सीमामा संयुक्त गस्ती
“
मंसिर ७, बाँके । निर्वाचन सुरक्षालाई ध्यान दिएर बाँकेको सीमा क्षेत्रमा नेपाल र भारतका प्रहरीले संयुक्त गस्ती सुरु गरेका छन् । सीमापारिबाट हुनसक्ने आवञ्छित गतिविधिलाई नियन्त्रण गर्न भारतीय सुरक्षा निकाय सशस्त्र सीमा बल एसएसबी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले बाँकेको सीमामा संयुक्त गस्ती गरेका हुन् ।
बुधबार देखि सुरु गरिएको संयुक्त गस्तीलाई निरन्तरता दिईने प्रहरीले जनाएको छ । पहिलो चरणमा सीमास्तम्भ नम्बर २६/१ देखि २७/१५ सम्म गस्ती गरिएको छ । शान्ति सुव्यवस्थाका साथै कुनै पनि अप्रिय घटना नदिन बाँके प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउन जिल्लास्थित सुरक्षा निकायले भारतीय सुरक्षा निकायसँग सहकार्य गरी सतर्कता अपनाउन थालेको हो । सीमामा हुने विभिन्न आपराधिक गतिविधि र चुनावमा नकारात्मक असर पार्न सक्ने उच्छृंखल तत्वमाथि निगरानी बढाउन संयुक्त गस्ती गरिएको हो ।
सशस्त्र प्रहरी बल बीओपी कालाबञ्जरका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक गंगाराम भट्ट, इलाका प्रहरी कार्यालय हिरमिनियाका इञ्चार्ज प्रहरी नायब निरीक्षक प्रशाराम केसी र भारतस्थित मुन्सीपूर्वा एसएसबी क्याम्पका इञ्चार्ज अरबिन्द कुमारको नेतृत्वमा सात/सात जना गरी २१ जनाको टोलीले संयुक्त गस्ती गरेको हिरमिनियाका प्रहरी नायब निरीक्षक केसीले बताए ।
“