पोखरामा एक अर्ब लगानीमा अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला बन्ने

कात्तिक ८, पोखरा । लामो समयको प्रतीक्षापछि पोखरामा अन्तर्राष्ट्रिय स्तरको फुटबल रङ्गशाला बनाउन ग्लोबल टेन्डर आह्वान गरिएको छ । १० महिनाभित्रै काम सकिने गरी टेण्डर प्रकाशन गरिएको हो ।

परिषदले १३ औँ सागलाई मध्येनजर गर्दै पोखराको फुटबल स्टेडियम स्तरोन्नतीको तयारी थालेको हो । स्टेडियममा ट्रयाक एण्ड फिल्ड, शौचालय, खेलाडी आराम कक्ष, मिडिया कक्ष, स्टोर रुम, कन्फरेन्स कक्ष निर्माण हुनेछ ।

मङ्गलवारदेखि खुलेको टेन्डरमा संसारका जुनसुकै कम्पनीले पनि टेन्डर हाल्न पाउने पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए । टेन्डरका लागि २०७४ मङ्सिर २ गते सम्म फारम भर्ने समय तोकिएको छ ।

स्टेडियम निर्माणका लागि १ अर्ब रुपैयाँ लगानी हुनेछ । ‘स्टेडियम तयार भए सन् २०१९ को मार्चमा नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुदका धेरै खेलहरू पोखरामा हुनेछन् उनले भने–हामी त्यसैको तारगेट पूरा गर्ने अपेक्षामा छौँ ।’

डिपिआर अनुसार फुटबल रङ्गशाला अन्तर्राष्ट्रय स्तरको बन्ने छ । एनडी इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको डिपिआर अनुसार करिब ३० हजार दर्शक क्षमताको प्यारापिट पनि निर्माण गरिने छ । फुटबल मैदानको चारैतर्फ प्यारापिट रहने छ । पोखरा रङ्गशालामा हाल दुई स्थानमा मात्र प्यारापिट छ । नयाँ बन्ने फुटबल मैदानमा दर्शकसँगै भिआइपी, मिडिया, अपांग मैत्री, खेलाडी चेन्जिङ रुम, भिआइपी, रेफ्री, मेडिकल, मिडिया सेन्टर, दर्शकको लागि शौचालय, प्यारापिट लगायतका सुविधायुक्त पूर्वाधार निर्माण गरिने छ ।

प्राकृतिक घास रहने फुटबल मैदानमा रातको समयमा सबै मौसममा फुटबल खेल्न मिल्ने गरी चार स्थानमा शक्तिशाली बत्ती र दुई स्थानमा डिजिटल स्कोर बोर्ड राखिने छ । प्यारापिटमा दुई लेभलको हुने र सबैतिरको प्यारापिटतर्फ घाम र पानीको लागि फाइभरको छाना हालिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =