लाल सलाम ! आजबाट म एमालेको सिपाही हुँ

काठमाडौँ,असोज २० । नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल अब नेता बनेर समाजलाई अघि बढाउने भएका छन् ।

शुक्रवार एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल निकै हर्षित देखिन्थे । असोज १७ गते देखि एमालेमा छुट्टै खालको रङ पैदा हुँदै गर्दा शुक्रवारको माहोल पनि कम थिएन । ओली र सिलवाल दुवैका सामुन्ने उपस्थित भएका सयौँ कार्यकर्ताहरू खासखुस गरेका देखिन्थे । कार्यक्रम थियो, पार्टी प्रवेश ।

एमाले कार्यकर्ताहरू जम्मा भएलगत्तै अध्यक्ष ओलीले बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा सिलवाललाई खादा ओढाउँदै पार्टीमा स्वागत गरे । सिलवालसँगै पार्टी छाडेर आउनेहरुको पनि घुइँचो नै देखिन्थ्यो । उनीहरूलाई पनि सिलवाल जसरी नै टीका लगाएर ओलीले पार्टी प्रवेश गराए । तर, पार्टी् प्रवेश कार्यक्रममा सबैभन्दा बढी नजर सिलवालमाथि नै थियो । उपस्थित कार्यकर्ताको सिलवालपछि चर्चित गायक सञ्जय श्रेष्ठमाथि नजर लगाएको देखिन्थ्यो । सम्भवतः प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक उम्मेदवार बनाएर उनलाई नेता बनाउने बताइन्छ । त्यसपछि आइजीपी बन्न तगारो हाल्नेहरुले प्रणाम टक्राउनु पर्दैन  ?

पार्टी प्रवेश कार्यक्रममा बोल्नुपूर्व सिलवालले सबैलाई चकित बनाए । ‘लाल सलाम ’ भन्दै उनले आफ्नो भाषणलाई अघि बढाए । त्यसपछि लेनिनको उक्ति सुनाउँदै उनले भने, ‘यदि तिमीले राजनीतिलाई हस्तक्षेप गरेनौं भने एक दिन तिमीलाई राजनीतिले हस्तक्षेप गर्ने छ ।’ आफू राजनीतिबाट पीडित सिपाही भएको पनि बताए । ‘आज सबैका सामु भन्छु –मलाई राजनीतिले हस्तक्षेप गरेपछि मैले राजनीतिमा हस्तक्षेप गर्नैपर्ने भयो । त्यसैले उपयुक्त ठाउँ एमाले बाहेक अरू देखिँन । त्यसैले आज यहाँ आएको छु । तपाईहरु सबैको साथ सहयोगको अपेक्षा गरेको छु ।’

सिलवालले भाषण अघि बढाउनुपूर्व लेनिनको उक्ति वाचन गर्न नपाउँदै एमाले कार्यकर्ताहरूले ताली बजाएर झन् उत्साह प्रदान गरे । त्यसपछि झनै उत्साहित देखिएका उनले आफ्नो भाषणलाई निरन्तरता दिए ‘म हिजोसम्म राज्यको बफादार सिपाही थिएँ, आजबाट एमालेको इमान्दार सिपाही भएँ । यो देशको सेवा गर्ने उत्साह अझ बढेको छ । ममाथि अन्याय भयो । मेरो अस्थित्वमाथि प्रहार भयो । आश्चर्य मान्नुपर्दैन न्याय र अस्थित्व जोगाउन एमाले प्रवेश गरेको हुँ । एमाले बाहेक अन्य पार्टीबाट न्याय र नागरिकको अस्थित्व जोगाउन सम्भव छैन ।’

आफ्नो भाषणलाई एक छिन रोकाउँदै सिलवालले आईजीपी नियुक्ति प्रकरणलाई सम्झिए । तर, काँग्रेस सभापति शेरवहादुर देउवाको खेदो गरेनन् तर केही व्यक्ति र राजनीतिक पार्टी आफूलाई लोकतन्त्रको मसिहाको नाम जपेर अलोकतान्त्रिक अनुहार देखाउँने गरेको प्रस्ट पारे । आइजीपी बन्न तत्कालीन प्रधानमन्त्री प्रचण्ड पनि तगारो अर्का नाइके हुन् । तर,सिलवालले कसैप्रति रोस प्रकट गरेनन् । बरु, उनले एमाले– माओवादी एकता प्रक्रियालाई इतिहासकै ठुलो घटना भन्दै यही बेला एमाले प्रवेश गर्न पाएकोमा गर्व भएको महसुस गरेको बताए । ‘संयोगबस म यही प्रक्रियाको हिस्सा बन्न पाउँदा खुसी छु । यो ऐतिहासिक घटना हो । यो प्रक्रियाका नायक दुवै पार्टीका अध्यक्षहरु युग पुरुषका रूपमा भविष्यमा रहनुहुनेछ । अर्काथरीले पनि गठबन्धन गर्ने भन्न थालेका छन्, त्यो हुन्छ भने पनि ठिकै छ ।’

यससँगै उनलाई सम्भवत : आगामी प्रतिनिधिसभाको चुनामा ललितपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाइने चर्चा चल्न थालेको छ । एमालेमा प्रवेश गराएसँगै अध्यक्ष ओलीले अब सिलवाललाई महत्त्वपूर्ण जिम्मेवारी दिने सङ्केत देखाए ।

आइजीपी उहाँ नै हो

सिलवालमाथि अन्याय गर्नेलाई देखाउने भन्दै ओलीले सिलवालको व्यक्तित्वका धेरै पाटा रहेको औल्याए,‘आइजीपी उहाँ नै हो तर हुन दिइएन । आईजीपी, बन्न नदिइएको एआईजी र रोकेर राखिएको डीआइजी पनि हो । अहिले केही नभनौं हेर्दै जाऊँ ।’

ओलीले सिलवालमाथि अन्याय भएको बताउँदै एमालेले अब न्याय दिलाउँने समेत बताए । एउटा डीआइजीले न्याय नपाउने र घुस खान्न भन्ने प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने बेथितिपूर्ण अवस्थाबाट मुलुकलाई मुक्त गर्न सिलवालझै अन्य पीडितहरु एमालेमा आइसकेको पनि उनले सुनाए ।

नयाँ करिअरको थालनी 

नेपाल प्रहरीको आइजीपी बन्न कसरत गर्दा डिआइजी जयबहादुर चन्दलाई अघि सारेर छेकिएको थियो । त्यसपछि उनलाई नै प्रहरी प्रमुख बनाउँन अध्यक्ष ओलीले काँध हालेका थिए । तर, सफल भएनन् । अन्त्यमा न आइजीपी सिलवाल नै भए न चन्द नै । अन्त्यमा प्रकाश अर्यालले प्रहरी प्रमुखको फुली लगाए ।

यसअघि नै सिलवालले आफू नै आइजीपी हुन पाऊँ भनी सर्वाेच्चमा मुद्दा दायर गरेका थिए । तर, सर्वोच्च अदालतबाट आइजिपी प्रकरणको मुद्दा पनि हारे । मुद्दा हारेसँगै डीआइजीबाट राजीनामा दिएका नवराज सिलवाल शुक्रवार एमाले काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमबाट एमालेमा प्रवेश प्रवेश गरे । तर, उनको राजीनामा अझै स्वीकृत भएको छैन ।

शुक्रवार पार्टी प्रवेश गरेसँगै पूर्व आईजीपी सिलवालले अब फेरि राजनीतिमा आफ्नो नयाँ करिअरको थालनी गर्ने संकेत गरेका छन् । हिजो बिहीबार बिहान कोजाग्रत पूणिर्माको अवसरमा पार्टी प्रवेश कार्यक्रम र दसैँको अन्तिम आशिक थाप्न सिलवाल ओली निवास बालकोट पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *