‘सपनामा मात्र होइन, विपनामै चितवनमा रेल आउँछ’

किशोर खनाल, भरतपुर । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सपनामा मात्र होइन, विपनामा नै चितवनमा रेल आउने बताएका छन् ।

भरतपुर–२४ दीपचोकमा बाम गठबन्धनको चुनावी सभामा अध्यक्ष प्रचण्डले अब चितवनवासीको सपना विपनामा परिणत हुने बताए । उनले भने, ‘ल्हासा–लुम्बिनी रेलमार्ग अब सपना मात्र होइन, विपना हुँदै छ, कृष्णनगर– बुटवल हुँदै चितवनमा रेल आउँछ । त्यो रेल चितवनबाट हेटौंडा पुग्छ ।’ यस्तो रेलमार्ग निर्माणको काम अब सपना मात्र नभई विपनामै परिणत हुने उनले बताए । उनले भने, ‘तपाईँहरूको सपनामा मात्र आइरहने रेल अब विपनामा नै आउनेछ, त्यसको लागि धेरै समय कुर्नुपर्दैन । बाम गठबन्धनको सरकारले त्यो पूरा गर्नेछ ।’

उनले ल्हासा–लुम्बिनी रेल सपना पूरा गर्नका लागि आफूले ठुलो सङ्घर्ष गरेको बताएका छन् । निर्वाचनपछि वामपन्थीको बहुमतको सरकारले रेलको सपना पूरा गर्ने उनको दाबी थियो । प्रचण्डले अबको बहुमतको सरकारले खाडीमा पसिना बगाएर दुई–चार पैसा कमाए पनि दैनिक दुई–चारओटा शवका बाक्सा आउने तितो यथार्थ अन्त्य गर्न गर्ने दाबी गरेका थिए ।

‘वामपन्थीलाई बहुमत दिनासाथ मुलुक बदलिने वाला छ, दुई चार ओटा चिप्ला कुरा गरेर जनतालाई खसीबोका संझिनेहरुलाई भोट नदिनूस’ उनले भने, ‘औद्योगिक क्षेत्रको विकास गरेर युवाहरूलाई खाडी पठाउने होइन, मुलुकमै धेरै पैसा आउने गरी रोजागारीको ग्यारेन्टी गर्र्ने हो ।’

कार्यक्रममा प्रचण्डले चितवनलाई देशकै नमुना सहरको रूपमा विकास गर्ने बताए । उनले माडी क्षेत्रका नदीहरूमा तटबन्ध, राष्ट्रिय निकुञ्जका वन्यजन्तुको आतङ्क रोक्न मेशजाली, सुरुङमार्ग र चक्रपथ निर्माणको कार्यलाई व्यवस्थित बनाउँदै पाँच वर्षभित्र चितवनलाई देशकै नमुना सहरको रूपमा विकास गरेर छोड्ने प्रतिबद्धता दाहालले गरेका थिए । उनले भने, ‘वामपन्थी सरकारको पहिलो क्याबिनेटमा चितवनको मुख्य सडक कालोपत्रे गर्ने निर्णय गरिने छ, बाँकी पाँच वर्षमा सबै शाखा सडकहरु पिच गर्न प्रतिबद्धता म गर्नेछु ।’

केरुङ–ठोरी सडकमार्गको निर्माण गर्दै चितवनलाई चीन–भारतको व्यापारिक मार्गको रूपमा विकास गरिने दाबी गर्दै अध्यक्ष प्रचण्डले भने, ‘यसले देशकै आर्थिक क्रान्तिमा योगदान पुग्नेछ यसको लागि म प्रतिबद्ध छु ।’

७० वर्षदेखिको अस्थिर राजनीतिको कारण सम्बोधन हुन नसकेको जनआकांक्षा पूरा गर्नका लागि एमाले अध्यक्ष ओली र आफूले हस्ताक्षर गरेर स्थायी सरकार बनाउने संकल्प गरेको प्रचण्डले बताए । उनले भने, ‘अबको पाँच वर्ष वामपन्थी सरकारको नेतृत्व गर्न पाएमा ५० वर्षसम्म कसैले हल्लाउन सक्दैन, राजनीतिक स्थायीत्वको आधार तयार हुन्छ ।’

चितवमा देखिएको सुकुमबासी समस्यालाई स्थायी समाधान गर्नका लागी अब बन्ने सरकारको पहिलो क्याबिनेटबाट लालपुर्जा वितरणको निर्णय गरिने उनको भनाइ थियो । भरतपुर महानगर–१९ स्थित देवीथानमा भएको कार्यक्रममा पनि प्रचण्डले सम्बोधन गरेका थिए । उनले देवीथानमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणका लागि स्थानीयले राखेको माग सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘चितवनमा रहेका थारु र बोटे जातिका संग्राहालय निर्माण गर्न म प्रतिबद्ध छु ।’ कम्युनिस्ट सरकार बनेसँगै देश राजनीतिक भुमरीबाट निस्कने दाबी गर्दै प्रचण्डले यसपटकको निर्वाचनमा बाम गठबन्धनलाई साथ दिन मतदाताहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *