राष्ट्रिय सभाको निर्वाचनका बारे समान धारणा बनाउने बाम गठबन्धनको निष्कर्ष

काठमाडौं, असोज २४ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताले राष्ट्रिय सभाको निर्वाचनमा समान धारणा बनाएर जाने निर्णय गरेका छन् । सिंहदरबार स्थित एमाले संसदीय दलको कार्यालयमा आज बसेको दुई दलका शीर्ष नेताको बैठकमा राष्ट्रियसभा गठन र त्यसको प्रक्रियालाई कुन ढाँचामा लैजाने भन्नेबारेमा छलफल भएको हो ।

शीर्ष नेताले वरिष्ठ कानून व्यवसायी तथा पूर्व महान्यायाधिवक्तासँग समेत छलफल गरेका थिए । राष्ट्रियसभामा बहुमतीय निर्वाचन प्रणालीअनुसार जाने कि एकल संक्रमणीय मतका आधारमा जाने भन्ने विषयमा छलफल केन्द्रित थियो । माओवादी नेता सांसद रामनारायण बिडारीले राष्ट्रियसभा गठन प्रक्रिया र निर्वाचन प्रणालीबारे छलफल भएको जानकारी दिनुभयो ।

राष्ट्रियसभाको चुनावसम्बन्धी संवैधानिक व्यवस्था र त्यसमा देखिएका असहजतालाई सहज बनाएर कसरी अघि बढ्ने भन्ने सम्बन्धमा पनि शीर्ष नेताले छलफल गरेका थिए । व्यवस्थापिका संसदले प्रक्रियामा लैजान लागेको राष्ट्रियसभा निर्वाचनसम्बन्धी विधेयक सोहीरूपमा अगाडि बढाउनुपर्ने धारणा सहभागीहरुले व्यक्त गरेका थिए ।

एमाले र माओवादी केन्द्रबीच एकता प्रक्रिया अगाडि बढेपछि नेपाली कांग्रेसले एकल संक्रमणीय आधारमा नै राष्ट्रियसभा गठनको प्रक्रिया अगाडि बढाउने धारणा राखेको छ । राष्ट्रियसभामा ५९ सदस्य रहने संवैधानिक व्यवस्था छ । त्यसमा ५६ जना निर्वाचन प्रणालीबाट छानिनेछन् भने तीन जना मनोनीत हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *