एनआरएनको आठौँ विश्व सम्मेलनको सरगर्मी बढ्दो

असाेज २१, काठमाडाैं । गैर आवासीय नेपाली सङ्घ (एनआरएन) को आठौँ विश्व सम्मेलनको चुनावी सरगर्मी बढे सँगै उम्मेदवारी घोषणा गर्नेहरुको लर्को लागेको छ । अन्तर्राष्ट्रिय सम्मेलनका लागि विश्वभर रहेका महाधिवेशन प्रतिनिधिहरू राजधानी आइपुगेका छन् । ७७ देशमा शाखा रहेको एनआरएनको मुख्य नेतृत्वको लागि दुई जनाले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । असोजको २८ देखि ३१ गते सम्म हुने विश्व सम्मेलनमा अध्यक्षका लागि भवन भट्ट र डिबी कार्कीले उम्मेदवारी सार्वजनिक गरेका छन् । भट्ट जापानको रेष्टुरेन्ट व्यवसायबाट आर्थिक क्षेत्रमा उदाएका व्यक्ति हुन् । नेपालमा सञ्चारमा क्षेत्रमा पनि लगानी गरेका भट्ट नेपाल पूर्वाधार कम्पनीको अध्यक्ष समेत भइसकेका व्यक्ति हुन् । भट्टको लगानी रहेको बिबि एअरलान्स भने असफल भएर बन्द अवस्थामा छ ।

दुई कार्यकाल उपाध्यक्षको पदमा भूमिका निर्वाह गरेका भवन भट्ट आठौँ विश्व सम्मेलनका लागि अध्यक्ष पदका बलियो उम्मेदवार देखिएका छन् । वर्तमान अध्यक्ष शेष घलेसँग सातौँ विश्व सम्मेलनमा पराजित भएका डिबी कार्कीले यस पटक पनि अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । अध्यक्षमा उम्मेदवारी दिएका भट्टलाई अर्का उपाध्यक्ष कुमार पन्तले सहयोग गर्ने बुझिएको छ । भट्ट र पन्त बिच भएको भित्री सहमति अनुसार यस पटक पन्तले अध्यक्षमा भट्टलाई सहयोग गर्ने र अर्को अधिवेशनमा भट्टले अध्यक्षमा पन्तलाई सहयोग गर्ने चर्चाले चुनावी सरगर्मी बढेकोे छ । भट्टलाई एनआरएन संरक्षक जीवा लामिछानेको पनि समर्थन रहेको बुझिएको छ ।
अध्यक्षका अर्का प्रत्यासी डिबी कार्की एनआरएनको स्थापनाकाल देखि संस्थामा रहेका व्यक्ति हुन् । कार्कीको कतारमा निर्माण कम्पनी ‘द बेच जनरल सर्भिस’ छ ।

शेष घलेले श्रीमतीलाई उठाउने !

एनआरएनका वर्तमान अध्यक्ष शेष घलेले श्रीमती जमुना घलेलाई अध्यक्षमा उठाउने विषयले एनआरएनहरुमा चर्चा पाएको छ । यद्यपि जमुनाको अहिलेसम्म उम्मेदवारी घोषणा नभएको अवस्थामा उनको उम्मेद्वारीमा ठोकूवा गर्न सकिएको छैन । अध्यक्ष शेष घलेले आफ्नो कार्यकालमा सुरु गरेको लाप्राक एकीकृत बस्ती निर्माणलाई सम्पन्न गर्न र भिजन ट्वान्टी ट्वान्टीको एजेण्डालाई कार्यान्वयन तहमा लैजानका लागि श्रीमतीलाई अध्यक्षमा उठाउने योजना बनाएको बुझिएको छ ।
घले अस्ट्रेलियाको प्रख्यात मेलर्बन इन्सिच्युट अफ टेक्नोलोजीको प्रवन्धक हुन् । घले अस्ट्रेलियामा ११ औँ धनाढ्य महिलाको सूचीमा छिन् ।

उपाध्यक्षका लागि पाँच उम्मेवार

एनआरएन उपाध्यक्षका लागि पाँच जनाले उम्मेदवारी सार्वजनिक गरेका छन् । महिला उपाध्यक्षमा सपिला राजभण्डारीले उम्मेदवारी घोषणा गरेकी छन् । राजभण्डारी महिला उपाध्यक्षमा निर्विरोध बन्ने सम्भावना रहेको छ । नेपालमा स्वास्थ्य शिविर, जागरूकता कार्यक्रम, परोपकारी परियोजना र प्राकृतिक प्रकोपको समयमा सक्रिय रहेर राजभण्डारीले काम गरिरहेकी छिन् । खुला दुई र महिला उपाध्यक्ष एक गरी विधानमा तीन जनाको उपाध्यक्ष रहने व्यवस्था गरिएको छ ।
सन् २०१५ मा बेष्ट एनआरएन र केही समय अघि ‘युरोप वर्ष व्यक्तित्व’ बाट राजभण्डारीलाई उनलाई सम्मानित गरिएको थियो ।

एनआरएन उपाध्यक्ष पदका आकांक्षी अर्का उम्मेदवार हुन् जर्मनीमा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गरेका कुमार पन्त । गृह जिल्ला गोर्खाका पन्तले भुवन भट्टसँग आलोपालो गरी मुख्य पदमा रहने गरी पन्तको भित्री सहमति भएको दाबी गरिएको छ । यसै गरी उपाध्यक्षमा पुष्प थापा, कुल आचार्य र चिरन्जीवी थापा पनि आकांक्षी देखिएका छन् ।

महासचिवमा तीन उम्मेदवार

एनआरएन महासचिव पदका लागि हालसम्म तीन जना उम्मेदवारले उम्मेदवारी सार्वजनिक गरेका छन् । एक कार्यकाल महासचिव भइसकेका बद्रि केसी पुनः सोही पदमा आकांक्षी देखिएका छन् । एनआरएनले सञ्चालन गरेका विभिन्न योजनाहरू एक कार्यकालमा पुरा गर्न असम्भव रहेकोले पुनः महासचिवमा उम्मेदवारी दिन लागेको केसीको भनाई छ । रसियामा कार्यरत केसीको नेपालमा हाईड्रो र चिया प्रशोधन कम्पनीमा लगानी छ । केसीलाई पूर्व अध्यक्षहरु उपेन्द्र महतो र जिवा लामिछानेको साथ रहेकोले उनी महासचिवका बलिया उम्मेदवारका रूपमा लिइएको छ ।

यसै गरी महासचिवमा हङकङ एनआरएनको दुई कार्यकाल नेतृत्व गरेका त्रिलोक गुरुङले पनि आफ्नो दावेदारी सार्वजनिक गरेका छन् । हात एनआरएनको केन्द्रीय सल्लाहकार रहेका गुरुङ हङकङ र मकाउमा निर्माण र सुरक्षा क्षेत्रमा व्यवसाय छ । गुरुङको गृह जिल्ला लमजुङ हो ।

एनआरएनएको महासचिवमा बेल्जियमबाट आठौँ अन्तर्राष्ट्रिय सम्मेलनमा अर्जुन कुमार श्रेष्ठले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बेल्जियममा डेढ दशक देखि रहेका श्रेष्ठ होटेल व्यवसायी व्यवसायी हुन् । श्रेष्ठ २०१३ देखि २०१५सम्म एनआरएन युरोप संयोजक बनेका थिए ।

युरोपबाट आकांक्षी धेरै

यस पटकको सम्मेलनमा युरोप क्षेत्रबाट उपाध्यक्षका आकांक्षीहरु बढी देखिएका छन् । कुमार पन्त र पुष्प थापा उपाध्यक्ष र अर्जुन कुमार श्रेष्ठले महासचिवमा उम्मेदवारी दिने सार्वजनिक गरेका छन् ।

उपाध्यक्षमा युरोपबाटै कुल आचार्यको सम्भावना राम्रो रहेको छ । स्विजरल्याण्डबाट युरोप संयोजकका अर्का बलिया प्रतिस्पर्धी डाक्टर विनय श्रेष्ठ हुन् । गैर आवासीय नेपाली सङ्घ स्वीटजरल्याण्डका संस्थापक उपाध्यक्ष डा. श्रेष्ठ एनआरएनका वर्तमान आइसीसी सदस्यसमेत हुन् । उनी क्यान्सर रोग विशेषज्ञ हुन् । बेल्जियमबाट अर्का उम्मेदवार गंगाधर गौतमले पनि युरोप संयोजकमा आफ्नो दावेदारी प्रस्तुत गरेका छन् । भने, युरोपबाट महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महिला संयोजकमा रजनी प्रधान र युवा संयोजकमा लोकराज शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।

एनआरएनएको निर्वाचनका लागि क्षेत्रीय संयोजकमा बेलायतका थर्क सेनले पनि उम्मेदवारी घोषणा गरेका छन् । युरोपबाट नै जर्मनीका दावा जी शेर्पा र बेल्जियमबाट प्रेम गुरुङ युरोप क्षेत्रीय संयोजकमा उम्मेदवारी दिने बताएका छन् । युरोप क्षेत्रीय महिला उपसंयोजक पदमा बेलायतबाट संगिता मरहट्ठाले उम्मेदवारी घोषणा गरेकी छन् । होल्याण्डबाट हरि पौडेलले पनि युरोपको क्षेत्रीय संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएन पोर्चुगलका निबर्तमान अध्यक्ष भीम केसी कमलले युरोप सहसंयोजकमा उम्मेदवारी घोषणा गरेका छन् ।

एसियाबाट गोविन्द र आरके, धरम

गोविन्द प्रसाद श्रेष्ठ (रोविन्द)ले जापानबाट एसिया प्यासिफिक संयोजकमा उम्मदेवारीको घोषणा गरेका छन् । गोविन्द एनआरएनए जापानको सदस्य, उपाध्यक्ष, आइसिसि सदस्य हुँदै दुई पटक एसिया प्यासिफिक सहसंयोजक पदमा पुगीसकेका व्यक्ति हुन् ।

त्यस्तै एसियाबाट मध्यपुर्व संयोजकमा कतारबाट आरके शर्माले उम्मेदवारी दिने बताएका छन् । शर्मा कतारका व्यवसायी, समाजसेवी हुन्। यस्तै साउदी अरबका धरम केसीले पनि संयोजक पदमा उम्मेदवारी दिने बताएका छन् । उनी विभिन्न टास्क फोर्समा काम गरिसकेका व्यक्ति हुन् । एनआरएनका वर्तमान प्रवक्ता रञ्जु थापाले अहिलेसम्म आफ्नो उम्मेदवारी घोषणा गरिसकेकी छैनन् ।

सम्मेलनमा विश्वभरबाट एक हजार बढी सम्मेलन प्रतिनिधि सहभागी हुँदैछन् । यस पटकको सम्मेलन राजधानी स्थित होटेल हयातमा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *