दोस्रो संविधानसभा निर्वाचनमा शून्य मतदान भएको थबाङमा ३० प्रतिशत मत खस्यो

काठमाडौं, मंसिर ११ । दोस्रो संविधानसभा निर्वाचनमा शून्य मतदान भएको थबाङमा यसपटक करिब ३० प्रतिशत मत खसेको छ। थबाङ गाउँपालिकाको वडा १ र २ मा पर्ने साविकको थबाङ गाविसमा ८ सय २२ मत खसेको हो, जुन २९.६५ प्रतिशत हुन आउँछ।

स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले जितेको वडा १ मा यसपटक २ सय ७६ मत खसेको छ। त्यहाँ एक हजार दुई सय ६७ मतदाता थिए। स्थानीय तहमा माओवादी केन्द्रले जित हासिल गरेको वडा नम्बर २ मा पाँच सय ४६ मत खसेको छ। त्यहाँ एक हजार पाँच सय पाँच मतदाता थिए।

नेकपाले रातिदेखि नै बिहानसम्म विस्फोट गराएर मतदातालाई अवरोध गर्न खोजे पनि सुरक्षा गस्तीसहित मतदाता मतदान केन्द्रमा आएका थिए।

मतदाता फर्किंदै गर्दा दिउँसो पनि विस्फोट भएको जनाइएको छ। नेकपाले चुनाव खारेज गर्ने र माओवादी केन्द्रले चुनावमा मतदान गर्ने रणनीति अख्तियार गरेका थिए। जसले गर्दा थबाङी मतदाता चर्को दबाबमा थिए।

सुरक्षा दृष्टिकोणले उच्च संवेदनशील मानिएको रोल्पामा चुनाव अवधिभर दर्जनौं विस्फोटका घटना भएका थिए।

यो खबर आजको अन्नपुर्ण पोष्टले लेखेको छ,निर्वाचनको अघिल्लो रातिदेखि नै ठाउँठाउँमा विस्फोट गरिएको थियो। थबाङ, उवा, इरिबाङ, पेदीखोला, पाखापानी, जिनाबाङ, गैरीगाउँ, बुढागाउँ, ब्याङखोला लगायतका स्थानमा विस्फोट भएको सुरक्षा अधिकारीले जनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =