पूर्व प्रहरी महानिरीक्षक अर्यालमाथि अकुत सम्पत्ति आर्जनको अभियोग

कार्तिक १९, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालमाथि अकुत सम्पत्ति आर्जनको अभियोगमा अनुसन्धान सुरु गरेको छ ।

पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले अर्याललाई एक साताअघि नै १३ पाने फारम भराएको अख्तियार उच्च स्रोतले जनाएको छ ।

‘महानिरीक्षक हुँदा गाडी तथा प्रहरीको कपडा खरिदमा अनियमितता गरेको आरोपमा उहाँसँग अख्तियारले बयान लिन सुरु गरेको छ’, स्रोतले भन्यो ।

सम्पत्ति मूल्यांकन तथा अनुसन्धान सम्बन्धी अख्तियारको निर्देशिका अनुसार अकुत सम्पत्ति आर्जन गर्ने व्यक्तिलाई अख्तियारले १३ पाने भराउँछ । चार खण्ड हुने १३ पानेको खण्ड १ मा व्यक्तिगत र पारिवारिक विवरण हुन्छ । यस्तै, खण्ड २ मा सार्वजनिक पद धारण गरेको विवरण, खण्ड ३ मा अचल सम्पत्तिको विवरण र खण्ड ४ मा चल सम्पत्तिको विवरण हुन्छ ।

आयोगले त्यसमा व्यक्तिले हालसम्म आर्जेको सम्पूर्ण सम्पत्तिको विवरण संलग्न गराएर अनुसन्धान सुरु गर्छ । अर्यालले आर्जन गरेको सम्पत्ति अस्वाभाविक देखिएकाले १३ पाने मार्फत उनको विवरण अख्तियारले प्राप्त गरेको छ । उनलाई आइतबार नै बयानका लागि बोलाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *