बेनैन हाइपरप्लेसिया अफ प्रोस्टेट के हो ?
“
काठमाडौं, कात्तिक १६ । डा. मनोज आचार्य : प्रोस्टेट एउटा पुरुष ग्रन्थि हो, जुन महिलामा हुँदैन । यो ग्रन्थि पिसाबथैलीबाट लिंगसम्म पुग्ने पिसाबनलीको एक भागमा पर्दछ । एनाटोमिकल्ली भन्नुपर्दा यो मलद्वारको अगाडिपट्टि पर्छ । पिसाबनली प्रोस्टेटको बीच बाटो हुँदै जाने गर्दछ । प्रोस्टेट पिसाबनलीकै एउटा क्षेत्र हो । यसको तौल सामान्यतः १८ देखि २० ग्राम हुन्छ ।
प्रोस्टेटको काम
वीर्य निष्कासन हुने वेला यसलाई लिंगसम्म पु¥याउने ।
वीर्यलाई पोषण गराउने ।
बेनैन हाइपरप्लेसिया अफ प्रोस्टेट भनेको के हो ?
बढ्दो उमेरमा प्रोस्टेट पनि ठूलो हुन्छ । यो प्राकृतिक नियम नै हो । यद्यपि, कुनै समयमा आएर यसले बेनैन हाइपरप्लेसिया अफ प्रोस्टेट निम्त्याउँछ । जसले गर्दा पिसाबनली च्यापिएर पिसाबमा समस्या देखिने गर्छ । तर, यो क्यान्सर होइन । सामान्य रूपमा भन्दा यो प्रोस्टेटको तौल बढ्नु हो ।
यो के कारणले हुन्छ ?
चिकित्साशास्त्रअनुसार यो मुख्यतः हर्मोनल परिवर्तनका कारणले हुने गर्दछ । डैहाइड्रोटेसटेसटोरोन एउटा टेसटेसटोरोनको मेटाबोलाइट हो, जसले प्रोस्टेटलाई ठूलो बनाउने काम गर्दछ ।
पिसाबमा देखिने लक्षण
पिसाब छिनछिनमा लाग्ने ।
पिसाब लाग्दा थाम्न नसक्नु ।
रातको समयमा बढी मात्रामा
पिसाब लाग्नु ।
पिसाब रोकिँदै झर्नु ।
पिसाब गरिसकेपछि पिसाब अझै रहेझैँ हुनु ।
पिसाब फेर्दा बढी बल लगाउनुपर्ने ।
पोष्ट्रेटले कहिलेकाहीँ पिसाब नै बन्द गराउन सक्छ ।
बच्न के गर्ने ?
जीवनशैली परिवर्तन ।
बेलुका तरल पदार्थको मात्रा सक्दो कम गर्ने ।
कफी र रक्सी (खास गरेर बियर)को प्रयोगबाट टाढै बस्ने ।
पिसाब फेर्नलाई प्रशस्त समय दिएर पिसाब पूरा निखार्न कोसिस गर्ने ।
पिसाब फेरिसकेपछि अन्तमा मलद्वार र लिंगको बीचको भागलाई हलुकासँग थिचेर त्यो ठाउँमा बाँकी रहेको
पिसाब निखार्ने ।
बेनैन हाइपरप्लेसिया अफ प्रोस्टेट कसरी छुट्याउने ?
माथि दिइएका लक्षण देखियो भने बेनैन हाइपरप्लेसिया अफ प्रोस्टेट भएको शंका गर्न सकिन्छ ।
चिकित्सकले बिरामीको मलद्वारबाट औँला राखेर प्रोस्टेटलाई अनुभव गर्छन् र शंका गर्छन् ।
प्रोस्टेटको घनत्व कडा छ कि नरम आदि अनुभव
गरेर छुट्याउन सकिन्छ । यसलाई हामी डिजिटल रेक्टल एग्ग्रजाम भन्छौँ ।
भिडियो एक्सरे अर्थात् युएसजी गरेर पनि तौल र रहेको पिसाबको मात्रा थाहा पाउन सक्छौँ ।
सिस्टोस्कोपी दूरबिन हालेर थैलीभित्र जाँच गरिन्छ । प्रायः मूत्र रक्तश्राव हुने बिरामीका लागि मात्र यो जाँच गरिन्छ ।
पिसाबथैलीको क्यान्सरबारे जाँच्न यो विधि अपनाइन्छ । तर, क्यान्सर देखा परे त्यसको बायोप्सी गर्नु उपयुक्त हुन्छ ।
सिस्टोस्कोपी गर्नैपरे मूत्रथैलीमा पत्थरी छ÷छैन आदि सबै सूचना संकलन गरिन्छ ।
अन्य जाँचहरूमा पिसाब र रगतको जाँच गरिन्छ । जसमा पिसाबको संक्रमण तथा किड्नीले राम्रो काम गरेको छ कि छैन भनेर थाहा पाइन्छ ।
प्रोस्टेट स्पेसिफिक ऐनटेजेन पनि पठाइन्छ । जसको नर्मल मात्रा भनेको ४ भन्दा कम हुनुपर्छ । बढ्नु भनेको क्यान्सरको शंका हो ।
उपचार विधि
धेरै समयसम्म पिसाब ठ्याप्पै रोकिएर इमरजेन्सीमै आउनुपर्ने भयो भने लक्षणहरू सोधेर पिसाबनलीमा पाइप राखी सर्वप्रथम पिसाब जाने बाटो बनाउनुपर्छ ।
यससँगै निस्किएको पिसाब जाँचका लागि पठाउनुपर्छ ।
यदि बिरामीलाई ज्वरो आउने र पिसाब पोलेको खण्डमा रिपोर्ट हेरेर एन्टिबायोटिक चलाउनुपर्छ ।
त्यसपछि भिडियो एक्सरे अर्थात् युएसजी गरेर प्रोस्टेटको समस्या छ÷छैन अथवा अरू समस्या हो कि छुट्याउनुपर्छ ।
यदि बिरामी बहिरंगमा माथि लेखिएका लक्षण लिएर आएमा जाँच र रिपोर्ट हेरिसकेपछि सुरुमा औषधिबाट नियन्त्रण गर्न खोजिन्छ । जसमा पिसाब खुलाउने तथा प्रोस्टेटको तौल बढ्न रोक्ने औषधि पर्दछन् । यो औषधि सुरुमा दिएर १५ दिनदेखि एक महिनापछि बिरामी आउँदा लक्षणहरू सोधिन्छ ।
यदि राम्रै नियन्त्रण गरेमा औषधिले नै निरन्तरता दिएर पठाइन्छ, नभएमा शल्यक्रियाको सल्लाह दिने गरिन्छ ।
शल्यक्रियामा टियुआरपी गरिन्छ । तर, अहिले पहिलेजस्तो चिरेर गर्न पर्दैन ।
शल्यक्रियापछि त्यहीअनुसारको औषधि दिएर बिरामीलाई घर पठाइन्छ । यदि पिसाबसम्बन्धी समस्या भए तुरुन्तै बोलाइन्छ, नभए बहिरंगमै फलोअपका लागि बोलाइन्छ । आजको नयाँ पत्रिकामा यो खबर छ ।
“