चौथो पटक मेसीको पोल्टामा गोल्डेन बुट

“
एजेन्सी । लिओनल मेसीले युरोपियन गोल्डेन बुट अवार्ड जितेका छन् । स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड मेसीलाई सन् २०१६/१७ सिजनमा गरेका गोलका आधारमा शुक्रबार गोल्डेन बुट अवार्ड दिइएको हो ।
उनले सिजन २०१६/१७ मा ३७ गोल गरेका थिए । मेसीले गोल्डेन बुट अवार्ड हात पारेको यो चौथो पटक हो । यसअघि उनले सन् २०१०, २०१२ र २०१३ मा पनि सो अवार्ड जितेका थिए । चार पटक अवार्ड जितेसँगै मेसीले अर्को स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको कीर्तिमानसँग पनि बराबरी गरेका छन् । रोनाल्डोले पनि चार पटक युरोपियन गोल्डेन बुट अवार्ड जितिसकेका छन् ।
रोनाल्डोले सन् २००८, २०११, २०१४ र २०१५ मा अवार्ड जितेका थिए । रोनाल्डोले गत सिजन २५ गोल गरेका थिए । उनी युरोपमा बढी गोल गर्ने खेलाडीमा शीर्ष पाँचमा परेका थिए ।
गत सिजन बढी गोल गर्ने खेलाडीको दोस्रो स्थानमा पोर्चुगिज क्लब स्पोर्टिङका डच फरवार्ड बास डोस्ट थिए । उनले गत सिजन ३४ गोल गरेका थिए । तेस्रो स्थानमा जर्मन क्लब बोरुसिया डर्टमुन्डका पियरी इमेरिक आउबामायेङ थिए । उनले ३१ गोल गरेका थिए । गत वर्षको अवार्ड बार्सिलोनाका उरुग्वेली फरवार्ड लुइस सुआरेजले जितेका थिए । सुआरेजले गत सिजन २९ गोल गरेका थिए । सुआरेज भन्दा अगाडि रहेका जर्मन क्लब बार्यन म्युनिखका रोबर्ट लेवान्डोवस्कीले ३० गोल गरेका थिए ।
“








