रामेछापमा करेण्ट लागेर २ जनाको मृत्यु, १ दर्जन बढि घाईते

रामेछाप, असोज १५ । रामेछापको दोरम्बा गाउँपालिका वडा नम्बर ६ लखनपुरमा करेण्ट लागेर एकै घरका २ जनाको मृत्यु भएको छ । एक दर्जन बढि घाईते भएका छन् । मृत्यु हुनेमा गाउँपालिका–६ का बलराम भनेर चिनिने लालबहादुर गौतम र टिकामाया गौतम रहेका छन् ।

निहरु नाताले आमा छोरा हुन् । विहान मोवाईल चार्ज गर्ने क्रममा विद्युत प्रसारणको मेन लाइनमा एक्कासी हाइभोल्टेज विद्युत प्रवाह भएपछि टिकामायालाई करेन्ट लागेको थियो । आमालाई करेन्ट लागेपछि जोगाउन गएका छोरालाई पनि करेन्ट लागेको हो । करेण्ट लागेपछि अचेत बनेका उनीहरुलाई नेपाली सेनाको हेलिकप्टेर मार्फत तत्काल उद्धार गरि काठमाडौंको ग्राण्डी अस्पताल पु¥याईएको थियो । उपचारको क्रममा आमाछोराको मृत्यु भएको त्यहाँका वडाअध्यक्ष अनुप गजुरेलले जानकारी दिनुभयो ।

यस्तै करेण्ट लागेर गम्भिर घाईते भएका सोहि ठाउँका ज्ञानबहादुर बस्नेतको अवस्था सुधारोन्मुख रहेको बताईएको छ । उहाँको काठमाडौंको ग्राण्डी अस्पतालमै उपचार भईरहेको छ भने अन्य घाईतेको स्थानीय स्वास्थ्य संस्थामै उपचार भईरहेको छ । लामसाँघुबाट ल्याइएको मेन प्रसारण लाइनका पोलहरु धेरैजसो काठको रहेको र कम उचाइको कारण समान्य हावा लाग्दा पनि तारहरु रुखको हाँगाले छुने भएकाले विद्युत प्रसारण लाइनमा गडबढी भइरहने स्थानीयको भनाई छ ।

विद्युत प्रसारणको मेन लाइनमा प्रयोग गरिएको काठको पोलहरु जमिनमुनी गाडिएको भाग कुहिएपछि, कुहिएको भागलाई फालिदिएर त्यही बाँकी रहेको भागलाई पोलको रुपमा प्रयोग गर्दा पोलहरु झनझन होचो हुँदै गइरहेको वडाध्यक्ष गजुरेलले बताउनुभयो । समस्याको बारेमा सम्बन्धित निकायमा पटक–पटक कुरा राख्दा पनि वास्ता नगरेको स्थानीयको गुनासो छ ।

त्यहाँको विद्युत प्रसारण लाइनका कयौँ पोलहरु जोखिमपूर्ण अवस्थामा रहेका छन् । लामसाँघु हुँदै आएको त्यस विद्युत प्रसारण लाइनमा प्रयोग गरिएको पोल र तारको अवस्थामा सुधार नगर्ने हो भने कुनै पनि बेला त्यस क्षेत्रको बस्तीनै आगलागीको जोखिममा पर्न सक्ने खतरा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *