आज गाई गोरुको पूजासँगै गोवद्र्धन पर्वतको पनि पूजा हुने

“
कार्तिक ३, काठमाडौँ । आज गाई गोरुको पूजासँगै गोवद्र्धन पर्वतको पनि पूजा हुने गर्दछ । पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो । विश्वास अनुसार कृष्ण भगवान् गोकुलमा गोपालहरुसँग बस्दथे । गोपालहरु देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरूले केही पाउँदैन थिए । कृष्णले एक दिन गोकुलवासीहरुलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज, घाँस, पानी, दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राखेपछि सबै जना त्यसै गर्न राजी हुन्छन् र गोवर्धन पर्वतको पूजा हुन्छ ।
आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको घनघोर वर्षा गराउँछन् । भगवान् श्रीकृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सबै गोकुलवासीहरुलाई आश्रय दिनुहुन्छ । अन्त्यमा आफ्नो हार मानी इन्द्र श्रीकृष्ण समक्ष क्षमा माग्दछन् । यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको विश्वास गरिन्छ ।
संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्धन, गोकुल, गोपाल यी शब्दहरूले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ । आजको दिन घरघरमा गाईको गोबरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । यसैदिन नेपालीहरूले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरूको पालनहारी गोरुको पनि पूजा गर्ने चलन रहेको छ । आजकै दिनबाट नेपाल संवत११३८ को पनि प्रारम्भ भएको छ । नेवारी समुदायमा आजको दिन म्हपूजा गरिन्छ ।
“








