मतदान गर्न २/३ घन्टाको पैदल यात्रा गरी मतदान स्थल पुगे मतदाता

विष्णु जोशी, धनगढी । चिसोको समयमा आज बिहानै मतदाताहरु आफूले चाहेको र एक सफल देश हाक्न सक्ने व्यक्तिलाई मतदान गर्न २/३ घन्टाको पैदल यात्रा गरी मतदाता आफ्नो तोकिएको मतदान स्थल सम्म पुगेका छन् । निर्वाचनको पहिलो चरण अन्तरगत प्रदेश नं ७ का चार जिल्लामा मतदान सुरु भैसकेको छ । दार्चुला, बैतडी, बझाङ र बाजुरामा प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि बिहान ७ बजेदेखि मतदान सुरु भइसकेकाे हाे ।

चार जिल्लामा रहेका पाँच सय ७१ मतदान केन्द्रमा मतदान सुरु भएको सुदूरपश्चिम क्षेत्रीय उपप्रशासक शङ्कर विष्टले जानकारी दिए । ‘केही मतदान केन्द्रमा तयारी गर्दागर्दै अलि ढिलो मतदान सुरु भएको खबर प्राप्त भएको छ,’ विष्टले भने ‘अब सबैमा सुरु भइसकेको छ र सबै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान भई रहेको बताइएको छ ।’

उता दार्चुलाका एक सय २९ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि एकसाथ मतदान सुरु भएको दार्चुलाका निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए । मतदान गर्न उत्साहित भएका मतदाताहरु बिहानैदेखि चिसो खेपेर भए पनि मतदान गर्न लाइनमा उत्साह पूर्वक बसेका छन् । यस्तै, बैतडीमा एक सय ८२, बझाङमा एक सय ६० र बाजुरामा एक सय मतदान केन्द्रमा मतदान सुरु भएको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ ।

दार्चुला प्रतिनिधिसभाका लागि पाँच र प्रदेश सभाका लागि १० जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । जिल्लामा ७८ हजार पाँच सय १२ मतदाताले मतदान गर्दैछन् । यस्तै, बैतडीमा प्रतिनिधि सभाका लागि पाँच र प्रदेश सभाका लागि सात, बझाङमा प्रतिनिधि सभाका लागि ७ र प्रदेश सभाका लागि १०, बाजुरामा प्रतिनिधि सभाका लागि तीन र प्रदेश सभाका लागि आठ गरी जम्मा ५५ उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।

बैतडीमा एक लाख ३२ हजार तीसय १७, बझाङमा एक लाख चार हजार दुई सय ७५ र बाजुरामा ६९ हजार आठ सय ३४ गरी चारवटै जिल्लामा तीन लाख ८४ हजार नौ सय ३८ मतदाताले मतदान गर्ने सम्बन्धित निर्वाचन कार्यालयले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *