छोरो अमर,बुहारी सदीक्षा र नाति सुशान्त सबै घरैमा थिए ।  बिहानको करिब नौ बज्न लागेको थियो । मकरध्वज बिहान केहीबेर फत्फताएर आफ्नो मनको असन्तुष्टि व्यक्त गरेपछि बरण्डामा बसेर समाचारपत्र पढ्दै थिए ।

उनको नाति सुशान्त घरअगाडिको सानो आँगनमा छिमेकी घरको एउटा केटासँग फुटबल खेल्दै थिए । “हेर है ! बिस्तारै खेल है हजरबुबा बसिरहनु भएको छ । लाग्ला नि ..।” छोरो फुटबल खेलिरहेको देखेर सदीक्षाले छोरोलाई सतर्क गराउँदै भनेकी थिइन् ।  केहीबेरपछि सुशान्तले हानेको बल अचानक गएर मकरध्वजसँगठोकिन पुग्यो । त्यत्ति भए मकरध्वजको पारो चढाउनलाई पर्याप्त भइहाल्यो ।

उनले हातमा बल लिएर आग्नेय दृष्टिले केटाहरूतिर हेर्दै उनीहरूलाई बेस्सरी झपारे । बुढा रिसाएको देखेर छिमेकी केटो लुसक्कआफ्नो घरतिर लाग्यो । सुशान्तचाहिँ कंकलाशव्द गर्दै भित्र भान्साकोठामा गएर आमालाई पोल लगाउन थाल्यो ।  छोरो रोएको सुनेर अमर बैठक कोठादेखि भान्सामा गएर छोरो रोएको कारण सोधे । “के हुन्थ्यो र ? यिनीहरूले बल खेल्दै थिए झुक्किएर गएर बुबालाई लागेछ, हकारिदिनुभयो होला त्यै भएर रोइरहेको छ ।” सदीक्षाले पतिका अगाडि भनिन् । “बुबा मेरो बल हजुरबुबाले दिनुहुन्न, मागिदिनुहोस् न ।” सुशान्तले पिताको हात समातेर तान्दै भन्यो ।

  “बुबा, यी ससाना कुरामा पनि किन रिसाइरहनुहन्छ ? केटाकेटी हुन् झुक्किएर बल तपाईँलाई लाग्न पुग्यो होला त्यसमा यतिबिधि रडाको मच्चाउन त सुहाएन नि ! सुशान्तको हात समातेर मकरध्वजको अघि पुगेका पिताको अघि आफ्नो असन्तुष्टि पोखे ।  “तेरो छोरो सानो छ र अब ? आठ वर्षको भइसक्यो । बुद्धि भने उही बाउपटि गएको छ । एक पटक भनेको कुरो मान्ने होइन । यहाँ म बसेको देख्दादेख्दै किन खेल्नपर्याे फुटबल? जा दिँदैदिन्न म यो फुटबल सुटबल”छोराको कुरो सुनेर अझै कड्किँदै भने मकरध्वजले । “नकराउनुस् न बुबा…दिनुहोस् उसलाई बल । हेर्नाेस् त कति बलिन्द्र धारा आँसुझारेको छ तपाईँको नातिले…।” अमरले पितालाई सम्झाउने प्रयास गर्दे कोमल स्वरमा भनेका थिए । “भैगो ! भैगो ! छोराको वकालत गर्न पर्दैन । मलाई थाहा छ तिमीहरू सबै एकातिर छौ ।

म बुढो अब भार भएको छु, तिमीहरूका लागि” हातमा भएको भकुण्डो आँगनतिर हुत्याउँदै बोलेका थिए मकरध्वज । यस्तै थियो त्यस घरको चाला । छोरो, बुहारी,इष्टमित्र सबैले मकरध्वजको मनमा सन्तुष्टि थिएन । “अब म बुढो भएँ ।कुनै काम नलाग्ने भएँ । मेरो कुरो कसैले सुन्दैन । एक गाँस खाएर बाँच्न मात्र जिन्दगी होइन । छोराबुहारी दुवै जागिरे भइहाले । ठूली नातिनी होस्टलमा बसेर पढ्दैछ । सानो नाति महाको चकचके छ । यस घरमा सघाउने एउटा केटो छ त्यो पनि स्कुलमा नै बिताउँछ । म बुढोलाई घरकुरुवा बनाएर राखेका छन् तेरा दाइभाउजुले ।” कहिलेहाहिँ छोरी रिमा माइत आएको बेला गुनासो गर्दै भन्ने गर्दथे मकरधवज ।“बुबा । त्यसो नभन्नुहोस् । मैले बुझेअनुसार तपाईँलाई यहाँ कसैले पनि हेला गरेका छैनन् ।

