‘मान्छे मार्ने मेसिन !’

यस्तो पक्कै पनि थिएन कि मैले त्यसभन्दा पहिले कहिल्यै मान्छे मर्न लागिरहेको देखेकै थिइनँ, अथवा कोही मरिसकेको मान्छे देखेको नै थिइनँ। स्वास्थ्य संस्था हो, मानिसको जीवनसँग जोडिएका खुसी र दु:खी क्षण सबैभन्दा बेसी सायद कसैले देख्छन् भने ती हुन्- स्वास्थ्यकर्मी। मान्छे जन्मिन्छ, मर्छ, बिरामी पर्छ अनि निको होला वा अझै बल्झिएला ती जीवनका सारा सुख-दुःख, हाँसो-रुवाईहरु यसैको सेरोफेरोमा घुम्छन्। यो एउटा समयचक्र जस्तै हो।

तर पनि किन त्यही मृत्युले अन्ततः कलम चलाउन बाध्य बनायो? किन सोच्न बाध्य बनायो कि सायद म एउटा डाक्टर हुनुभन्दा पनि एक जादुगर हुन पाएको भए हुने। औषधि विज्ञानभन्दा पनि हामीलाई छुःमन्तर विज्ञान पढाइएको भए हुने। अनि एक चुट्कीमा ती महिलालाई ब्युँताउन पो सकिन्थ्यो कि! अथवा रंगीचंगी वस्त्र धारण गरेर उफ्रिँदै हिँड्ने बाबाहरु/माताहरु/गुरुहरु त्यस्तै केही हुन पाए नि हुने। आखिर कुनै दु:ख वा अध्ययनबिना नै सबैलाई खुट्टा ढोगाउन पाइने।

उनीहरूले चैँ शरीरका सबै रोग निको पार्ने रे बिनाशल्यक्रिया के-के हो के-के। खै, मुखले नै चुसेर पत्थरी समेत निकाल्न सक्ने रे (कुनै किसिमको इएसडब्लुएल विधि पो हो कि !), अरू पनि यस्तै-यस्तै। न तिनको अगाडि कहिल्यै मान्छे मर्योम भनेर सुन्न पाइएको छ, न त कोही मान्छे निको नभई फर्किनुपर्योा भनेर सुनिएको छ। कस्तो राम्रो जागिर के, १०० प्रतिशत ‘प्यासेन्ट स्याटिस्फ्याक्सन’, १०० प्रतिशत नै ‘जब स्याटिस्फ्याक्सन’।

एउटा आलिशान आश्रम बनायो, यसो गर्मी भएको बेला हम्किदिनलाई २-४ भक्त साइडमा राख्यो अनि सँगसँगै नुनदेखि सुनसम्म, आलुदेखि नसालुसम्मको व्यापार गर्‍यो बस्यो। कस्तो आनन्दको जिन्दगी। हैट बाबाजी।

एम्बुलेन्सको साइरन बज्छ।

केस अलि सिरियस नै छ, यस्ता बाबाहरुको पछि लागेर हुन्न। फेरि रिवाइन्ड गर्दै अगिको मान्छे बचाउने मिसनमा दौडिन्छु। ‘डाक्टर साब, डाक्टर साब, लौन मेरो बिरामी हेर्दिनुपर्योै। के भयो कुन्नि बेहोस भएको छ। २-३ दिनदेखि ज्वरो आएर मेडिकलको औषधि खाँदै थियो। स्ट्रेचरमा राखेर पानी ख्वाउँदै ल्याको हो। बिचमा एकचोटि भमिट नि गर्योो। अहिले १०-१५ मिनेटदेखि एक्कासि के भयो बोलेकै छैन,’ छेउका आफन्तले एकसासमा बताए।

हातखुट्टा अलिक सुन्निएका थिए, अनि उनको खुट्टाको चिसो मेरो हात हुँदै उत्तिनैखेर मन-मस्तिष्कसम्म पुग्यो। नाडी र घाँटीका नसाहरुले थकाइमारिसकेका थिए। अनि इसिजीले पहाडहरुलाई समथर तराई बनाइसकेको थियो। न त सिपिआर (छातीलाई हातले थिचेर मुटुको धड्कन फिर्ता ल्याउने तथा कृत्रिम श्वास दिने विधि) गर्दागर्दै मेरो निधारबाट बगेर खसेका पसिनाका कण उनले चाल पाए, न त लाइफ सेभिङ एड्रेनालिनले कुनै कमाल गर्योा। अन्ततः एउटा अथक प्रयास उनलाई फर्काउन असमर्थ रह्यो।

हो मैले मान्छे मरेको नदेखेको होइन, तर मैले देख्न सकिरहेको थिइनँ ती महिला र सँगै राखिएको उनको भर्खरैको १ महिने बच्चा। जसले ‘आमा’ भनेको के हो अब कहिल्यै थाहा पाउने छैन। अनि ती रोइरहेका आफन्तहरु, जसले प्रिय मान्छेलाई अर्धचेतन अवस्थामा बोकेर ल्याउँदै गर्दा होस आउला कि भनी पानी त खुवाए, तर त्यो पानी सायद अन्त नै पुग्यो अनि उनको सास बगाएर लग्यो।

धेरै मान्छे निको हुन्छन्, खुसी लाग्छ। आफ्नो काममा गर्व लाग्छ, आफू हुनुमा गर्व लाग्छ। अनि कुनै बेला, मान्छे मर्दै नमर्ने ठाउँमा जान पाए अथवा जस्तोसुकै मरिसकेकालाई नि फिर्ता ल्याउन सकिने मन्तर भइदिएको भए जस्तो लाग्छ। त्यो बेला त्यस्तै लाग्यो होला- ती बाबाहरुको आश्रम नै ठिक, जहाँ मान्छे त मर्दैनन्, सायद मान्छे बचाउने मेसिन पो हुन् कि ती, अनि हाम्रा अस्पतालहरू चाहिँ मान्छे मार्ने मेसिन।

अन्ततः मनन गरौँ :

१) नेपालका विकट ठाउँमा अझै पनि मातृ-मृत्युदर उच्च छ। यो ठाउँ (बुर्तिबाङ, बाग्लुङ) वरपर मात्रै गएको एक-डेढ महिनामा ५ जना आमाको मृत्यु भइसकेको छ। यसमा सम्बन्धित निकायबाट आवश्यक पहल तथा अध्ययन गरियोस्। साथै हरेक महिलालाई गर्भावस्थामा नियमित जाँच तथा औषधि सेवन र स्वास्थ्य संस्थामा नै सुत्केरी गराउन अझै बढी प्रोत्साहन गर्ने पो हो कि?

२) बेहोस हुन लागेकालाई मुखबाट केही पनि नखुवाउने अनि बिरामी ल्याउने क्रममा वान्ता गरेमा एक साइड (देब्रे) कोल्याियएर राख्ने।

३) सिपिआर (छाती थिच्ने विधि) मान्छे मार्न होइन, यो त मुटुको धड्कन फिर्ता ल्याई मान्छे बचाउन प्रयोग गरिने अन्तिम उपाय मध्येको एक हो।

४) स्वास्थ्यकर्मीले उपचारसँगै राम्रो परामर्श (काउन्सेलिङ) मा पनि अझै जोड गर्नुपर्ने हो कि!

५) पैसाको कुरा नमिलुन्जेल लापरबाही हुने, मिलेपछि नहुने अथवा केस सुल्जिने। यो अलि मिलेन कि?

६) अस्पतालका मालिकहरूले अस्पताल तोडफोड वा बन्द गराउनुभन्दा स्वास्थ्यकर्मीको बली चढाएर केही रकममा कुरा मिलाई अस्पताल सुचारू गर्नमा नै फाइदा देख्छन्। न घटनाको जाँच हुन्छ, न सत्य कुरा नै थाहा पाइन्छ। सुली चढाइनुपर्नेलाई फुली लगाइन्छ, अनि फुली लगाइनुपर्नेलाई सुली चढाइन्छ। मेरो देश!!

७) जनहितमा जारी। ह्याप्पी दसैँ!!

(डा मल्ल बाग्लुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत छन्) स्वास्थ्य खबरबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *