पोखरामा सुविधा सम्पन्न मिडिया सेन्टर र क्षेत्रीय भलिबल प्रशिक्षण केन्द्रकाे शुभारम्भ

“
एन एच पौडेल, पोखरा । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले पोखरामा सुविधासम्पन्न मिडिया सेन्टर र पश्चिमाञ्चल क्षेत्रीय भलिबल प्रशिक्षण केन्द्रको शुभारम्भ गरेका छन् ।
मिडिया सेन्टरको औपचारिक शुभारम्भ गदै सदस्य सचिव विष्टले सागको पूर्व तयारीको लागि पोखरामा इण्डोर हल निर्माण गर्ने बताए । इण्डोर हल निर्माण गर्नको लागि राष्ट्रिय खेलकुद परिषदले बजेटको आन्तरिक तयारी गर्दै टेण्डर प्रक्रियामा जुटेको बताउँदै विष्टले इण्डोर हल निर्माण भएपछि मार्शल आर्टदेखि भलिबल र ह्याण्डबलको प्रशिक्षण पोखरामै सञ्चालन हुने बताए ।
सदस्य सचिव विष्टले ११ करोडको लागतमा डोम निर्माण गर्न टेण्डर प्रक्रिया थालेको बताउँदै डोम निर्माणपछि डोमहलमानै प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्न सहज हुने बताए ।
सचिव विष्टले परिषदले खेलकुदको पूर्वाधार विकासमा ध्यान दिइरहेको उल्लेख गर्दै सागको लागि पोखरामा एक अर्ब रुपैयाँको प्यारापिटसहितको भौतिक पूर्वाधार निर्माण गरिने बताए । ‘पूर्वाधार निर्माणको लागि ग्लोबल टेण्डर भइसकेको छ’ उनले भने । ‘टेण्डर प्रक्रिया अगाडि बढ्दै गर्दा भौतिक पूर्वाधार तयार पारिसक्ने छौँ ।’
सदस्य सचिव विष्टले पोखराका दुईवटा अनलाइनले आफ्नो व्यक्तिगत चरित्र हत्या हुने गरी समाचार प्रकाशन गरेको गुनासो गरे । तर, उनले ती अनलाइनहरुको नाम भने बताएनन् । उनले अनलाइनहरुले केही खेलाडीहरु सम्पर्क विहीन भएको र श्रीमती लिएर घुम्न हिंडेको भनी समाचार प्रकाशन गरेको उल्लेख गरे । उनले आफूलाई पाँचतारे होटेलमा खाने र बस्ने सुविधा भए पनि उक्त सुविधा उपभोग नगरी खेलाडीहरुसँगै बसेको जिकिर गरे ।
भूकम्पबाट क्षतिग्रस्त बनेको दशरथ रङ्गशाला पुर्न्निर्माण हुन नसकेको भनी मिडियाहरुमा आएको समाचारहरुमा सत्यता नरहेको बताउँदै आफ्नो पालामा खेलकुद क्षेत्रमा अभूतपूर्व कामहरू भएको दाबी गरे ।
उनले अहिले नेपालमा १२ सय २१ वटा खेलकुदको पूर्वाधार निर्माणका कामहरू भइरहेको बताउँदै खेलकुदको क्षेत्रमा उल्लेख्य प्रगति भएको बताए । उनले आफू सदस्य सचिव भएर आउँदा नेपालले वर्षमा जम्मा ९२ वटा पदकहरु हात पारेको बताउँदै अहिले करिब चारसय वटा पदक जितिसकेको तथ्याङ्क प्रस्तुत गरे ।
उनले आगामी वर्ष नेपालले कम्तीमा पनि पाँचसय पदक जित्ने दाबी प्रस्तुत गरे । उनले विगत लामोसमयदेखि रोकिएका प्रशिक्षणका कामहरू र नयाँ प्रतिभा खोज्ने कामहरूले तीव्र पारेको बताए ।
१३ औँ साफ कुनै पनि हालतमा नरोकिने बताउँदै सदस्य सचिव विष्टले भौतिक पूर्वाधार हेरेर सम्भव भएसम्म साफ गेमका धेरै भन्दा धेरै खेलहरू पोखरामा सञ्चालन गराउने बताए ।
“








