‘आई लभ यु’ भनेर प्रस्ताव अाउँदा हैरान

नेपाल आइडल विजेता भएको कति समयपछि आमाबुवासँग कुरा भयो ?

मैले लगभग एक घन्टापछि फोन गरेर ‘बाबा मैले नेपाल आइडल जितेँ’ भनेर सुनाएँ । उहाँ भावविभोर भएर मलाई आशीर्वाद दिनुभयो । सायद त्यो बेला उहाँले खुसीको आँसु थाम्न सक्न भएन।

तपाईँले सुनाउँदासम्म पनि थाहा थिएन घरमा ?

थाहा त भइसकेको रहेछ । दिदीले सुनाइ सक्नुभएको रहेछ । तापनि मैले नै भनेपछि, मेरो आवाज सुनेपछि उहाँ ढुक्क हुनुभयो । अझ बढी खुसी हुनुभयो।

अहिले पुराना दिन सम्झँदा कस्तो लाग्छ ?

मेरो आँखा रसाउँछ । घरको अवस्था दुःखदायी थियो । बाबाआमा ज्यामी काम गर्नुहुन्थ्यो । कति दुःखले हामीलाई हुकाउनुभयो । पढाउनुभयो । ती दिनहरू साँच्चिकै पीडादायी थिए । अहिले त बाबा नगरपालिकामा काम गर्नुहुन्छ । पहिलेजस्तो दुःख नै त छैन । तापनि हुनु र सुधार्नुपर्ने कुरा धेरै छन् ।

धादिङबाट पोखरा गएपछिका प्रारम्भिक दिनहरूको याद छ ?

त्यो बेलाको दुःख सम्झिँदा मेरो बोली नै रोकिन्छ । चिनेजानेको कोही थिएनन् । न बस्ने ठाउँ, न काम गर्ने थलो थियो । बाबाआमाले गरेको सङ्घर्षकै कारण होला अहिले सबैको साथ र माया मिलेको छ ।

अब त दुःखका दिन गएजस्तो लाग्छ होला ?

यतिधेरै मान्छेको साथ र माया पाएर म नेपाल आइडल बनेँ । अब साँच्चिकै दुःखका दिन जान्छ भन्ने लागेको छ । तर त्यसका लागि अझै अवसरको खाँचो छ । गर्नु धेरै छ ।

यस्तो प्रतियोगिताका कतिपय विजेता त त्यत्तिकै हराएका छन् नि ?

म त्यो चाहन्न । जसरी हुन्छ म नेपाली साङ्गीतिक क्षेत्रमा केही न केही गर्न चाहन्छु । अब पनि मैले केही गर्न सकिनँ भने त यो जितको अर्थ नै के रहन्छ र ?

घरमा विवाहको कुरा चल्छ ?

विवाहको कुरा भएको छैन । मेरा दाइहरूकै विवाह भएको छैन । म भर्खर २० वर्ष पुग्दैछु । अहिले नै विवाह गरेर के गर्नु र घरको अवस्था पनि हेर्नुपर्छ ।

विवाहको योजना त होला नि ?

म अब करियरमा फोकस हुन्छु । सबैभन्दा पहिले बाबा आमालाई सुखका साथ पाल्ने आधार बनाएपछि मात्रै विवाहका बारेमा सोच्नेछु ।

कस्तो जीवनसाथी होस् भन्ने लाग्छ ?

मलाई माया गरोस् । व्यावहारिक होस् । खास गरी बाबाआमालाई राम्रो हेरचार गरोस् । उसको कारणले घरमा खुसी आओस् । सानोतिनो कुरामा माइन्ड नगर्ने ठुलो मन भएको केटी होस् ।

स्कुल कलेज पढ्दा केटीहरूले कत्तिको प्रस्ताव राख्थे ?

राख्थे । चिठी लेख्थे । तर म त्यसको महत्त्व नै बुझ्दिनथेँ । अहिले सम्झिँदा उनीहरूको भावनाको सायद मैले कदर गर्न सकिनछु जस्तो लाग्छ ।

अहिले चाहिँ प्रेम प्रस्ताव कत्तिको आउँछ ?

दैनिक दर्जनभन्दा बढीको प्रस्ताव आउँछ । सुरुमा ‘आई लभ युवर भ्वाइस’ भन्छ । म ‘थ्यांक्यु’ भन्छु । फेरि ‘आई लभ यु टु’पनि भन्छन् । म फेरि ‘थ्यांक्यु’भन्छु । फेरि ‘आई रियली लभ यु’ भनेर अनेक शैलीमा प्रस्ताव आउँछ ।

कसै न कसैले त मन लोभ्याएको होला नि ?

मेरो ध्यान त्यतातिर छैन ।

तपाईँले यति धेरै भोट पाउँला भन्ने कल्पना गर्नुभएको थियो ?

मैले प्राप्त गरेको भोटले म नै आश्चर्यमा छु । दर्शकको यति धेरै माया र साथले मलाई ठुलो जिम्मेवारी मिलेको छ । म उहाँहरूलाई कुनै पनि हालतमा निराश बनाउन चाहन्न ।

अबको सपना र योजना ?

अब आफ्नै गीत गाएर चिनिने चुनौती र अवसर मिलेको छ । मेरो सपना र लक्ष्य भनेकै राम्रो गायक बनौं, सारा नेपालीको आइडल बन्न सकौं भन्ने हो । त्यो लक्ष्यप्रति म केन्द्रित छु ।

तपाईँलाई कसरी गीतसंगीतप्रति यतिधेरै रुचि भयो ?

दिदी सानैदेखि गाउनुहुन्थ्यो । घरमा क्यासेट बजाएर उहाँले गाएको सुन्दा र हेर्दाहेर्दा ममा सङ्गीतप्रति यति रुचि जाग्यो कि मैले यो क्षेत्रभन्दा अरू सोच्नै छाडेँ ।

नेपाल आइडलमा भाग लिनुभन्दा अगाडि गाएर बाँच्न सकिन्छ जस्तो लाग्थ्यो ?

गाउने अवसरका लागि धेरै मेहनत गरेँ । कतिपय कार्यक्रममा गाउँछु भन्दा कि त लास्टमा राखिदिने कि त सिधै हुँदैन भनिदिन्थे । म निराश हुन्थेँ ।

त्यो बेलाको कुनै अविस्मरणीय क्षण ?

एक पटक एउटा कार्यक्रममा मैले आफ्नो ब्यान्डसँग गाउने अवसर दिन अनुरोध गरेँ । गीत नै नसुनी हुँदैन भनिदियो । त्यसपछि मनमा यस्तो ईख बस्यो केही गरेर देखाउँछु भनेर रातदिन रियाज गर्न थालेँ । भाग्य पनि होला त्यही बेला नेपाल आइडल सुरु भयो । भाग लिएँ । यहाँसम्म आइपुगेँ ।

गीतसंगीतमा लाग्दा बाबाआमाले कुनै समय गाली गर्नुभएको छ ?

सुरुमा गाली गर्नुहुन्थ्यो । घरमा दुःख थियो । खेलकुदमा पनि लागेँ । तेक्वान्दोमा ब्ल्याक बेल्ट लिएँ । सिकाउँथेँ पनि । मैले केही गर्ने धेरै प्रयास गरेँ तर भएन । त्यस्तो बेला गाली पाउनु स्वाभाविकै थियो ।

गाएर कमाएको याद छ ?

मलाई भेनाले पोखराको एउटा दोहोरी साँझमा गाउने काम मिलाई दिनुभएको थियो । तलब महिनाको पाँच हजार थियो । टिप्स अलिअलि आउँथ्यो । मैले निकै समय काम गरेँ ।

पहिलो महिनाको कमाइ कसरी खर्च गर्नुभयो ?

बाबा आमाको हातमा राखिदिएँ । खुसी हुनुभयो । अझ राम्रो गर भन्नुभयो । मलाई हौसला दिन तिमी ठुलो गायक बन्छौं बाबु मेहनत गर्नु भन्नुहुन्थ्यो । बाबाआमाको त्यो वचनले मलाई यति उत्साहित बनाउँथ्यो ।

प्रस्तुति :अशोकप्यासी रार्इ/ अन्नपूर्ण पोस्ट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *