निर्वाचनको मुखैमा गम्भिर सुरक्षा चुनौती ?
“
पहिलो चरणको निर्वाचन मुखैमा आएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिंदै जाँदा निर्वाचन विरोधी गतिविधि पनि निकै बढेर गएका छन् । पछिल्ला दिनहरुमा उम्मेदवारलाई लक्षित गरि बम विष्फोट गराउने कार्यले तिब्रता पाएको छ । गत कार्तिक २४ गतेदेखि सुरु भएको हिंसात्मक क्रियाकलाप अहिले सम्म पनि जारी छ । बम विष्फोट र हिंसात्मक गतिविधिका कारण कैयौं निर्दाेष ब्यक्तिहरु घाईते भएका छन् ।
गत साता नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य उमेदवार रामशरण महत चढेको गाडीलाई लक्षित गर्दै माइन बिस्फोट गराइयो । महत चढेको गाडी छलिएका कारण उनका कार्यकर्ता चढेको गाडी माइनमा प¥यो । गाडी उत्तानो गरी पल्टियो, ५ जना कार्यकर्ता घाइते भए । सोहीदिन पूर्व सभामुख ओनसरी घर्तीलाई लक्षित गर्दै रोल्पामा अर्काे बम विस्फोट गराइयो । कांग्रेसका नेता रामचन्द्र पौडेलको गाडीमा बम विस्फोट गराइयो । रौतहटमा गराइएको बम विस्फोटमा ७ वर्षका बालक घाइते भए । भोजपुरमा नेकपा एमालेका नेता शेरधन राई चढेको गाडीमा बम विस्फोट गराइयो । हिमाल, पहाड, तराई, पूर्वदेखि पश्चिमसम्म अहिले उमेदवारलाई लक्षित गर्दै लगातार बम विस्फोट भएको छ ।
चुनावको मुखैमा उमेदवार लक्षित लगातार विस्फोट गराउने समूह भन्दै प्रहरीले झण्डै तीन सयजनालाई नियन्त्रणमा लिएको छ । तीमध्ये धेरैजसो विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता रहेका छन् । केही दिन यता प्रहरीले विप्लव नेतृत्वको नेकपाका माथिल्लो स्तरका कार्यकर्तालाई निण्न्त्रणमा लिन थालेको छ । चितवन, नवलपरासी र बैतडीमा नेकपाका जिल्ला ईन्चार्जहरु पक्राउ परेका छन् । प्रहरीले अहिलेसम्म यसरी विस्फोट गराउने समूह विप्लव नेतृत्वको नेकपा माओवादी नै भएको आशंका गरेको छ । त्यसैले विप्लव नेतृत्वका नेता तथा कार्यकर्तालाई निगरानीमा राखेको प्रहरीले जनाएको छ । तर हिंसात्मक गतिविधि रोकिएका छैनन् ।
अब निर्वाचन आउन चार दिन मात्र बाँकी रहँदा सरकारले कसरी उम्मेदवार र मतदाताहरुको जीउधनको रक्षा गर्न सक्छ भन्ने गम्भिर प्रश्न उब्जिएको छ । बढ्दो सुरक्षा चुनौतीसँगै निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुनेमा समेत आशंका उब्जिन थालेको छ । |
उम्मेदवारमाथि लगातार प्रहार हुन थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन विरोधि गतिविधिमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता, कार्यकर्तालाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवाले निर्वाचनमा उच्च सुरक्षा सतर्कता अपनाउन पनि सचेत गराएका छन् । निर्वाचनको मुखमा सुरक्षा चुनौति बढेपछि प्रधानमन्त्री देउवाले सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । प्रधानमन्त्रीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेको जनाइएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग प्रधानमन्त्रीले मुलुकको सुरक्षा अवस्थावारे प्रधानमन्त्रीले छलफल थालेका हुन् ।लगातार उमेदवारलाई नै लक्षित गरेपछि गृह मन्त्रालयले पनि सुरक्षा निकायलाई यसरी विस्फोट गराउने, जनताको जिउधनको क्षति पुर्याउने क्रियाकलाप गर्दै गरेको भेटिएमा गोली चलाउनसमेत आदेश दिएको छ । प्रहरीले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नै यस्ता क्रियाकलाप गर्दै आएको जनाएको छ । सोमबार मात्रै प्रहरीले चितवनबाट नेकपाका जिल्ला ईन्चार्जलाई पक्राउ गरेको छ, यस्तै झापा लगायत अन्य केही स्थानबाट पनि विप्लवका कार्यकर्ता पक्राउ परेका छन् ।
अब निर्वाचन आउन चार दिन मात्र बाँकी रहँदा सरकारले कसरी उम्मेदवार र मतदाताहरुको जीउधनको रक्षा गर्न सक्छ भन्ने गम्भिर प्रश्न उब्जिएको छ । बढ्दो सुरक्षा चुनौतीसँगै निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुनेमा समेत आशंका उब्जिन थालेको छ । यस्तो आशंका र त्रासकाबीच मतदाताहरु ढुक्क भएर मत हाल्न कसरी जालान्, यसतर्फ गृहमन्त्रालय समेत सम्हालेका प्रधानमन्त्रीको विशेष ध्यान जान जरुरी छ ।
“