हिजोआज घर चलाउनका लागि पति पत्नी दुवैको आय आर्जन हुन आवश्यक पर्छ,त्यसैले भाउजूले पनि जागिर गर्नुपरेको छ । तर पनि दाजु भाउजूले सकेसम्म तपाईँको सेवामा कुनै प्रकारको कमी गर्नु भएको छैन । त्यो सानो नातिले जानी नजानि केही बिरायो भन्दैमा यतिबिधि रिसाउनुहुन्छ त ?” पिताको आक्रोशपूर्ण गुनासोलाई शान्त पार्ने प्रयत्न गर्दै भन्ने गर्दथिन् रिमा ।“जे भन तिमीहरू ! म अब बृद्धाश्रममा गएर जीवनको बाँकी दिन बिताउँछु भनेर निश्चय गरिसकेको छु । त्यहाँ गएपछि मलाई ढुक्क हुनेछ । त्यहाँ पनि राम्रो बन्दोबस्त छ भनेको सुनेको छु । पेन्सनमा पाउने पैसाले त्यहाँ तिर्न पुगिहाल्छ ।

मैले यो घर छोडेर गएँभने सबैलाई हाइसन्चै हुनेछ । घुर्की लगाउँदै भनेका थिए मकरध्वजले । बुबा तपाईँ किन जहिलेपनि बृद्धाश्रममा गएर बस्छु भन्नुहुन्छ ? यहाँ के दुःख छ र तपाईँलाई ?हेर्नाेस्,मानिसले जान्यो भने हाम्रा वरिपरि भएका स–साना दृश्य,ध्वनि र घटनाहरूबाट पनि खुसी प्राप्त गर्न सक्दछौँ । तपाईँ कति न बुढो भइसक्नुभएको छ र ? तपाईँभन्दा पाका उमेरकाहरू अहिलेसम्म पनि आपूmलाई व्यस्त राखेरआनन्दसँग जीवन बिताइराखेका छन्” मकरध्वजको अनावश्यक कचकचबाट वाक्क दिक्क भएका अमरले एक दिन पिताका अघि रोष प्रकट गर्दै भनेका थिए । “भैगो भैगो मलाई तेरो अर्ति चहिँदैन । तँ मेरो बाउ होइनस् । म तेरो बाउ हँु बुझिस् ।” छोरोको कुरो सुनेपछि जङ्गिदै भनेका थिए मकरध्वजले । “होइन,बुबालाई किन यस्तोे असन्तुष्टि भएको होला ? पहिले पहिले त उहाँ यस्तो हुनुहुन्थेन । आफ्ना नातिनातिनालाई त्यस्तोबिधि माया गर्ने मान्छे अहिले के भएको होला?” ससुराको व्यवहारबाट आहत भएकी सदीक्षा पनि बेलाबेलामा आफ्नो भावना व्यक्त गर्थिन् पतिका अगाडि ।

“यो सब रिसको जडचाहिँ बुबा ज्यादै फुर्सदिलो भएर हो । उहाँले चाहनुभयो भने घरको सानोतिनो काममा सघाउन सक्नुहन्छ । यता उताका आफ्नो उमेरका मानिसहरूसँग भेटघाट गरेर दिन बिताउन सक्नुहुन्छ । पत्रपत्रिका,पुस्तक आदि पढेर,टि भी हेरेर पनि बस्न सक्नुहन्छ । खालि जतिबेला पनि तिमीहरूले हेला गर्याै अब म बृद्धाश्रममा गएर बस्छु भनेर घुर्कि लगाउनुहुन्छ ।” अमरले पनि यसरी आफ्ना भावना व्यक्त गर्ने गरेका थिए । “तपाईँले बुबालाई राम्ररी सम्झाउनुहोस् न । बृद्धाश्रममा गएर बस्दैमा सबै समस्याको हल हँुदैन भनेर । त्यहाँ बाध्यतावश आश्रय लिइरहेका वृद्ध बृद्धाहरू कति घरपरिवार सम्झेर रोएका हुन्छन् त्यो सब हामीले पत्र पत्रिकामा पढिरहेका छौँ । उनीहरू बिरामी भएर अशक्त भएको बेला आफन्तको अनुपस्थितिले कति पिरोल्छ होला त्यो उनीहरूलाई मात्र थाहा होला ।

