बरु भोकै मर्छु तर छाडा गीत गाउँदिन

काठमाडौँ । दश वर्षको कलिलो उमेरमै सङ्गीत क्षेत्रमा झुलिन्, प्रिया सेञ्चुरी ।

 बालापनादेखि अध्ययनमा भन्दा बेसी सङ्गीतमा ध्यान दिँदा पिता खड्का बहादुर र माता गंगामायाले झपार्थे । ‘गीत गाएर खान पुग्दैन । खुरु खुरु पढ ।’ आमाबुवा दुवैले यसै गरी हप्काउँथे । तर,छोरी भने पढाइभन्दा गीत गाउन र नाच्नम हुरुक्कै हुन्थिन् ।

चाँडबाँड, बिहे भोजमा उपस्थित हुँदा गीत गाउँन र नाच्न कहिल्यै छुटाइन सेञ्चुरी भन्छिन्,‘ नशा लागेपछि लाग्यो लाग्यो । तर,मलाई आमा बुवाले छेक्न हर कोसिस गर्नु हुन्थ्यो ।’

बालापनदेखि नै गीत,सङ्गीतको नशाले च्याप्यो । तन मन सङ्गीतमै भए पनि जसो तसो अध्ययनलाई पनि अघि बढाउँदै गए । श्री गङ्गा मावि ६ कक्षामा अध्ययन गर्नेक्रममा विद्यालयले एउटा साङ्गीतिक कार्यक्रम आयोजना गर्‍यो । नभन्दै उनी प्रथम भइन् । त्यसपछि उनको भाग्यले नयाँ अवतर लियो । १० वर्षकै उमेरमा स्टेजमा पुगेर गीत गाँउन थालिन् । आइरन गेट मानिने एसएलसी तह पार गरेपछि मनभरि अनेकै सपना बोकेर उनी पनि भित्रिइन्,राजधानी ।

काठमाडौँ आउनुपूर्व घर परिवारले सुझाव दिएका थिए रे–‘ दायाँ बायाँ गर्लिस् । खुरु खुरु अध्ययन गर । नत्र भोलि दुःख पाउँलिस् ।’ आफूलाई सङ्गीतको लयहरु मात्र उच्चारण गर्न मन लागेपनि ‘हुन्छ’ भन्दै सजिलै परिवारको सुझाव मानिन् । एसएलसी पछि बल्ल तल्ल पिँजडाबाट फुत्किएकी सुगा चरीझै अनेकै रहर र उत्साह लिएर उनी काठमाडौँ आइन् । घर परिवारबाट बारम्बार पढाइमा नै फोकस गर्नुपर्ने अर्ति पाएपनि उनमा गीत सङ्गीतकै क्षेत्रमा केही गरेर देखाउने प्रण थियो । र,आफ्नो त्यही प्रणलाई साकार पार्नुथ्यो ।

काठमाडौँको केही समयको बसाईसँगै मामाको छोरी सीता माझीको साथ पाएसँगै पुगिन् मालश्री रेकर्डिङ स्टुडियोमा । प्रियाको जादुमय स्वर सुनेर अचम्मित भएकी सीताले उनलाई एसएलसीझै आइरन गेट कटाउन सहयोग गरिन् । नभन्दै स्टुडियो धाएको केही समयमै प्रियाले ‘छोरीको जुनी’ आफ्नै लय,आफ्नै शब्द र आफ्नै श्रृजनाले भरिएको पहिलो साङ्गीतिक कोसेली बजारमा ल्याईन् । त्यस यता उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन ।

जादुमय स्वरसँगै पहिलो एल्बम निस्किए पछाडि प्रियालाई चौतर्फी ‘अफरको ओइरो’ लाग्यो । र, दोस्रो गीत गाईन ‘तिम्रो आँखामा’ चर्चित गायक रामजी खाँडसँग स्वरमा स्वर मिलाँउदै दसैँको गीत गाईन् । यस पछाडि राता रात प्रियाको चर्चा झनै चुलिन थाल्यो ।

राजधानी पढ्न पठाएको छोरीले पहिला पहिला गीत गाँउदा गाली गर्ने आमा बुवाहरुले पनि गाली हैन ताली दिन थाल्नुभयो । हाल दुई वर्षको अन्तरालमा झन्डै १३ वटा एल्वमा स्वर दिइसकेकीछिन् प्रियाले । तीमध्ये आधाजति मात्र बजारमा आइसकेका छन् । प्राय जति एल्बम बजारमा आएकाछन् ती सबैले चर्चा र वाहवाही कमाएको गायक खाँड बताउँछन् ।

खाँडले यसो भनिरहँदा उनी एकाएक भावकु बनिन् । र,सुनाइन् ‘कुनै दिन गाडी चढ्ने पैसा पनि गोजीमा हुँदैनथ्यो। तर, सङ्गीत मोह छाड्ने चान्स नै थिएन ।’ भन्छिन् ‘ तर, अर्काे कुरा बरु भोकै हिड्छु तर छाडा गीत गाँउदिन ।’ गीत रेकर्डिङमै व्यस्तताका बावजुत भेटिएकी प्रिया हतारिदै थिइन् । कारण थियो अलंकार स्टुडियोमा आफ्नो जादुमयी स्वर पस्कनु । कविराजको शब्द रहेको सुपारी दाना एल्बममा स्वर दिनु । उच्च तह अध्ययन सकाएर बसेकी बेफुर्सदिला प्रियासँग थप कुराकानी गर्न अर्काे मौका कुर्नुपर्ने भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =