माओवादी, एमाले र नयाँ शक्ति विच चुुनावी एकता

असोज १७, काठमाडौं । नेपाली राजनीतिमा बाम पार्टीहरुले आज ऐतिहासिक निर्णय गरेका छन् । नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी गठवन्धनदेखि पार्टी एकता गरी ‘एकीकृत कम्युनिस्ट पार्टी’ गठन गर्ने ऐतिहासिक घोषणा छ बुँदे सहमति घोषणा गरेका छन् ।

मंगलबार अपरान्ह राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रमका बीच यी तीन पार्टीले चुनावी एकता सँगै कार्यगत एकताको र त्यसपछि पार्टी एकता गर्ने घोषणा गरेका हुन् । चुनावी तालमेल संगै त्यसपछि हुने पार्टी एकता सम्बन्धी सहमतिको संयुक्त दस्तावेजमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नया शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् । तीन दलबीचको चुनावी तालमेल सहितको पार्टी एकीकरणका लागि गरिएको सहमति पत्र सरकारका गृहमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता जनाद्र्धन शर्माले पढेर सुनाएका थिए ।

फरक फरक पृष्ठभुमिका साथ अघि बढेका दलहरु नेपालको संविधानको रक्षा र प्रयोगको क्रममा देशको आवश्यकता अनुसार विकास तथा सामाजिक आर्थिक तथा सांस्कृतिक रुपान्तरण गर्दै समाजवादका साझा अवधारणा तय गर्ने निष्कर्षका साथ पार्टी एकिकरणमा पुगेको सहमति पत्रमा उल्लेख छ । गृहमन्त्री शर्माले सहमति पत्र पढेर सुनाई सकेपछि तीनवटै पार्टीका शिर्ष नेताले हस्ताक्षर गरी हात उठाउदै पार्टी एकता र सहकार्यका लागि प्रतिवद्धता जनाएका थिए ।

के नेपालमा बाम एकता सफल छ ?

नेपाली राजनीतिमा बाम पार्टीहरुको एकता सफल भएको इतिहास छैन । पञ्चायतकालदेखि २०४६ साल यताका राजनीतिक इतिहासमा बाम पार्टीहरु विच एकता भन्दा पनि फुट बढि छ । नेपाल कम्युनिस्ट पाटीका संस्थापक पुष्पलालले कोरेको जनवादी क्रान्तिको रुपरेखालाई त्यसपछिका नेतृत्वले एउटै झण्डामुनीबाट स्थापित गराउन सकेनन् । ०४७ सालको संविधानलाई जलाउँदै १० वर्षसम्म शशष्त्र संघर्ष गरेको नेकपा माओवादीले ०६४ सालको संविधानसभा निर्वाचनबाट ठूलो दल बन्न सफल भएपनि त्यसपछिका दिनहरुमा सत्ताको लुछाचुँडीमा पार्टीनै तहसनहस भयो । ०४६ यता धेरै पटक बाम पार्टीहरुको एकता र फुटले बाम शक्तिलाई कमजोर पारेको इतिहास छ ।
६७ वर्ष यता बाम शक्तिहरु फुट्दै जुट्दै गएको इतिहास हेर्दा अहिलेको बाम गठबन्धनले स्थायित्व लिन्छ भन्न सकिने अवस्था छैन । फुट र गुटकाे सृंखलाकाे इतिहासमा उभिएकाे बाम राजनीतिकाे याे गठबन्धन सफल हुन्छ भनेर ठाेकूवा गर्न सक्ने अवस्था छैन । 

आगामी मंसिरमा सम्पन्न हुने प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनमा नयाँ शक्ति र अन्य दललाई आपसी सहमतिमा निर्वाचन क्षेत्र निर्धारण गर्ने र बाँकी सिटमा एमालेको ६० र माओवादीको ४० प्रतिशत हुने गरी तालमेल गर्ने सहमति भएको छ । तीन पार्टीबीच आगामी चुनाव लगतै एउटै कम्युनिष्ट पार्टी बनाउने सहमति अनुसार एमालेबाट चार, माओवादीबाट तीन र नयाँ शक्तिबाट एक सदस्य रहने गरि ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गरिएको छ । पार्टी एकीकरणको संयोजन समितिको प्रमुख नेतामा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष दाहाललाई राखिएको छ । यो समितिलाई पार्टी एकिकरणको खाका, कार्ययोजना तथा सहमति हुन बाकी विषयमा सहमति जुनाउने जिम्मेवारी दिईएको छ ।

पार्टीको निति, विधान र घोषणा पत्र तयार पार्न दस्तावेज समिति गठन गर्ने, निर्वाचन पश्चात विधिवत पार्टी एकता घोषणा गर्ने तथा पार्टी एकताको आधार सुदृढ गर्न सार्वजनिकरुपमा एक अर्काप्रति आलोचना तथा टिकाटिप्पणी नगर्ने सहमति पनि तीन दलबीच भएको भएको छ । तीन दलले अन्य कम्युनिष्ट तथा वामपन्थी पार्टीलाई एकीकरणमा आउन र अन्य दललाई चुनावी तालमेलमा सहभागि हुन आहृवान गरेका छन् । साथै नेताहरुले पार्टी एकिकरण कसैका विरुद्ध नभई नेपाल र नेपालीको इच्छा आवश्यकता अनुसार भएको स्पष्ट पारेका छन् ।

मंगलबार बिहान ललितपुरमा भएको शिर्ष नेताको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा एमाले र माओवादीले चुनावी तालमेल गर्दै पार्टी एकता गर्ने सहमति गरेका थिए । त्यस लगत्तै डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसंगको गहन छलफलपछि अन्तिम समयमा तीन पार्टीबीच चुनावी तालमेल र एकता भएको हो ।

वाम गठवन्धन तथा पार्टी एकता घोषणा सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओेवादीसँग भएको चुनावी तालमेल र एकता कसैविरूद्ध नभएको बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै ओलीले भने, ‘हाम्रो चुनावी तालमेल कसैका विरुद्धमा छैन । नेपाल र नेपालीको पक्षमा छ । यसै दिशामा अगाडि बढ्नेछौं ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्थिरताका लागि वामपन्थी पार्टीहरुबीच गठवन्धन भएको बताए । एमाले र माओवादीबीच चुनावी तालमेल तथा पार्टी एकता घोषणासभामा बोल्दै अध्यक्ष दाहालले दुई पार्टीको सहमति जनताको पक्षमा रहेकाले कोही भ्रमित हुन नपर्ने जिकिर गरे । पार्टी एकताको प्रयास र चुनावी तालमेल कसैका विरुद्ध नभएको उनको धारणा थियो ।

चुनावी तालमेल र पार्टी एकताको प्रयास समाजवादको नयाँ मोडल तयार पार्ने उद्देश्यमा केन्द्रित रहेको उनको भनाइ थियो । दुई दलबीचको सहमति कांग्रेसविरुद्ध नभएको पनि उनले जिकिर गरेका थिए ।

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सहमति ऐतिहासिक भएको बताउँदै देशको स्वाधिनता र सार्वभौमसत्ताको रक्षा गर्दै देशलाई २१ औं शताब्दी अनुसार विकास गर्न यो सहमति आवश्यक रहेको बताएका छन् ।

एमाले, माअाेवादी र नयाँशक्ति  विचकाे चुनावी एकता पछि अरूण तेस्राे जल विद्युत अायाेजनाकाे उद्घाटनका लागि भारतिय प्रधानमन्त्रि नरेन्द्र माेदि नेपाल अाउने भएका छन् । माेदिकाे नेपाल अागमन र बाम एकता एकै पटक हुनुमा कतै भारतिय चलखेल त छैन भन्ने प्नश्न उठेकाे छ ।

कांग्रेस भन्छ बाम एकताः अनिष्ठको संकेत

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बाम एकताले देश पोलराइजेशन तिर जान लागेको भन्दै निर्वाचनकाे मुखमा भएकाे एकताले देशमा अनिष्ठको संकेत गरेको बताए । उनले बाम एकता भएपछि लोकतन्त्रिक पक्षधरको एकता आवश्यक्ता भएको औल्याए ।

नेपाली कांग्रेसका नेता महेश आचार्यले तीन पार्टी विचको एकताले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा प्रश्न चिन्ह उठेको बताए । उनले बाम एकताले लोकतान्त्रिक पक्षधरलाई पनि एकता गर्न दवाव दिएको बताए ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीद्वारा मंगलबार सभागृहमा जारी सहमतिपत्रको दस्तावेजः

२००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टी वर्ग संघर्ष, विचाराधारात्मक संघर्ष र व्यवहारिक प्रयोगका अनेक शृंखला पार गर्दै आजको अवस्थामा आइपुगेको छ । नेकपा एमाले र माओवादी केन्द्रको नीतिगत र व्यवहारिक नेतृत्वमा राजतन्त्रको अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिक समावेशीता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समाजवाद उन्मुख संविधान निर्माण गर्न सम्भव भएको छ ।

फरक–फरक पृष्ठभूमिका साथ अघि बढेका हामी राष्ट्रिय सार्वभौकिता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित एवं स्वाभिमान रक्षा गर्दै संविधानसभाबाट पारित नेपालको संविधान रक्षा र प्रयोग क्रममा देश र जनताको आवश्यकताअनुसार परिमार्जन र विकास गर्दै लोकतान्त्रिक प्रणाली र शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट सामाजिक, आर्थिक तथा सांस्कृतिक रुपान्तरण गर्ने र समृद्ध, समुन्नत एवं न्यायपूर्ण समाज निर्माण गर्दै समाजवादका आधारहरू तयार गर्ने साझा निष्कर्षमा आइपुगेका छौं ।

मजदुर, किसान, श्रमजीवी, दलित, महिला, जनजाति, मधेसी, थारु, मुस्लिम, उत्पीडित समुदाय र पीछडिएका क्षेत्रको जनताको अधिकार र हितका पक्षमा संवैधानिक, कानुनी र व्यवहारिक रूपमा सम्बोधन गर्दै अघि बढ्न प्रतिबद्ध छौं ।

नेपाली जनताले एकताबद्ध कम्युनिस्ट पार्टीको नेतृत्वमा मुलुक अघि बढेको देख्न चाहेका छन् । हाम्रो पृष्ठभूमिका र जनताको चाहना र राष्ट्रको आवश्यकताले पनि हामीलाई एकताबद्ध हुन र एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्न निर्देशित गरिरहेका छन् । तसर्थ हाम्रा आफ्नै अनुभव र जनता एवं राष्ट्रको आवश्यकतालाई हृदयंगम गर्दै नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालका बीचमा एकीकरण गरी एउटै कम्युनिस्ट पार्टी निर्माण गर्न सहमत भएका छौं । हामी पार्टी एकीकरण गर्ने उद्देश्यका साथ तत्काल निम्नानुसार गर्ने निष्कर्षमा पुगेका छौं ।

१) नेकपा एमाले, माओवादी केन्द्र र नयाँशक्ति पार्टी नेपालका बीच एकीकरण गरी एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने उद्देश्यका साथ हाललाई आठ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्ने । उक्त समितिमा नेकपा एमालेको तर्फबाट चार जना, माओवादी केन्द्रका तर्फबाट तीन जना, नयाँ शक्ति पार्टीका तर्फबाट एक जना नेता रहने । नेकपा एमालेका अध्यक्ष र माओवादी केन्द्रका अध्यक्ष उक्त समितिमा प्रमुख नेताको भूमिका रहने । पार्टी एकता संयोजन समितिका निर्णयहरू सहमतिका आधारमा गर्ने । पार्टी एकता र संगठनात्मक एकताको विस्तृत खाका र कार्ययोजना पार्टी एकता संयोजन समितिले तयार पार्ने । सहमति हुन बाँकी विषयहरूमा आपसी छलफलद्वारा सहमति कायम गरिनेछ । वैचारिक छलफल तथा बहसद्वारा नेपाली क्रान्तिको सिद्धान्तलाई विकसित गर्दै लगिनेछ ।

२) एकीकृत पार्टीको नीति तथा कार्यक्रमको घोषणापत्र र विधान तयार गर्न तीनवटै पार्टीका प्रतिनिधि सम्मिलित दस्तावेज मस्यौदा समिति गठन गर्ने । प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपश्चात् विधिवत पार्टी एकता सम्पन्न गर्ने ।

३) पार्टी एकीकरणको वैचारित र संगठनात्मक काम पूरा नभएसम्म आफ्ना आफ्ना विचार व्यक्त गर्न र स्वस्थ बहस गर्न सकिने । तर, पार्टी एकीकरणको आधार सुदृढ बनाउन एकअर्काप्रति सार्वजनिक रूपमा नकारात्मक टिप्पणी र आलोचना नगर्ने । पार्टी एकीकरणको यस महान उद्देश्यअनुरुप अघि बढ्न आफ्नो आफ्नो पार्टी पंक्तिलाई आह्वान गर्ने । छरिएर रहेका सबै कम्युनिस्ट तथा वामपन्थी पार्टी तथा समूहहरूलाई एकीकरणको यही प्रवाहमा समाहित हुन अपिल गर्ने ।

४) आगामी मंसिरमा सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्षतर्फका निर्वाचनहरूमा नयाँ शक्ति पार्टी नेपाल र अन्य पार्टी एवं समूहका लागि आपसी सहमतिमा निर्वाचन क्षेत्र निर्धारण गरी नेकपा एमालेका ६० प्रतिशत र माओवादी केन्द्रका ४० प्रतिशत उम्मेदवार हुने गरी आपसी तालमेल गर्ने ।

५) उक्त निर्वाचनमा साझा घोषणापत्रका आधारमा सहभागी हुने । यसका लागि तीनै पार्टीका प्रतिनिधिहरू सम्मिलित प्रतिनिधिसभा निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गर्ने । प्रदेश तहमा पनि संयुक्त घोषणापत्र तयार गर्न सकिने ।

६) आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा सहकार्य तथा तालमेलका लागि सम्पूर्ण लोकतान्त्रिक, प्रगतिशील तथा देशभक्त शक्तिहरूलाई आह्वान गर्ने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *