शिर्ष नेताहरु प्रचण्ड निवासमा, प्रधानमन्त्रीले दिए प्रकाशलाई श्रद्धाञ्जली

“
मंसिर ४, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लाजिम्पाटस्थित निवासमा पुगेर हिजो निधन भएका प्रचण्डपुत्र प्रकाश दाहाललाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । देउवा सोमबार बिहान लाजिम्पाट पुगेर प्रकाशको तस्बिरमा पुष्पगुच्छा अर्पण गरेका हुन् ।
सोमबार बिहान नै राष्ट्रपति विद्यादेवी भण्डारी पनि श्रद्धाञ्जलीका लागि प्रचण्ड निवास पुगेकी थिइन् । त्यसैगरी एमाले नेता माधवकुमार नेपाल पनि बिहानै प्रचण्ड निवास पुगेका थिए । प्रचण्ड निवासमा एमाले अध्यक्ष केपी ओली पनि पत्नीसहित पुगेका छन् ।
शुभेच्छुकहरुसँग कुराकानी गर्दै प्रचण्डले धैर्य गर्नुपर्छ भन्ने बुझेर नै आफू सम्हालिएको बताए । आफू अझै पनि नर्मल हुन नसकेको उनले बताए ।
श्रद्धाञ्जी र दाहसंस्कारमा सहभागीहरुलाई उनले परिवार र पार्टीको तर्फबाट धन्यवाद पनि दिए । आफूले धेरै कुरा देखे भोगेको भएर केही सजिलो भएको तर परिवारलाई सम्हाल्न गाह्रो भएको उनले सुनाए ।
“








