पूर्वराष्ट्रपतिज्यू आफ्नै घर बसे हुन्न ?
“
पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई डेराको समस्या परेको खबर यो हप्ता निकै चर्चामा रह्यो । सोमबार पूर्वराष्ट्रपति यादवलाई १५ दिनभित्र घर छाड्न घरधनीले आग्रह गरेको सूचना तथा समाचारहरु विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका छन् । भाडाको घरमा बस्दै आएका पूर्वराष्ट्रपति यादवलाई घरधनीले सार्वजनिक सूचना नै प्रकाशित गरि १५ दिनभित्र घर खाली गरिदिन आग्रह गरे । घरधनीले घरको भाडा नपाएको र सम्झौतासमेत नवीकरण नगरेको भन्दै राष्ट्रपति कार्यालय शीलतनिवास र पूर्व राष्ट्रपतिको सचिवालयलाई घर खाली गर्न आग्रह गरेका रहेछन्। १५ दिनभित्र आफ्नो घर नछाडे कानुन बमोजिम अघि बढ्ने चेतावनीसमेत घरधनीले पूर्वराष्ट्रपतिलाई दिएका छन् ।
डा. रामबरण यादव राष्ट्रपतिको आफ्नो कार्यकाल सकिएपछि ललितपुर महानगरपालिका–४ बागडोलमा बस्दै आएका छन् । उनी त्यहाँ २०७२ साल कात्तिक २ गतेदेखि बस्दै आएका हुन् । घरको सम्झौता गएको साउन १ गते नै सकिए पनि सरकारले नवीकरण र भाडा चुक्ता नगरेको घरधनीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । यसअघि पनि आफ्नो घर खाली गरिदिन लिखित तथा मौखिक आग्रह गर्दै आए पनि सुनुवाई नभएपछि सार्वजनिक सूचना नै जारी गर्नुपरेको पनि सूचनामा उल्लेख गरिएको छ ।
केही समय अघिमात्र सरकारले पूर्व पदाधिकारीहरुले विलाशी सुविधा पाउने व्यवस्था गरेको छ । सरकारले गरेको व्यवस्थामा पूर्व राष्ट्रपतिलाई मासिक दुई लाख रुपैयाँ घरभाडा, ५० हजार रुपैयाँ वृत्ति र सचिवालयको सुविधा दिने व्यवस्था छ । पूर्व राष्ट्रपतिले उपसचिव स्तरको स्वकिय सचिव, कार्यालय सहयोगी र सवारी चालक गरी तीन जना कर्मचारीको सुविधा आजिवन पाउँछन ।
यस्तै, संवैधानिक भूमिकाबाट अवकास पाएका र पाउने पूर्व उपराष्ट्रपतिलाई स्वकिय सचिवालयको अतिरिक्त मासिक ४० हजार रुपैयाँ मासिक वृत्ति र ७५ हजार रुपैयाँ घरभाडा तोकिएको छ । कार्यकारी भूमिकाबाट विदा भएका र हुने पूर्वप्रधानमन्त्री, प्रधानन्याधीश र सभामुखलाई भने मासिक ७५ हजार रुपैयाँ घरभाडा र सचिवालय सुविधा तोकिएको छ । पूर्व पदाधिकारीले शाखा अधिकृत स्तरको एक कर्मचारी पाउने व्यवस्था छ । यसका अतिरिक्त उनीहरु सबैले राज्यकोषबाटै खर्च व्यहोर्नेगरी सवारी साधन, चालक र इन्धन र सवारी चालकको सुविधा समेत आजीवन पाउने व्यवस्था छ । इन्धन पनि पूर्व राष्ट्रपतिलाई मन्त्रिसरह र अन्य पदाधिकारीले राज्यमन्त्री सरह उपलब्ध गराउन खोजिएको छ ।
यद्यपी देशको सर्वाेच्च पदमा पुगेका प्रथम राष्ट्रपतिको राज्यले यसरी अपमान त गर्न हुँदैन । तर, डा. रामवरण यादवको राजधानी बाहिर धनुषामा आफ्नो पुख्र्यौली सम्पत्ति छ भने राजधानीमै घर छ । । ललितपुरको भैंसेपाटी नजिकै डा. यादवको आफ्नै घर छ । तर, आफ्नो निजी निवासमा नबसेर उनी सरकारले आजीवन भाडा तिरिदिने आवास गृहमा बस्दै आएका छन् ।
सरकारले पूर्वराष्ट्रपति लगायत राज्यको महत्वपुर्ण स्थानमा पुगेका पूर्व पदाधिकारीहरुलाई विलाशी सुविधा उपलब्ध गराएको छ । तर, जनताको पसिनाबाट संकलित त्यस्तो सुविधा लिनै पर्ने अनौठो लालसा उनीहरुमा छ । राजधानी वा राजधानी बाहिर आफ्नै घर नभएकाहरुको हकमा राज्यले भाडामा घरको ब्यवस्था मिलाईदिनु स्वभाविकै हो । तर, जो सँग अकुत सम्पत्ति छ, आफ्नै घर छ, पुस्तौंलाई पुग्ने सम्पत्ति छ, उनीहरुका लागि समेत राज्यले व्ययभार थप्न खोज्नु लाजमर्दाे हो ।
प्रथम राष्ट्रपतिले राज्यलाई कम व्यवभार हुने गरी आफ्नै आवासमा सामान्यरुपमा बस्ने इच्छा जनाएको भए यसले अन्य नेताहरुलाई पनि राम्रो सन्देश दिने थियो । तर, यादवले सरकारी सुविधाको भाडाकै घर रोजे । सरकार र संसदले पनि सोही अनुसारका व्यवस्थाहरु गरेको छ । नेपाली जनताले एउटै पूर्व राष्ट्रपति र केही पूर्व पदाधिकारी मात्र पाल्नुपर्ने होईन, अबको केही दिन पछि नै बर्तमान राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका पदाधिकारीहरु ‘पुर्व’ हुँदैछन् । राज्यबाट उत्पादन हुने असंख्य पूर्वहरुलाई राज्यले पाल्नुपर्ने बाध्यता छ । गरीव देशले धेरै नेताहरु पाल्नुपर्ने नेपाल र नेपालीको बिडम्बना नै हो । प्रथम राष्ट्रपतिले आफ्नै घरमा बसेर राज्यको अनावश्यक सुविधा उपयोग नगरी उदाहरण देखाउन सके उनको त सम्मान बढ्ने नै थियो, अरुका लागि समेत प्रेरणा मिल्ने थियो ।
“