चितवनमा नक्कली बम भेटियो
“
मङ्सिर १४, चितवन । दोस्रो चरणमा हुने प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारलाई लक्षित गरेर देशका विभिन्न भागमा विस्फोट भइरहेका बेला चितवनको पर्सा बजार नजिक भने नक्कली बम भेटिएको छ ।
निर्वाचन प्रचार अभियानले तीव्रता पाइरहेका बेला पर्सा बजार नजिक भेटिएको नक्कली बमका कारण बिहीबार बिहान करिब ३ घण्टा पूर्वपश्चिम लोकमार्ग समेत अवरुद्ध भएको थियाे । पर्सा बजार नजिक रहेको नेपाली काँग्रेस क्षेत्र नम्बर १ को निर्वाचन परिचालन कार्यालय र सोही स्थान नजिक रहेको बाम गठबन्धन निर्वाचन परिचालन कार्यालय अगाडि भेटिएको २ वटा शंकास्पद बस्तुले स्थानीयलाई केहीबेर त्रसित बनाएको थियो ।
उक्त शंकास्पद बस्तु डिस्पोज गर्ने क्रममा बिहीबार बिहान करिब ३ घण्टा पुर्वपश्चिम लोकमार्ग अवरुद्ध भएको हो । शंकास्पद बस्तु डिस्पोज गर्ने क्रममा सवारी साधन तथा यात्रुलाई क्षति हुनसक्ने भन्दै प्रहरीले सवारी आवागमनमा रोक लगाएको थियो । उक्त शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ र दुईवटै बस्तु बम नभएको सेनाले जनाएको छ । नेपाली सेनाको भरतपुरस्थित दि फेमस महेन्द्र दल गणबाट खटिएको सेनाको टोलीले उक्त नक्कली बम निष्कृय पारेको थियो ।
“