मलाई त डर लाग्छ । कतै बुबा हामीलाई थाहै नदिएर घर छोडेर जाने पो हो कि ..?” सदीक्षाले पनि बेलाबेलामा पतिका सामु भन्ने गर्थिन् । एकदिनको कुरा हो । त्यो दिन शुक्रवार परेको थियो ।बेलुका सँधैझँै सदीक्षा कामबाट फर्केर घर पुगिन् । घरमा सघाउने केटो अशोक र छोरो सुशान्त बाहिर आँगनमा खेल्दै थिए । सदीक्षाले गेटको घण्टि बजाएपछि दगुर्दै गएर अशोकले गेट खोलिदियो । “तिमीहरूले के खाजा खायौ ?” भन्दै सदीक्षा आँगनमा पुगिन् । “हजरबुबा त ट्याक्सीमा सामान राखेर बृद्धाश्रम जानुभयो ।”सुशान्तले आफ्नी आमालाई देख्नासाथ् भन्यो ।“केरे..?” छोराको कुरो सुनेपछि सदीक्षाको मुखबाट स्वतः शून्यभाव निस्कियो । “हो त हजुरबुबा त अब म यस घरमा बस्दिन भनेर ट्याक्सीमा सामान राखेर जानुभयो ।” अशोकले पनि भन्यो । हरे…भन्दै सदीक्षा केहीबेरसम्म हलचल नगरेर उभिरहिन् । केहीबेरपछि सदीक्षाले ससुराले घर छोडेको कुरो अमरलाई पनि फोन गरेर सुनाइन् । “अब हामीले यो कुरो अहिले नै हल्लाखल्ला गरेर सबैलाई सुनाउन पर्दैन । म अहिलेदेखि नै उपत्यकामा कहाँ कहाँ बृद्धाश्रम छन् त्यो पत्ता लगाउँछु र भोलि बिहानै बुबालाई खोज्न निस्कन्छु । हतारिँदैघर पुगेका अमरले सदीक्षाका अघि भनेका थिए ।

 हप्तादिन बितिसकेको थियो । अमरले विभिन्न स्थानमा अवस्थित बृद्धाश्रममा गएर पिताजीको खोजी गरे तर त्यहाँ कतैपनि मकरध्वजलाई पाउन सकिएन । अन्त्यमा दशाँै दिनको राति अमरले हतोत्साहित हँुदै पत्नीका अघि अवरुद्ध कण्ठले भनेका थिए, “अब भएन म भोलि बिहानैप्रहरीकहाँ गएर बुबा हराउनु भएको रिपोर्ट लेखाउँछु

।” बुबाको फोटो पनि दिनुपर्ला ।अर्काेदिन बिहानै करिब छ बजेतिर कसैले गेटको घन्टी बजाएको हुनाले सदीक्षा आफँै गएर गेट खोलिदिएकि थिइन् । “ए…बु….बा..। गेट बाहिर सुटकेस लिएर उभिएका मकरध्वजलाई देख्नासाथ सुखद आश्चर्यमा डुबेकी सदीक्षाको मुखबाट शब्द फुत्किएको थियो । खोइ ल्याउनुस् बुबा..म सुटकेस बोक्छ.ु..। बरबरती आँसु झार्दै ससुराको हातबाट सुट्केस लिएकी थिइन् सदीक्षाले । को हो….?भन्देै उत्तिनै खेर कोठाबाट बरण्डामा पुगेका थिए अमर पनि ।मकरध्वजलाई देख्ने बित्तिकै “आ.. बुबा पनि …। हामीलाई कस्तो रुवाएको…” भन्दै अमर एक्कासि पितालाई अँकमाल गर्न पुगेका थिए ।“को बस्छ त्यस्तो ठाउँमा पनि ? यति बेला सुत..,यति बेला उठ…।

यति बेला खा,यति बेला भजन कीर्तन् गर भनेर समय तोकिदिएका छन् । सक्दिन म त उनीहरूको खटनपटनमा बस्न । मेरो घर परिवार छैन र म त्यहाँ उनीहरूको आदेश मानेर बस्न ? मलाई कसैले घर निकाला गरेको होइन क्यारे..।” उही पहिले पहिले झैँ कड्किँदै बोलेका थिए मकरध्वज ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *