चितवन–१ : सुरेन्द्र भर्सेज राजेन्द्र

“
कार्तिक २२, भरतपुर । बाम गठबन्धनले चितवन क्षेत्र नम्बर–१ लाई आफ्नो आधार इलाका भन्दै आएको छ । लोकतान्त्रिक गठबन्धनले क्षेत्र–१ कसैको आधार इलाका नभएको र विपक्षीले मानेको आधार इलाका यस पटक भत्कने दाबी गरेको छ ।
चितवन क्षेत्र नम्बर–१ मा बाम गठबन्धनबाट पूर्वअर्थमन्त्री सुरेन्द पाण्डे उम्मेदवार भएका छन् । सुरेन्द्रको विरुद्ध लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका प्रभावशाली नेता राजेन्द्र बुर्लाकोटी चुनावी मैदानमा छन् । सुरेन्द्र पाण्डे नेकपा एमालेका स्थायी समिति सदस्यसमेत हुन् । उनी माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा १८ महिना अर्थमन्त्री भएका थिए ।
नेपाली काँग्रेसका राजेन्द्र बुर्लाकोटी नेपाली काँग्रेसका महासमिति सदस्य हुन् । संविधान सभाको दोस्रो चुनाव २०७० मा चितवन क्षेत्र नम्बर १ मा सुरेन्द्र पाण्डे र राजेन्द्र बुर्लाकोटी नै चुनावी मैदानमा थिए । त्यति बेला सुरेन्द्र पाण्डेसँग राजेन्द्र बुर्लाकाटी ३ हजार ४९ मतले पराजित भएका थिए । यस पटक फेरि चितवन क्षेत्र नम्बर १ मा बामले सुरेन्द्रलाई र लोकतान्त्रिकले राजेन्द्रलाई नै चुनावी मैदानमा उतारेका छन् । यस पटक क्षेत्र नम्बर १ मा रत्ननगर नगरपालिका पनि गाभिएको छ ।
स्थानीय तहको चुनावलाई हेर्ने हो भने चितवन क्षेत्र नम्बर १ मा परेका तीन वटा नगरपालिकामा (रत्ननगर, खैरहनी, राप्ती) नेकपा एमालेले जितेको ठाउँ हो । त्यसैले पनि एमालेले यस क्षेत्रलाई आफ्नो आधार इलाका भन्दै आएको छ ।
‘चितवन क्षेत्र नम्बर–१ कसैको गढ होइन, कसैको पेवा होइन । यदि कसैले यसलाई आफ्नो गढ मान्छ भने यस पटक भत्कन्छ’ चितवन क्षेत्र नम्बर–१ का उम्मेदवार राजेन्द्र बुर्लाकोटीले भने । उनी यति बेला चितवन क्षेत्र नम्बर–१ को घरदैलो कार्यक्रममा व्यस्त छन् । बुर्लाकोटी यस पटक एमालेको आधार इलाका तोड्ने दाउमा छन् ।
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे क्षेत्र एकलाई यस पटक पनि बाममय बनाउने बताउँछन् । उनी पनि घरदैलो तथा चुनावी सभाहरुमा तीव्र रूपमा लागेका छन् । उनले भने, ‘म अर्थमन्त्री हुँदा मेरो क्षेत्र नम्बर–१ मा दुई अर्बभन्दा बढीको विकास बजेट पारेको छु । भित्रभित्रका बाटो कालोपत्रे गरेको छु । विकास गर्ने नेतालाई जनताले जिताउँछन् कि, अरूलाई ? अवश्य विकास गर्ने सुरेन्द्र पाण्डेलाई नै चितवन १ का जनताले जिताउँछन् ।’
यस पटक पनि चितवन क्षेत्र नम्बर–१ मा सुरेन्द्र भर्सेज राजेन्द्र हुने भएको छ । राजेन्द्र बुर्लाकोटी २०३७ सालदेखि नेपाली काँग्रेसमा निरञ्न्तर लागेका नेता हुन् । उनी सामाजिक अभियान्ता पनि हुन् । उनी सो क्षेत्रमा चर्चित व्यवसायीको रूपमा पनि चिनिन्छन् । पटकपटक जेलजीवन भोगेका राजेन्द्र बुर्लाकोटी पञ्चायतविरुद्धको आन्दोलनदेखि जनआन्दोलनसम्म सशक्त रूपमा काँग्रेसमा लागेका नेता हुन् । विभिन्न सामाजिक संस्थामा आबद्ध भएका बुर्लाकोटी २०५१ देखि नेपाली काँग्रेसको महासमिति सदस्यमा रहेका छन् ।
सुरेन्द्र पाण्डे झापा आन्दोलनदेखि जनआन्दोलनसम्म निरञ्न्तर एमालेमा लागेका विकासप्रेमी नेता हुन् । लामो समयदेखि एमालेको स्थायी समिति सदस्यमा रहेका सुरेन्द्र पाण्डे अर्थमन्त्रीसमेत भएका थिए । २०३० सालदेखि नै उनी वामपन्थीका विभिन्न धारमा आबद्ध हुँदै आएका सुरेन्द्र पाण्डे क्रियाशील र जुझारु नेता गनिन्छन् ।
उनी अर्थमन्त्री हुँदा चितवन जिल्लामा धेरै विकासका योजनाहरुमा बजेट पारेका थिए । उनी अर्थमन्त्री हुँदा माओवादीको विरोधका कारण अध्यादेशबाट बजेट ल्याइएको थियो । अहिले माओवादी र एमाले एकै ठाउँमा छन् । त्यति बेला उनले आफ्नो क्षेत्रको प्रायः सबै भित्री सडकमा कालोपत्रे गर्न बजेट पारेका थिए । उनी अब बन्ने बाम गठबन्धनको बहुमतको सरकारमा पनि अर्थमन्त्री बन्ने र चितवन क्षेत्र नम्बर–१ लाई विकासले कायापलट पार्ने बताउँछन् ।
सुरेन्द्र र राजेन्द्र दुवै नेताले चितवन क्षेत्र नम्बर १ मा जित्ने दाबी गरेका छन् । ‘म पराजित हुँदा पनि जनताको साथमा रहेको छु । ६ महिनामा भत्कने कालोपत्रे बनाउनेलाई यस पटक विश्वास गर्दैनन् । यस पटक म ५० हजार मत ल्याएर विजयी हुन्छु’ लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले भने । उनले आफ्नो पक्षमा जनलहर आएको बताए ।
सुरेन्द्र पाण्डे पनि विकासको आधारमा जनताले आफूले जिताउने बताउँछन् । उनले भने, ‘चितवन–१ मा कसले काम गरेको छ, त्यो जनताले देखेका छन् र जनताले कसलाई जिताउँछन् २१ गतेको चुनावपछि आउने परिणामले देखाइदिने छ ।’ उनी क्षेत्र नम्बर १ को कुल मतदाताको दुई तिहाइभन्दा बढी मत आफूलाई आउने दाबी गर्छन् ।
चितवन क्षेत्र नम्बर १ मा ३ स्थानीय तहहरु समेटिएको छ । यसमा पहिलोको निर्वाचन क्षेत्र नं २ का अधिकांश भूभाग समेत पर्छन् । गएको स्थानीय तहको निर्वाचनमा यी ३ वटै स्थानीय तहमा एमालेले बहुमत सदस्यसहित मेयर र उपमेयर जितेको छ । यस आधारले पनि यो क्षेत्रलाई एमालेका आधार इलाका भनिएको छ । तर त्यस्ता आधार इलाका यस पटक सजिलै भत्काइने काँग्रेसका जिल्ला सचिव उत्तम जोशीले दाबी गरे ।
स्थानीय तहको निर्वाचनमा दलका वडा अध्यक्षहरुले पाएको मतलाई विश्लेषण गर्दा बाम गठबन्धन नै बलियो देखिन्छ । तर त्यसलाई मात्र हेरेर नहुने र यस पटक आफूले नै जित्ने दाबी गर्छन् बुर्लाकोटी ।
स्थानीय निर्वाचनको मत परिणामलाई हेर्दा चितवन क्षेत्र नम्बर १ मा बाम गठबन्धनको मत ४४ हजार ६७४ छ । लोकतान्त्रिक गठबन्धनको कुल ३२ हजार ११० मत छ । लोकतान्त्रिक गठबन्धनभन्दा वामगठबन्धनको मत धेरै देखिएको छ । क्षेत्र नं १ मा एक लाख १९ हजार ९९८ मतदाताले मताधिकार प्रयोग गर्ने छन् ।
“








