अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

“
एजेन्सी । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगानिस्तानको प्रहरी र सेनासहितको संयुक्त सैन्य समूहले शुक्रवार बिहान गरेको कारबाहीमा परि कम्तीमा १७ जना तालिवान लडाकूहरु मारिएका छन् । शुक्रवार बिहान कान्दाहार प्रान्तको सहर ए सफा जिल्लाको सीमा प्रहरी बल र सेनाले यो कारबाही गरेको जनाइएको छ ।
यस कारबाहीका क्रममा १२ जना तालिवान आतङ्ककारी घटनास्थलमा नै मारिनुका साथै अन्य छ घाइते भएकाे अफगानिस्तानको गृह मन्त्रालयले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ । कारबाहीको क्रममा प्रहरीले तालिवानको हात हतियार समेत कब्जा गरेको बताइएको छ । उनीहरू लुकेर बसेको आश्रयस्थलमा साे कारबाही भएको थियो ।
यस क्षेत्रमा सक्रिय रहेका तालिवान आतंककारी समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । तालिबानहरुले पछिल्लो समयमा कान्दाहार क्षेत्रमा आतङ्क मच्चाएको सूचनाको आधारमा यो कारबाही भएको समाचारमा जनाइएको छ । गत हप्तामात्र पनि तालिबानहरुले कान्दाहारको एक प्रहरी चौकीमा आक्रमण गरी कैयौँ सुरक्षाकर्मीको ज्यान लिएका थिए । सो क्षेत्रमा अहिले प्रहरीले गस्ती बढाएको जनाएको छ ।
“








