बलिउड र हलिउड फिल्म रिलिज नहुँदा: एकसाथ ४ नेपाली फिल्म पर्दामा

“
कार्तिक २३, काठमाडौँ । आज एकसाथ चार अाेटा नेपाली फिल्म सार्वजनिक भएकाे छ । आज सकस, रोमियो, तान्द्रो र मेला प्रदर्शनमा आएका हाे । बलिउड र हलिउडतर्फ भने नेपालकाे लागि यो साता नयाँ फिल्म रिलिज भएका छैनन् ।
माओवादी लडाकु गङ्गा बहादुर लामाको संस्मरात्मक किताब ‘स्मृतिका डोबहरु’को कथामाथि बनेको फिल्म हो ‘तान्द्रो’ । दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्मले अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा भने यसअघि नै सहभागिता जनाइसकेको छ । साम्तेन भुटिया निर्देशित फिल्ममा अन्य कलाकारहरूमा रामबाबु गुरुङ, बुद्धि तामाङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल, मणीराम पोखरेल लगायतकाे अभिनय रहेको छ । तान्द्रोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । भने, शतिस कुमार गौतम, ब्ल्याक हर्ष पिक्चर र सिनेमा आर्टसको संयुक्त लगानीमा निर्माण भएको फिल्ममा उपेन्द्र सुब्बाको पटकथा र रामबाबु गुरुङको संवाद रहेकाे छ ।
त्यस्तै, फिल्म ‘रोमियो’लाई पहिलो मुस्लिम अभिनेता भनिएका हसनको खानले निर्माण गरेका हुन् । फिल्ममा पहिलो मुस्लिम अभिनेत्री ओसिमा बानुले डेब्यु गर्दै छिन् । फिल्ममा निशा अधिकारी, मेलिना मानन्धर, भानु प्रताप, विकास खतिवडा, बिपेन गुरुङ लगायत कलाकारको मुख्य अभिनय रहेको छ । रोमियोलाई शङ्कर कार्कीले निर्देशन गरेका छन् ।
प्रेम कथामा आधारित फिल्म हो ‘मेला’ । फिल्मलाई वसन्त निरौलाले निर्देशन गरेका छन् । फिल्ममा सलोन बस्नेत, आमेश भण्डारी, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ । हरि पन्तले निर्माण गरेको फिल्म इन्डिया रिलिजको लागि पनि बिक्री भैसकेको छ ।
द्वन्द्व निर्देशक एनबी महर्जनको निर्देशन रहेको ‘सकस’ले काठमाडौँमा हुने गुण्डागिरीको कथा भन्ने जनाइएको छ । मौनता श्रेष्ठको कथा लेखन रहेको फिल्ममा विल्सन विक्रम राई, सुन्दर श्रेष्ठ, महिमा सिलवाल, सुष्मा कार्की, रविन्द्र खड्का, श्याम राई लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
तान्द्रो, रोमियो र मेलाले सिंगल स्क्रिन साथै मल्टिप्लेक्समा सो पाएका छन् भने सकस सिंगल स्क्रिनमा रिलिज भएकाे छ ।
“








