मदिरा उत्पादन छाडेर व्यावसायिक पशुपालनमा

सुशीला रेग्मी, पाल्पा । रिब्दिकोट गाउँपालिका–६ ठिमुरे इजरडाँडाका बासिन्दा मदिरा उत्पादन छाडेर व्यावसायिक पशुपालनमा लागेका छन् । स्थानीयवासीले वर्षौंदेखि दैनिक ठुलो परिमाणमा मदिरा उत्पादन गरी साँझ–बिहानको हातमुख जोर्ने गर्थे । मदिराजन्य पदार्थको उत्पादन गरी बिक्री–वितरण गर्दा समाजमा नराम्रो छाप परेपछि उनीहरूले व्यवसाय नै परिवर्तन गरी गाई पाल्न सुरु गरेका हुन् ।

गत वर्षबाट गाउँका १८ घरपरिवारले मदिरा उत्पादन छाडेर उन्नत जातका दुई दुईवटा गाई पाल्न सुरु गरेका छन् । व्यवसायका लागि फुलबारी बचत तथा ऋण सहकारी संस्थाले बिना धितो ऋण लगानी गरिदिएपछि सजिलो भएको उनीहरू बताउँछन । एउटा कृषकले दैनिक १५ देखि १८ लिटरसम्म दूध बिक्री गर्दै आइरहेका छन् ।

दाना र घाँसपानीको उपयुक्त तालमेल गराउन सके एउटा गाईबाट पनि मनग्य आम्दानी लिन सकिने कृषक ढालबहादुर उचै बताउनुहुन्छ । लामो समयसम्म आर्थिक उपार्जनका लागि उहाँले मदिराजन्य पदार्थ उत्पादन गरी बजारमा बिक्री गरेर जीविका चलाउँदै आउनुभएको थियो ।

“मदिरा उत्पादनबाट राम्रै कमाइ भएको थियो तर समाजमा प्रतिष्ठा मानमर्यादामा नराम्रो छाप पर्दै गएपछि व्यवसाय परिवर्तन गरेको हुँ”, उहाँले भन्नुभयो । दैनिकजसो १८ लिटरसम्म दूध बिक्री गर्ने गरेको उहाँको भनाइ छ ।

यस्तै, विष्णु पाडेँ मगरले घरखर्च र छोराछोरीको पढाइ खर्चका लागि रातभरि मदिरा उत्पादन गर्ने र उज्यालो भएपछि बजारका विभिन्न पसलमा बिक्री गरेर लामो समयसम्म जीविका चलाउनुभयो । मदिरा बिक्रीबाट उहाँले राम्रै कमाई गर्नुहुन्थ्यो । “घरव्यवहार चलाउनका लागि मदिरा उत्पादन गर्न बाध्य भए,” उहाँले भन्नुभयो । दूध बिक्रीबाट मासिक रु ३० हजार आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ ।

मदिराजन्य पदार्थ उत्पादनभन्दा गाईपालन व्यवसाय गर्न सजिलो मात्र नभई अहिले सबैले व्यवसायको प्रशंसा गर्न थालेको माया गाहा बताउनुहुन्छ । “रक्सी उत्पादन गरेपछि बिक्रका लागि डराई डराई लुकेर बजारका पसलमा पु¥याउनुपथ्र्यो, गाई पाल्न थालेपछि निर्धक्कसँग समाजमा खुलैरै दूध बिक्री गर्न पाउँदा आनन्द लाग्ने गरेको छ”, उहाँले अनुभव सुनाउनुभयो ।

इजारडाँडा गाउँमा एक महिनामा दूध बिक्रीबाट झन्डै रु दुई लाख ४० हजारभन्दा बढी रकम भित्रने गर्छ । यहाँ उत्पादित दूध डुम्रे दुग्ध उत्पादक सहकारीले व्यवस्थापन गर्दै आइरहेको सहकारीका व्यवस्थापक गोपाल जिसी बताउनुहुन्छ ।

“कृषकले उत्पादन गरे मात्र हुन्छ, गोठदेखि बजारसम्म दूध बिक्री गर्ने जिम्मा सहकारीले लिएको छ”, उहाँले भन्नुभयो । सहकारीले गोठमै पुगेर दूध सङ्कलन गर्न थालेपछि कृषक अन्य व्यवसाय छाडेर गाईपालनतर्फ लागेका हुन् । दूध प्रतिलिटर रु ४८ देखि रु ५५ सम्ममा कृषकबाट खरिद गर्ने गरेको जिसीले बताउनुभयो । दूध बिक्रीका लागि सहकारीले व्यवस्थापन गरिदिएपछि कृषक व्यवसाय बढाउने सोचमा छन् ।

कृषकले अहिले दूध बिक्रीबाट मनग्य आम्दानी लिन थालेपछि व्यवसायमा उत्साहित हुँदै गएको जिल्ला पशु सेवा कार्यालयका नायब पशुसेवा प्राविधिक शेरबहादुर राना बताउनुहुन्छ । बजेट जति सबै स्थानीय निकायमा गएको हँुदा कार्यालयले प्राविधिक सेवासुविधाबाहेक पशु विकासका कार्यक्रम अहिले गर्न नसकेको रानाको भनाइ छ । कृषकलाई स्थानीय निकायले हौसला बढाउने खालका कार्यक्रम सञ्चालन गर्न जरुरी भएको उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *