म्यानपावरद्वारा २ वर्षमा डेढ अर्ब ठगी

असाेज २६, काठमाडाैं । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने युवाको सङ्ख्या अपेक्षित वृद्धि हुन नसके पनि यस क्षेत्रमा ठगीको उजुरी गर्ने पीडितको सङ्ख्या र दाबी रकम भने बढ्दै गइरहेको छ । पछिल्लो २ वर्षमा मात्र वैदेशिक रोजगारीका क्षेत्रमा भएको लेनदेनको क्रममा १ अर्ब ४५ करोड भन्दा बढी दाबीसहितको उजुरी परेको खबर गोपाल संग्रौलाले आजको कारोबार दैनिकमा लेखेका छन् ।

यसरी परेको उजुरीको कारबाहीका क्रममा २६ करोड ४० लाख ९५ हजार रुपैयाँ बिगो भराइएको छ । आर्थिक वर्ष २०७२/२०७३ को तुलनामा २०७३/२०७४ मा रकम हिनामिनासहित उजुरी गर्ने युवाको सङ्ख्या २ सय ११ जनाले बढेको देखिन्छ भने दाबी रकम पनि ६ करोड २७ लाख ४५ हजार ३ सय २ रुपैयाँले वृद्धि भएको छ । अघिल्लो आवमा ६९ करोड ५० लाख ९६ हजार ५०२ रुपिया रकम दाबीसहित २ हजार १ सय ७२ जनाले वैदेशिक रोजगार विभागमा उजुरी दिएका दिए ।

यसरी नै गत आवमा ७५ करोड ७८ लाख ४१ हजार ८०४ रुपैयाँ दाबीसहित २ हजार ३ सय ८३ उजुरी दर्ता गरेको वैदेशिक रोजगार विभाग उजुरी तथा अनुसन्धान शाखाको तथ्याङ्कमा उल्लेख छ । यो तथ्याङ्क संस्थागत म्यानपावर एजेन्सी र व्यक्तिगत रूपमा वैदेशिक रोजगारको नाममा रकम लेनदेन विवादपछि पीडित पक्षले विभागमा दर्ता गराएको सङ्ख्या हो । वैदेशिक रोजगार विभागका निर्देशक मोहन अधिकारीले उजुरी र दाबी रकम वृद्धिसँगै पीडित पक्षलाई भराएको बिगोसमेत वृद्धि भएको बताए ।

“विदेश जाने कामदारको सङ्ख्यामा कमी आए पनि पुराना उजुरीका कारण उजुरी दर्ता सङ्ख्या र दाबी रकम बढेको हो,” निर्देशक अधिकारीले कारोबारसँग भने, “उजुरी बढ्दै गए पनि हालै एक महिनाको सूचना निकाली म्यानपावर कम्पनीलाई दाबी रकम पीडित पक्षलाई भराउन निर्देशन दिएका छौँ ।” विभागले अब अदालतबाट बिगो भराउन गरेको निर्णयलाई प्रभाकारीरूपमा कार्यान्वयन गरी रकम फिर्ता नपाएका उजुरीकर्तालाई बिगो दिने जनाएको छ ।

विभागले अघिल्लो आर्थिक वर्षमा ६९ करोड ५० लाख ९६ हजार ५ सय २ रुपैयाँ रकम दाबीसहित परेको उजुरीमध्ये ५ सय २० जनाले पाउने १० करोड ३६ लाख ७८ हजार रुपैयाँ उजुरीकर्तालाई भराएको छ । यसरी नै गत आवमा ७५ करोड ७८ लाख ४१ हजार ८ सय ४ रुपैयाँ दाबीसहित २ हजार ३ सय ३ उजुरी दर्ता गरेकोमा ८ सय ४६ वटा उजुरीबापतको १५ करोड ९४ लाख १७ हजार ८ सय ८ उजुरीकर्तालाई भराउने निर्णय गरेको थियो ।

अघिल्लो आवको तुलनामा सरकारले पीडित पक्षलाई गत आवमा ५ करोड ५७ लाख ३९ हजार रुपैयाँ बढी बिगो भराउन सफल भएको छ । २ वर्षको अवधिमा सरकारले म्यानपावर कम्पनीबाट १३ करोड ८३ लाख ५४ हजार र व्याक्तिगत रूपमा १२ करोड ४७ लाख ४१ हजार बिगो उजुरीकर्तालाई भराएको छ । सो अवधिमा विभागले छिनोफनो हुन नसकेका ५४३ उजुरीलाई अदालतमा मुद्दा चलाएको थियो ।

व्यक्तिगत र संस्थागत रूपमा उजुरीको सङ्ख्या हेर्दा कानुनी रूपमा सरकारबाट दर्ता भई सञ्चालनमा रहेका म्यानपावर एजेन्सीबिरुद्ध नै बढी उजुरी परेको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा म्यानपावर कम्पनीबिरुद्ध १ हजार ४ सय ६८ उजुरी परेकोमा व्याक्तिगत रूपमा ७ सय ४ वटामात्र उजुरी दर्ता भएको देखिन्छ । यसरी नै गत आवमा म्यानपावर कम्पनी र व्याक्तिगत रूपमा क्रमशः १ हजार ४ सय ५२ र ९ सय ३१ उजुरी परेको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *