वीर अस्पताल प्रविधि तर्फ उन्मुख

असोज ८, काठमाडौँ । मुलुककै जेठो सरकारी अस्पताल वीर अस्पताल अत्याधुनिक प्रविधि तर्फ उन्मुख भएको छ । लामो समयसम्म कमजोर व्यवस्थापनका कारण स्वास्थ्य सेवा कमजोर बन्दै गएको अस्पतालका लागि सरकारले गत वर्षदेखि अत्याधुनिक सेवा विस्तार गर्न बजेट विनियोजन गर्न थालेपछि अस्पताल नयाँ टेक्नोलोजी तर्फ गएको हो । अस्पतालले चालु आर्थिक वर्षमा रेडियोथेरापी र इन्ट्राअपरेटिभ न्याभिकेशन सिटी स्क्यानर उपकरण भित्राउने तयारी पुरा गरेको छ ।

टेण्डर मार्फत खरिद प्रक्रियामा गएका यी उपकरण वीरमा करिब तीन–चार महिना भित्र आइपुग्छन् । वीरले खरिद गर्न लागेको इन्ट्राअपरेटिभ न्याभिकेशन सिटी स्क्यानर उपकरण विश्वकै नविनतम सिस्टम युक्त उपकरण हो । जर्मनको ब्रेन ल्यावद्वारा उत्पादित यो उपकरण नेपालमा सरकारी अस्पतालमा वीर अस्पतालले पहिलो पटक भित्र्याउन लागेको हो । यो मेसिनको लागत रु २१ करोड रुपैयाँमा खरिद गर्न लागिएको हो । ब्रेन ल्याव कम्पनीको आधिकारिक विक्रेता बायोमेड इन्टरनेशनलले यो उपकरण नेपालका लागि भनेर विशेष छुटमा भित्र्याएको बताएको छ ।

अब वीरमा सबै प्रकारका उपचार

वीर अस्पतालले सकेसम्म सबै प्रकारका स्वास्थ्य सेवा प्रदान गर्न लागि परेको छ । हाल अस्पतालबाट सामान्यदेखि गम्भीर प्रकारका रोगको उपचार पनि गर्दै आएको छ । यहाँ ब्रेन ट्युमरका एनोरिजन, एनोमाइलिजर ट्युमरलगायतका उपचार भएका छन् । धेरैजसो ट्युमरको उपचार ट्रमा सेन्टरमै हुने गरेको पाइन्छ । भास्कुलर एनोमाइलिजरका उपचार हुन्छन् । मुलुकमा एउटा मात्रै गामा क्यामेरा वीरमा मात्रै छ । सेवाका हिसाबमा वृद्धवृद्धाका लागि छुट्टै ओपिडी, चेष्ट क्लिनिक, एआरटी क्लिनिक, स्टोमा क्लिनिक, डाइबेटिक एण्ड इन्डोक्राइनोलोजी वीरका नमुना सेवा हुन् । बिस्तारै अन्य विषेशज्ञ सेवा विस्तार गर्ने योजना बनाइएको छ । अस्पतालसँग भौतिक पूर्वाधार निर्माण र उपकरण खरिद गर्न आफ्नै बजेट नहुने भएकोले सरकारसँग सहकार्य गरेर हरेक वर्ष नयाँ सेवा विस्तार गर्ने रणनीति बनाएको छ । कार्डियोलोजी, क्याथ ल्याव सेवा विस्तार र प्रभावकारी बनाउन पहल भइरहेको छ ।

फोहर व्यवस्थापनमा नमुना

वीर अस्पतालमा दैनिकरुपमा ठुलो परिमाणमा फोहर निस्कने गर्दछ । यति ठुलो अस्पतालबाट दैनिक रूपमा निस्किने ठुलो परिमाणमा फोहोरको व्यवस्थापनमा चुस्तरुपमा भएको छ । फोहर व्यवस्थापनमा वीर अस्पताल देशकै नमुना अस्पताल हो ।

७० प्रतिशत बिरामीको निःशुल्क उपचार

वीर अस्पताल सरकारको एकमात्र केन्द्रीय अस्पताल भएकोले यहाँ कमजोर आर्थिक अवस्था भएका सर्वसाधारण बिरामीको चाप अत्याधिक रहेको छ । अस्पतालले ती सर्वसाधारणलाई कम शुल्क लिएर गुणस्तरीय सेवा प्रदान गर्न लागि परेको छ । ‘सरकारको केन्द्रीय अस्पताल भएकोले यहाँ दैनिक चार–पाँच हजारको सङ्ख्यामा विरामीहरु स्वास्थ्योपचारका लागि आउँछन् । त्यसमा पनि ७० प्रतिशत बिरामी कमजोर आर्थिक अवस्था भएकाहरु नै आउने गरेकोले त्यस्ता बिरामीलाई कम शुल्क लिएर वा निःशुल्क उपचार गर्ने गरेका छौँ ।’ उपकूलपति डा. गुरुङको दाबी छ ।

वीरका समस्या

साँघुरो क्षेत्रफल

वीर अस्पतालको समस्या र चुनौतीका कुरा गर्दा यहाँको मुख्य समस्या भनेको भोगोलिक क्षेत्रफल हो । हाल अस्पताल क्षेत्र रहेको महाबौद्ध क्षेत्रमा घनाबस्ती छ । पूर्व पट्टी रिङरोेड, उत्तर पश्चिममा घना बस्ती (बजार) भएकोले यसको क्षेत्रफल बढाउन सकिएको छैन । यही समस्यालाई मध्यनजर गर्दै सरकारले वीर अस्पताललाई भक्तपुरमा स्थानान्तरण गर्ने योजना पनि बनाएको छ ।

फिलतो व्यवस्थापन

वीरको अर्को समस्या भनेको फितलो व्यवस्थापन हो । कर्मचारी चिकित्सकहरु आफ्नो काम कर्तव्यबाट विमुख भईदिँदा कतिपय अवस्थामा वीरको सेवा प्रभावित भएको छ । कर्मचारी चिकित्सकहरुमा सेवाको भाव छैन । उनीहरू सरकारी काम कहिले जाला घाम भन्ने मानसिकतामा काम गर्छन् । यो कुरालाई उपकुलपति पनि स्विकार्छन्–‘व्यवस्थापन पक्षमा चाहिँ सुधारिनुपर्ने कुराहरू धेरै छ । पहिलो कुरा त यहाँका कर्मचारीहरू संस्थाप्रति चनाखो हुनुपर्ने भएको छ ।’

सरकारी हस्तक्षेप

वीरको अर्काे समस्या भनेको सरकारको हस्तक्षेप पनि हो । सरकारले आफूनिकटका कर्मचारीहरू परिचालन गराएर विद्रोह मच्चाउने, वीरका राम्रा र अत्यावश्यक चिकित्सकलाई अन्यत्र सरुवा गर्ने गर्दापनि समस्या आएको हो । वीरबाट अन्यत्र अस्पतालमा कर्मचारी, चिकित्सक सार्दा गाह्रो हुन्छ । राजनीतिक र पहुँचका आधारमा कर्मचारी, चिकित्सक सरुवा गर्दा वीरको क्षमता र गुणस्तर घटेको हो ।

आर्थिक चुहावट

वीर अस्पतालले तत्काल सुधार गर्नुपर्ने काम भनेको आर्थिक चुहावट नियन्त्रण हो । यसका लागि व्यवस्थापनले कोसिस त गर्‍यो तर, सफल हुन सकेन । ‘हामीले आर्थिक चुहावट रोक्न जति कोसिस गर्न खोजेपनि सकिरहेका छैनौँ । थुपै्र कुराहरूमा आर्थिक चुहावट छ । सामान खरिदमै मुख्य समस्या छ । विभागले सामान माग गर्छ तर, सत्य डाटा दिँदैन । सामान दिइन्छ त्यसको कुनै सत्य विवरण नै हुँदैन ।’ आर्थिक ब्यस्थापनका कर्मचारी भन्छन् ।

सफ्टवेयर आउँदै

पछिल्लो दिनमा आर्थिक चुहावट नियन्त्रण गर्न वीर अस्पतालले सफ्वेयर प्रणाली विकसित गर्ने तयारी गरेको छ । उपकूलपति डा. गुरुङका अनुसार अब वीरमा पाँच हजार भन्दा बढी रकम राख्न नपाउने सिस्टम आउँदैछ । विलिङ सिस्टमलाई बैङ्किङ प्रणालीमा लगिँदैछ । ‘यस अघि लाखौँ रकम तीन चार दिन सम्म पर्सनल खातामा राख्ने देखिएको थियो । अब त्यसलाई नियन्त्रण गर्न बैङ्किङ प्रणालीमा जाने तयारी भइरहेको छ । यसबारेमा बैंकहरुसँग पनि छलफल गरिरहेका छौँ । भने, विभिन्न कम्पनीहरुसँग छलफल पनि गरिरहेका छौँ ।’

अस्पतालको सेवालाई आधुनिकिकरण गर्दै न्याभिकेशन सिस्टमबाट उपचार सेवा दिने उद्देश्यले खरिद गरिएका यी उपकरणले अस्पतालको स्वास्थ्य सेवालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउने विश्वास गरिएको चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका उपकूलपति डा. गणेश गुरुङ बताउँछन् । ‘हामी लामो समयदेखि परम्परागत स्वास्थ्योपचारमा मात्र फोकस भएका थियौँ । सरकारले पनि एक वर्षयता वीर अस्पताललाई मुलुककै उत्कृष्ट अस्पताल बनाउने उद्देश्य लिएपछि चालु वर्षहरूमा मात्रै अस्पतालले अत्याधुनिक उपकरण भित्र्याउन सफल भएको छ ।’ उनले भने ।

वीरले भित्र्याउन लागेको इन्ट्राअपरेटिभ न्याभिकेशन सिटी स्क्यानरले शरीरका कुनै पनि अप्रेसन गर्दा ठुलो घाउ बनाउनु पर्दैन । यो मेसिनले अप्रेसन गर्ने अङ्गको भित्री भाग शत्प्रतिशत निक्र्यौल गर्न सक्छ भने, शरीरमा ठुलो चिरफार नगरी कन अप्रेसन गर्न सकिन्छ । ‘इन्ट्राअपरेटिभ न्याभिकेशन सिटी स्क्यानरले मस्तिस्क, मुटु, किड्नी जस्ता शरीरका भित्री अङ्गमा भएका रोगको पहिचान गरी उपचार गर्न ठुलो सहयोग गर्छ ।’ उपकुलपति डा. गुरुङ भन्छन् ।–‘परम्परागत उपचारमा कतिपय रोग लामालामा चिरफारबाट गरिन्थ्यो भने, यसले सानोभन्दा सानो घाउ बनाएर अप्रेसन गर्न सकिन्छ । विशेषगरी मस्तिस्क र स्पाइनल कर्ड सर्जरीमा यो निक्कै उपयोगी हुन्छ ।’

इन्ट्राअपरेटिभ सिस्टमले सर्जरी पछिको इन्फेक्सनलाई समेत कम गर्दछ । परम्परागत उपचारमा ब्लेडले जटिल चिरफार गर्नुपर्दा बिरामीको घाउ निको हुनै लामो समय लाग्दथ्यो । घाउ पाक्ने, संक्रमण हुने खतरा बढी हुन्थ्यो भने, कतिपय अवस्थामा पछि गएर रोग बल्झने समस्या पनि देखा पर्दथ्यो । ‘यो उपकरण प्रयोग गरेपछि बिरामी पनि छिट्टै रिकभर हुन्छन् । इन्फेक्सनको डर पनि कम हुन्छ ।’ उपकूलपति डा. गुरुङको भनाई छ ।

इन्ट्राअपरेटिभ सिस्टम अहिलेसम्म नेपालका कुनै पनि सरकारी अस्पतालहरुमा आएको छैन । जर्मनको प्रख्यात कम्पनी ब्रेन ल्याबबाट निर्मित यस उपकरणमा तीन वटा पाठपूर्जाहरु हुन्छन् । अपरेसन टेवल, सिटी स्क्यान र सफ्टवेयर । एउटै उपकरणमा तीन ओटा सिस्टम भएकोले अन्य कम्पनीको भन्दा यसको गुणस्तर उच्चस्तरीय छ । मुख्य कुरा त इन्ट्राअपरेटिभ सिटी र न्याभिकेशन सिस्टम नै हुन् । न्याभिकेशन भन्नाले पुरै अपरेशन कम्प्युटर प्रणालीमार्फत गर्नु हो । यसले ब्रेन ट्युमर, स्पाइनल कर्डको अप्रेसनमा राम्रो रिजल्ट दिन्छ । ‘न्यूरोन्याभिकेशनले ट्युमर कहाँ छ, ट्युमरको छेउमा कत्तिको पुगियो, अब कति ट्युमर बाँकी छ सबै क्लियर देखाउने भएकोले अप्रेसनको रिजल्ट राम्रो हुन्छ ।’ वीर अस्पतालका न्यूरोलोजी विभागका प्रमुख डा. प्रकाश विष्टले बताए । इन्ट्राअपरेटिभ सिटी र न्याभिकेशन सिस्टम सरकारी अस्पतालहरुमा पहिलोपटक वीर अस्पतालले भित्र्याएको हो । डा. विष्टका अनुसार यो सिस्टम आएपछि वीरबाट अन्दाजको भरमा शल्यक्रिया गर्ने युगको अन्त्य नै हुन्छ । उनी यो उपकरण वीरमा भित्रनुमा तत्कालीन स्वास्थ्यमन्त्री गगन थापालाई जस दिन्छन् । ‘वीर अस्पताललाई आधुनिकरण गर्न तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको ठुलो हात छ ।’ उनी भन्छन् ।

वीरले आफ्ना सबै सेवालाई कम्प्युटर प्रणाली मार्फत गर्न प्रयास गर्दैछ । अस्पतालले क्यान्सर रोगको उपचारका लागि टोमोग्राफि, रेडियोथेरापी भित्र्याउँदैछ । युरोलोजी (पिसाबसम्बन्धिका रोग) को निदानका लागि लेजरबाट प्रोस्टेटको उपचार गर्न सक्ने प्रविधि भित्र्याउँदै छ ।

तालिम लिँदै सर्जनहरु

वीर अस्पतालमा इन्ट्राअपरेटिभ सिस्टम आउने भएपछि अस्पतालका केही सर्जनलाई उपकरण चलाउनका लागि तालिम दिइएको छ । अस्पतालका न्यूरो सर्जरी विभागका डा. गोपाल ढुङ्गाना, डा. प्रकाश झा लगायतले अमेरिकाबाट बेसिक अध्ययन गरेर आइसकेका छन् भने, उपकरण उत्पादन गर्ने ब्रेन ल्याबले समेत पुनः तालिम दिनेछ । सर्जन आफैँले तालिम लिएर आएपछि उपकरणलाई मोविलाइजेशन गर्छ भने पाटपूर्जामा गडबडी देखिएको अवस्थामा टेक्निसियनहरु पनि खटाइने अस्पतालको दाबी छ ।

मेसिन खरिदको विवाद

अस्पतालले इन्ट्राअपरेटिभ न्याभिकेशन सिटी स्क्यानर खरिद गर्ने निर्णय गरेसँगै कम्पनीहरूले टेण्डर हाले सो मध्ये इन्ट्राअपरेटिभ न्याभिकेशन सिटी स्क्यानर दिन सक्ने कम्पनीको स्पेशिफकेशन र दर रेट फाइनल भयो । यो काम मुल्याङकन समिति, प्राविधिक समिति र स्वयम् विभागीय समितिले ग¥यो । तर, हिमालय मेडिटेकले वीर अस्पताल र टेण्डर प्राप्त गरेकाे वायाेमेड इन्टरनेशनलका विरूद्द ‘खरिद प्रकृयामा चलखेल भयो’ भन्दै सार्वजनिक खरिद पुनरावलोकन समितिमा उजुरी गर्याे । समितिले विनाकारण खरिद पक्रिया स्थगित गर्नुभन्यो ।

त्यसपछि सार्वजनिक खरिद नियमावली अन्तर्गत सम्पूर्ण प्रक्रिया पुरा गरेर खरिद प्रक्रियामा गएको बायोमेड इन्टरनेशनलले समितिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्‍यो । उपकरण खरिदको एलसी समेत खोली सकेको अवस्थामा परेको मुद्दाले अस्पताललाई केही समस्या भए पनि अन्ततः सर्वोच्चले सार्वजनिक खरिद नियमावली अन्तर्गत नै रहेको भन्दै तत्कालका लागि खरिद पक्रिया नरोक्नु भनेर अन्तरिम आदेश दियो । अस्पतालका उपकूलपति यो विषयमा टेण्डर नपरेकाहरुले विवाद झिक्न मात्र अदालतमा मुद्दा हालेको बताउँछन् । ‘मुल्याङकन समिति, विभाग, प्राविधिक समिति सबैले यही उपकरण ठिक छ भनेर, सार्वजनिक खरिद नियमावलीलाई टेकेर एलसी समेत खोलिसकेको अवस्थामा अदालतमा मुद्दा हाल्नु भनेको विवाद सृजना गर्ने नियत मात्रै हो ।’–उनले भने–‘अदालतले काम गर्ने बाटो खोली दिएकोे छ । अहिले जुनसुकै कुरामा पनि आफूले भनेको नहुँदा अदालत जाने, अख्तियार जाने चलन बढेकोमा यो फैसलाले देशमा अझैपनि कानुनी राज्य छ भन्ने देखिएको छ ।’

उपकूलपति डा. गुरुङ सार्वजनिक खरिद नियमावलीमा देखिएका कतिपय कानुनी जटिलताले पनि काम गर्न समस्या भएको देख्छन् । ‘सार्वजनिक खरिद ऐनले सबैभन्दा सस्तो दरमा सामान किन्नु भन्छ । जसले कम रेटमा टेण्डर हाल्छ उसले क्वालिटी हेर्दैन । सस्तो दरमा किनेको सामान एक वर्षपनि टिक्दैन । मुख्य कुरा क्वालिटी हेर्नुपर्छ ।’ उनी भन्छन् ।

हुन पनि हो । अहिले कुनै पनि विकास निर्माणका काममा होस् वा सार्वजनिक महत्वका काममा आफूले पाउँदा ठिक नपाउँदा गलत भन्ने संस्कार विकास भएको छ । सार्वजनिक महत्वका यस्ता धेरै केसहरु अल्झिएका छन् जो सही प्रक्रिया अनुसार हुँदा पनि अख्तियार, अदालतमा मुद्दा पर्नाले वर्षौंसम्म अल्झिएका छन् । त्यस्ता केसहरुलाई सर्वोच्चको यो निर्णयले कानुनी नजर स्थापित गर्न समेत सहयोग पुग्ने देखिएको छ । सम्बन्धित निकायले यस्ता सार्वजनिक महत्वका विषयमा गम्भीर हुन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *