पहिलो चरणको निर्वाचनमा जुम्ला अतिसंवेदनशील

“
मङ्सिर २, जुम्ला । आसन्न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि जुम्लालाई गृह मन्त्रालयले अतिसंवेदनशिल क्षेत्रमा राखेको छ । जुम्लाका ४१ मतदान स्थललाई अति संवेदनशील स्थलको रूपमा राखिएको छ । सुरक्षा संवेदनशीलताका आधारमा ७६ ओटा मतदान स्थल मध्ये ४१ ओटालाई अतिसंवेदनशील स्थलका रूपमा राखिएको हो ।
सुरक्षा चुनौतीको विश्लेषणका आधारमा जिल्ला सुरक्षा समितिले जिल्लाका मतदान केन्द्रको बर्गिकरण गरेको सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विष्णु पौड्यालले बताए । ११ ओटा मतदान केन्द्रलाई सामान्य र १४ ओटा मतदान केन्द्रलाई संवेदनशील मतदान स्थलको रूपमा वर्गीकरण गरिएको छ । जिल्लामा ७६ मतदान स्थल अन्तर्गत ९० ओटा मतदान केन्द्र तोकिएको छ ।
‘सुरक्षा थ्रेट र प्रहरीलाई प्राप्त विभिन्न सूचनाको आधारमा हामीले ती मतदान स्थललाई अतिसंवेदनशील स्थलको रूपमा राखेका छौ ।’ सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढा थापाले बताए । स्थानीय प्रशासनले जुम्लामा खास गरी नेत्रविक्रम चन्द विप्लबको नेपाल कम्युनिस्ट पार्टीबाट सुरक्षा चुनौती महसुस गरेको छ ।
सुरक्षा निकायले मतदान स्थललाई देशभर सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा विभाजन गरेर सोही अनुसार सुरक्षाकर्मी परिचालन गर्ने गरेको छ । अतिसंवेदनशील मतदान स्थलमा सुरक्षाकर्मी पनि अन्यको तुलनामा बढी नै परिचालन गर्ने व्यवस्था गरिएको छ । तीन घेरामा सुरक्षाकर्मी परिचालन गरिनेछ । पहिलो घेरामा म्यादी प्रहरी त्यसपछि नेपाल प्रहरी र त्यसपछि बाहिरी घेरामा सशस्त्र प्रहरी परिचालन गरिनेछ । नेपाली सेनाले अतिसंवेदनशील स्थलमा गस्ती व्यवस्था मिलाईएको प्रशासनले जनाएको छ ।
“








