भावना नभएका र मानवीय संवेदना गुमाएको एमालेको गिदीमा कहिले बुद्धि पलाउँछ

“
मङ्सिर ७, माेरङ । आगामी मङ्सिर २१ गते हुने दोस्रो चरणको निर्वाचन नजिकिदै जाँदा मोरङ क्षेत्र नम्बर–३ मा एमालेका कार्यकर्ताहरूले अनेक हत्कण्डा मच्चाउन थालेपछि प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार डा. सुनिल शर्माले गतिलो झापड दिएका छन् ।
विराटनगर मेडिकल टिचिङ हस्पिटलले गाउँ गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको कार्यक्रमलाई रोक्न उनीहरूले बल नै प्रयोग गरेपछि डा. शर्माले मुख खोलेका हुन् । डा. शर्माले अस्पतालले स्वास्थ्य शिविरमार्फत् निः शुल्क स्वास्थ्य चेक जाँच गर्न पुगेका वृद्ध, अपाङ्ग र बालबालिका चढेको बसमाथि आक्रमण गरेर अरिङ्गालको गोलामा ढुङ्गा हानेको भन्नेहरू प्रति आक्रोश व्यक्त गरेका छन् ।
दुई दिन अघि (५ गते आइतबार) स्वास्थ्य शिविरमार्फत् अस्पताल पुगेका बिरामीहरुले निःशुल्क स्वास्थ्य चेकजाँच गरेर घर फर्कंदै गर्दा सुन्दरहरैँचा–१, पचाममा ढुङ्गा मुढा गर्दा सात जना बिरामी घाइते भएका थिए । ‘निजी तवरबाट अस्पतालले यति सेवा पुर्याउँछ भने राज्यले पहल गरे केही समयमै गरिब तथा निमुखा जनताले तड्पिएर अकालमै ज्यान गुमाउनु पर्दैन । तर, एमालेले न गरेको देख्छ न सिक्छ ।’ काँग्रेसले चुनाव जित्ने चाल पाएपछि एमालेले यस्तो अनैतिक क्रियाकलाप गरिरहेको बताउँदै उनले भने,‘ भावना नभएका र मानवीय संवेदना गुमाएको एमालेको गिदीमा कहिले बुद्धि पलाउँछ । ०२८ सालदेखि सर्वसाधारणको टाउँको काट्ने धङ्धङ्गी हटेको छैन, यो जुगमा आएर पनि । हुन त पार्टीको मुख्य नाइके केपी ओली नै निकम्मा छन् ।’
‘अस्पतालले गरिब तथा निमुखा जनताका लागि निः शुल्क स्वास्थ्य उपचार दिएर के पाप गर्यो ? सक्छ भने एमालेले पनि मनमोहन लगायत अस्पतालले निः शुल्क उपचार देअाेस् यो मेरो च्यालेन्ज भयो । तर, सक्दैन पैसाको सिरानीमाथि सुत्ने बानी परेकाहरुलाई समाज हैन आफू मात्र सुख सयलले बाचौँ भन्छ ।’ उनले फेरि भने,‘२१ गतेसम्मका लागि ‘पाहुना’ बनेर आएका एमालेका प्रमुख सचेतक भानुभक्त ढकाललाई बेलबारी कहाँ छ त्यो थाहा छैन । मोरङ–३ नम्बर क्षेत्रमा कति नगरपालिका र गाउँपालिका छन् भनेर राजकुमार ओझासँग सोधपुछ गरेर डायरीमा टिप्दै हिँडेका छन् । अनि यहाँका जनताले कहिले विकासको मुहार देख्ने । यहाँकै दुःख बुझ्नेले कि बाहिरको टुरिष्टले ?’
आफूसहितको सबै उम्मेद्वारलाई यहाँको कुना काप्चा र यहाँको समस्या बुझेको उनले बताए । ‘हामीलाई यो क्षेत्रको घर–घरको गल्ली थाहा छ । तर, एमालेले कुनै उम्मेदवार नपाएपछि तेह्रथुमबाट भानुभक्त ढकाललाई काखी च्याप्यो । उनी घुम्न जानुपर्ने पोखरा वा चितवन थियो तर यहाँ आए । यसकारण टुरिष्ट बनेर उनले ठुलो भुल गरेका छन् । बरु यहाँका चन्द्रबहादुर गुरुङ, डिबी राईलाई दिएको भए कति जाती हुन्थ्यो । यहाँको जनताले पनि स्वीकार्थे ।’
आफूलाई भानुभक्तसँग चुनाव लड्दा मज्जा नआएको समेत उनले बताए । ‘ भानुभक्त ढकालसँग चुनाव लड्न मज्जा नै आएको छैन । कमसेकम चिनेकै मान्छे भए पनि चुनाव लडन मज्जा आउँथ्यो तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरमा कालो चस्मा लगाएर ‘टुरिष्ट’ उम्मेदवार बनेर आउनु भएको उनलाई यहाँका स्थानीय कसैले देखेका छैनन् । अनि कसरी उनीसँग मैले चुनाव लडेको देखियो त !’ फेरि उनले थपे,‘मलाई त भानुभक्त ढकालदेखि माया लागेर आएको छ, २१ गते पछि कति मत लिएर तेह्रथुम जान्छन् । मलाई त साह्रै माया लागेर आइरहेको छ ।’
“








