खानेपानी तथा सरसफाइ कार्यालयमा करोडौंको चलखेल

असार १३, वीरगज । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पर्साले चालु आर्थिक वर्षको करोडौंको बजेट भागबन्डामा सिध्याएको छ । स्वाच्छ खानेपानी वितरणको नाममा रकम हिनामिना गरेको स्थानीयले आरोप लगाएका छन् । तत्कालीन गम्हरिया गाविसका स्थानीयले कारबाई माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेपनि सुनवार्इ नभएको उनीहरूको गुनासो छ । सो गाउँका स्थानीयले सोधीखोजी सुरू गरेपछि कार्यलयको कर्मचारीहरूको नराम्रो व्यवहारमा उत्रिएपछि कार्यालयका कर्मचारीहरू विरूद्ध जिल्ला प्रशासन कार्यालयमा गुनासो गरिदै उजुरी गरेका थिए ।

आर्थिक बर्ष २०७३/०७४ मा पर्सामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले रु ८ करोड ९० लाख खानेपानीको लागि स्यालो ट्युबवेल (हातेधारा) र ओभर–हेड पानी ट्यांकीको योजनामा बजेट खर्च गर्न नेपाल सरकारले सो कार्यलयमा रकम पठाएको देखिन्छ । जेठ मसान्तसम्म सो रकमबाट करिब ६० प्रतिशत खर्च भएको कार्यालयका इन्जिनियर दिनेशप्रसाद साहले बताए । सो रकम ओभरहेड टयांकी बनाउन खर्च भएको साहले बताए । जिल्लामा यो बर्ष एक हजार ४६ वटा स्यालो ट्युबवेल गाड्ने योजनामा काम भइरहेको छ ।

कार्यालयका प्रतिनिधिहरूका गतिविधि र भएका काम शङ्कास्पद देखिएपछि साबिक गम्हरिया गाविसका स्थानीयले चैत २८ मा सूचनाको हक सम्बन्धी ऐन प्रयोग गरी आफ्नो नाममा जडान भएको स्यालो ट्युबेलको विवरण गर्न माग गरेका थिए । आर्थिक हिसाबकिताब लुकाएर कार्यालयले उपलब्ध गराएको ७८ पन्ने विवरणले अनियमितिता भएको प्रस्ट पारिसकेपछि स्थानीयहरू जिल्ला प्रसाशन पुगेर उजुरी गरेका थिए । डिभिजन कार्यालयले उपलब्ध गराएको बिवरणमा उल्लिखित ठाउँमा जडान गरिएको धाराको गहिराइ तथा कार्यालयका प्रतिनिधिहरूको उपस्थितिमा भएको नापमा धेरै फरक देखिएको कारण धारा जडानमा व्यापक अनियमिता भएको पुस्टि भएको छ ।

सो कार्यालयले दिएको कागजातमा गम्हरिया गाउँमा दुई सय ४० देखि २ सय ५० फिट गहिरो धाराहरू गाडिएको उलेख्ख छ । विश्वनाथ महतोको घरनिर गाडिएको धारा एक सय ४० र बिसुन ठाकुर लोहारको घर नजिक गाडिएको धारा एक सय १० फिट मात्र रहेको प्रमाण भेंटिएको छ । १ सय १० फिटको हाराहारीमा बलराम राम, जगदीशप्रसाद कलवार, सुग्रिम मियाँको घर नजिक र मस्जिद प्राङ्गणमा धारा गडिएको प्रमाण फेला परेको छ । त्यति मात्र हैन, सो कार्यालयले नक्कली कागजात बनाई धारा जडान नभएको व्यक्तिको नाममा पनि धारा वितरण गरेको पाइएको छ । कार्यालयले प्रमाणित गरेर उपलब्ध गराएको सूचनामा उल्लिखित विवरण मात्र कागजमा छ । तर, ललन साह सोनार, राजकिशोर साह, कैलाश महतो, रामचन्द्र साहको घरमा धारा जडान भएको छैन ।

यस विषयमा कार्यालय प्रमुख इन्जिनीयर रामहित यादवले इस्टिमेटभन्दा स्थलमा काम गर्दा फरक पर्न सक्छ बताए । कम गहिराइमा पानी भेंटियो त्यहाँको त्यसै अनुसार रेकर्ड बनाउने हो, ठ्लो कुरा होइन, यादवको भनाइ छ । गाउँलेहरूले उठाएको माग तथा कर्मचारीहरूको रोहबरमा भएको धाराको गहिराई नापजोख फरक परेका सम्बन्धित कर्मचारीलाई कारबाई गर्ने यादवले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *