दैनिक दुई लाख यात्रु बाहिरिँदै, १२ लाखले काठमाडौँ छाडिसके

काठमाडौं, असोज १० । मंगलबारदेखि निरन्तर तीन दिन (१०–१२ गतेसम्म) राजमार्ग र स्थानीय सडक वर्षभरमै सबैभन्दा बढी व्यस्त हुँदै छन् ।

यातायात व्यवसायीका अनुसार यो अवधिमा ६ लाख मानिस उपत्यकाबाट बाहिरिँदै छन् । ‘काठमाडौंमा पेसा–व्यवसाय गर्नेदेखि अधिकांश विद्यालय, क्याम्पस बिदा हुने भएकाले यो वर्षको दसैँमा घर जाने ‘पिक आवर’ सुरु हुँदै छ,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने ।

बिहीबारसम्म सबै यात्रुको यात्रा सफल बनाउन सकेको खण्डमा यो वर्षको दसैँ सफल भएको मानिने व्यवसायीको भनाइ छ । ‘त्यसका लागि यात्रुबसको व्यवस्थापनमा खटिरहेका छौँ,’ सिटौलाले भने । मंगलबारसम्म काठमाडौं उपत्यकाबाट बाहिरिएकामध्ये ११ लाख गन्तव्य (घर) मा पुगिसकेको र करिब १ लाख मानिस यात्रारत रहेको महासंघले जानकारी दिएको छ ।

यात्रुबाहक बस तथा अन्य सवारीसाधन बिहान २ बजेदेखि बेलुका ६ बजेसम्म गन्तव्यतर्फ लागिरहेका छन् । ग्रामीण क्षेत्रतर्फ गएका सवारीसाधन भने सडकको दुरावस्थाको कारण समयमा फर्कन नसक्दा ढिला भइरहेको यातायात व्यवसायीले जानकारी दिएका छन् । राजमार्गमा भने तुलनात्मक रूपमा यात्रा सहज रहेको छ ।

ग्रामीण भेगको यात्रा कष्टकर, ठूला सहर र सदरमुकाममा सहज
यो वर्ष देशभरका अधिकांश ग्रामीण भेगमा सडकको दुरावस्थाको कारण यात्रुलाई सास्ती भइरहेको छ । कतिपय स्थानीय सडक गाडी गुडाउनसमेत कठिन हुँदा दसैँ, तिहार तथा छठलगायतका चाड मनाउन घर हिँडेकालाई समयमै गन्तव्यमा पुग्न समस्या भइरहेको विभिन्न गन्तव्यमा यात्रारत र घर पुगेका यात्रुको गुनासो छ । यातायात व्यवसायीले पनि मुख्य राजमार्ग छोडेर स्थानीय सडकलाई छुनेबित्तिकै सडक समस्या बनेको बताएका छन् । ‘यसको कारण लामो दूरीका सवारीसाधन गन्तव्यसम्म पुग्न समस्या परिरहेको छ भने फर्केर आउन पनि ढिलाइ भइरहेको छ,’ महासंघका महासचिव सिटौलाले भने । समयमा बस छुट्ने वा गन्तव्यमा नपुग्दा वृद्धा, बालबालिका, सुत्केरी, बिरामीलगायतका यात्रुको बिचल्ली हुने गरेको छ ।

यात्रा गर्न सहज 

काठमाडौंदेखि अधिकांश जिल्ला सदरमुकाम, पोखरा, नेपालगन्ज, बुटवल, कैलाली, दीपायल, विराटनगर, हेटौँडा, मन्थली, सिन्धुली, विराटनगर, इलाम, जनकपुरलगायत सहरी क्षेत्र ।

यात्रा गर्न असहज 

काठमाडौंदेखि अधिकांश जिल्लाका सदरमुकाम र सहरी क्षेत्रबाहेकका ग्रामीण क्षेत्र, जोमसोम, जुम्ला, अर्घाखाँची, नुवाकोट, खोटाङ, सोलुखुम्बु, जाजरकोट, संखुवासभालगायत ।

स्तरोन्नतिको अभावमा स्थानीय सडक समस्यामा
अहिलेसम्म ५७ हजार ९९७ किलोमिटर (किमि) ग्रामीण सडक निर्माणको चरणमा छ । यस सडकमध्ये जम्मा २ हजार ४ किलोमिटर सडक मात्र कालोपत्रे गरिएको छ । यो भनेको कुल स्थानीय सडकको ४ प्रतिशत मात्र हो । यसकारण अधिकांश सडक अझै कालोपत्रे भएका छैनन् । केही ठाउँमा पानी परिरहेको कारण धुले सडकमा समस्या आएको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको भनाइ छ । विभागका महानिर्देशक जीवनकुमार श्रेष्ठ सडकलाई स्तरोन्नति गरेर कालोपत्रे गर्न सकेको खण्डमा बाह्रै महिना यात्रा सहज हुने बताए ।

विभागको पछिल्लो तथ्यांकअनुसार देशभरमा ग्राभेल स्तरमा रहेको स्थानीय सडक १२ हजार ८२३ किलोमिटर रहेको छ । यो कुल स्थानीय सडकको २२ प्रतिशत हो । त्यस्तै, धुले (ट्र्याक मात्र खोलेको) सडक ४२ हजार ८ सय ५ किलोमिटर रहेको छ । यो कुल सडकको ७४ प्रतिशत हो । सडक इन्जिनियर तथा यातायात व्यवसायीका अनुसार यो धुले सडक नै सबैभन्दा समस्याग्रस्त सडक हो ।

काठमाडौंदेखि बाहिरिने सबै सडक–नाका सुचारु
यो वर्ष भाडा तिरेरै अधिकतम् २० लाख मानिस काठमाडौं उपत्यकाबाट बाहिरिने यातायात व्यवस्था विभागले जानकारी दिएको छ । विगतमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने गरेका थिए । त्यस्तै, निजी सवारीसाधनबाट पनि पाँचदेखि सात लाख मानिस उपत्यकाबाट बाहिरिने निश्चितजस्तै भएको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए । तर, चाडपर्वमा बाहिरिने यात्रुको अध्ययनमा आधारित यकिन तथ्यांक विभाग र यातायात व्यवसायी दुवैसँग छैन । बाहिरिने यात्रुमध्ये सबैभन्दा धेरैले कलंकी, नागढुंगा, मुग्लिङ नारायणघाट हुँदै पूर्व–पश्चिम राजमार्ग प्रयोग गर्नेछन् । यसबाहेक राजधानी जोड्ने अरनिको, सिन्धुली–बर्दिबास, पासाङल्हामु राजमार्ग पनि व्यस्त हुनेछन् । सबैभन्दा बढी व्यस्त हुने मुग्लिङ–नारायणघाट खण्डमा चाडपर्वको वेला खाल्डा पुर्ने काम गरिएको छ । यो वर्ष अरनिको राजमार्ग भने अन्यको तुलनामा व्यवस्थित छैन । भारतीय सहयोगमा सडक स्तरोन्नतिको काम भइरहेकाले रोकिँदै जानुपर्दा समयमै नपुग्ने समस्या रहेको अरनिको राजमार्ग बस सञ्चालन गरिरहेका रमेश बस्नेतले जानकारी दिए ।

यात्रुबाहकलाई नारायणघाट–मुग्लिङ सडकमा २४ घन्टा खुला
नजिकिँदो चाडपर्व र मौसममा देखिएको सुधारसँगै यात्रुबाहक र साना सवारीसाधनलाई २४ घन्टा नै छोडिने भएको छ । चाडपर्वमा यात्रुबाहक सवारीसाधनको बढ्दो चाप र ती सवारीलाई प्राथमिकता दिँदै सवारी व्यवस्थापन चुस्त बनाउन मालबाहक ठूला सवारीसाधनलाई भने प्रत्येक दिन राति ८ बजेदेखि १२ बजेसम्म रोकिने भएको छ । ती सवारीसाधनलाई नारायणघाटतर्फबाट आउनेलाई भतेरी जंगल इलाकामा, काठमाडौंतर्फबाट आउनेलाई लेवाटार इलाकामा र पोखरातर्फबाट आउनेलाई आँबुखैरेनीमा रोकिने आयोजना कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *