चालिस हजारको लगानीले डेढ वर्षमै दशलाख

“
कौरव खत्री, गुल्मी । जापान छाडेर आएका गुल्मीका एक युवाले आफ्नै गाउँमै व्यावसायिक केराखेती गरेर राम्रो आम्दानी गरेका छन् । मुसिकोट नगरपालिका–१ भर्माचौर निवासी ४४ वर्षीय समाजसेवी युवा चन्द्रमणि घिमिरेले व्यावसायिक केरा खेतीसँगै मेवा, खुर्सानी र कुखुरापालन व्यवसायबाट झन्डै डेढ वर्षमा रु १० लाख आम्दानी गर्न सफल भएका हुन् ।
घिमिरेले झन्डै चार रोपनी जग्गामा एक वर्षयता आफ्नै खेतमा रु ४० हजारको लगानीबाट २८० केराको बोट लगाएर सुरु गरेकाे केराखेती वृद्धि हुँदै झन्डै ८०० केराका घरी उत्पादन भइरहेको हुँदा आउने वर्षमा केराबाट राम्रो आम्दानी हुने घिमिरे बताउँछन् ।
घिमिरे रोजगारीको सिलसिलामा विदेशका विभिन्न देशमा नौ वर्ष दुःख पीडा भोग्दै पछिल्लो समयमा जापानमा तीनवर्ष बिताएर स्वदेश फर्केर अब आफ्नै गाउँघरमा सानोतिनो व्यवसायको सुरुवातको गराै भन्ने अाटका साथ काम सुरु गरेका थिए । घिमिरे भन्छन्, युवा विदेश जाने सपना त्यागेर आफ्नै गाउँघरमा सानोतिनो पेसा व्यवसाय गरी आधुनिक कृषि गरेर पनि मनग्य आम्दानी गर्न सकिने हुँदा युवाहरूलार्इ अरूकाे सिको गरेर विदेश जानुभन्दा आफ्नै जन्मभूमिमा केही गरेर आत्मनिर्भर भएर बाँच्न सकिने सुझाव दिन्छन् ।
घिमिरेले निरन्तररुपमा मेहनत र परिश्रम गरेरै आफ्नै गाउँघरमा केही गर्ने हो भने स्वदेशमै सुन फलाउन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण प्रस्तुत गरेका छन् । व्यवसायबाट आफू सन्तुष्ट भएको भन्दै जापानको कमाइ गाउँमै गर्दै आएका घिमिरे आफ्नो केरा व्यवसायलाई अझ वृद्धि गर्दै लैजाने र गाउँलाई नै केरामय बनाउने सोचमा छन् ।
घिमिरेले हाल तीन स्थानीय जात अन्तर्गत फुस्रेर, झोप्रे, मुहुरे र तीन उन्नत जात अन्तर्गत चिनी केरा, झापाली माल्भोग र मनिपुरे माल्भोग जात गरी छ जातका व्यावसायिक केराखेती गरेका छन् । आफूले उत्पादन गरेका केरा, खुर्सानी, मेवा र कुखुरा आदिको राम्रो व्यापारले गर्दा बजारमा माग अनुसार उत्पादित वस्तु आफूले बजारमा पु¥याउन नसकेको घिमिरे बताउँछन् । रासस
“








