गाँजीपुर पुगेर प्रचण्डले भने, ‘मदन भण्डारीको सपना साकार हुन्छ’

कार्तिक २८, भरतपुर । चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन भण्डारीको सपना साकार हुने दिन आएको बताएका छन् ।

घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा मदन स्मृति पार्क गाँजीपुरमा पुगेका प्रचण्डले मदन भण्डारीको सपना बाम गठबन्धनको बहुमतको सरकारले नै साकार पार्ने बताए । मदन स्मृति पार्कमा पुगेर जननेता मदन भन्डारीको स्मरण गर्दै अध्यक्ष प्रचन्डले अब भण्डारीको सपना साकार हुने दिन नजिक आइरहेको बताए । गाँजीपुर मदन भण्डारीको शव प्राप्त भएको ठाउँ हो । त्यहाँ मदन स्मृति पार्क निर्माण भएको छ ।

उनले अबको ५ वर्षमा चितवन विकास र सभ्यताको दृष्टिकोणले देशकै नमुना जिल्ला बनाइ छाड्ने बताए । उनले भने, ‘विगतमा धेरै उम्मेदवारहरूले चितवनबाट चुनाव लडेर जिते पनि जनताको आशा पुरा हुन सकेनन् । म विगतमा अरूले नगरेका काम योजनाबद्ध ढङ्गले पूरा गर्न चितवन नै आएको हुँ ।’

प्रचण्डले राजनीतिक लडाइँ पूरा भएको भन्दै अबको बाटो तीव्र विकाससँगै संवृद्धिमार्फत नेपाली जनताको मुहार फेर्ने बताए । आफू प्रधानमन्त्री हुँदा चितवनलाई रणनैतिक महत्वका योजनाहरू पारेको बताउँदै उनले भने, ‘नारायणी र राप्ती नदीमा तटबन्ध गरी त्यसैको छेउबाट भरतपुरमा महानगरस्तरीय रिङरोड र लिङ्क रोड निर्माणको चरणमा रहेको र २ अर्ब भन्दा बढी बजेट चितवनमा पारेको छु ।’

शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र औद्योगिक विकासमार्फत रोजगारी सृजना गरी सम्पूर्ण शक्ति राष्ट्र निर्माणमा केन्द्रित गर्ने आफ्नो योजना रहेको उनले बताए । यसका लागि ५ वर्षको स्थिर सरकार अनिवार्य भएको बताउँदै उनले भने, ‘म चितवन आएको खास कारण समृद्ध चितवन बनाउनै हो ।’

त्यस्तै, दाहालले हरैयामा पनि घरदैलो अभियान गरेका छन् । हरैया पुगेका दाहालले बाम गठबन्धनको मुख्य उद्देश्य देशको तीव्र आर्थिक विकास र सुशासनमार्फत तीव्र आर्थिक विकास गर्दै सम्वृद्धि हासिल गर्ने भएको बताए । हरैयामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै दाहालले चितवनको विकास र राष्ट्रको नेतृत्व गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।

उनले सोझासाझा जनतालाई पैसाको प्रलोभनमा पार्ने, जनतालाई रैती ठान्ने, भोक, रोग र गरिबीमाथि राजनीति गर्दै जनता झुक्याउने विरुद्ध लाग्नेहरूको विरुद्ध खबरदारी गर्न जनसमुदायलाई अपिल गरेका थिए । अध्यक्ष प्रचन्डले केही उम्मेदवारहरू जनतालाई भ्रमित पार्ने खेलमा लागेको आफूले जानकारी पाएको भन्दै तिनीहरूका विरुद्धमा गठबन्धनका कार्यकर्ता तथा जनसमुदायलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 9 =