मन्त्रीको प्रेम !

“मन्त्रीज्यू, यो भट्टीलाई पनि काठमाडौं लैजानु प-यो !” भन्ने मानिस आफैं नशामा धुत् थियो । सँगैकाहरूलाई आँखा झ्म्क्यिाएको देखाउन उसले पूरै टाउको हल्लायो । सबै खित्का छाडेर हाँस्न थाले । तर मन्त्री हाँसेन । उसको मुहार झ्न् गम्भीर भयो । गागनबजारकोे एक मात्र भट्टीपसल— एककोठे, न ठूलो न सानो, ठिक्कको । मन्त्री आएको हुनाले भएभरका टेबुल एकैठाउँमा जोडिएका थिए । त्यसको चारैतिर बेन्चहरू राखेर टोलीलाई बस्ने व्यवस्था मिलाइएको थियो । मधुरो बिजुलीलाई चुरोटको धूवाँले झ्नै मलिन बनाएको थियो ।

मन्त्रीको गम्भीरताले हाँसो रोकियो । उसका आँखाहरू बलिरहेका थिए । उसले भट्टीवाल्नीलाई मायालु पाराले हे-यो । यसपटक भट्टीको साहु रिसाएन । आखिर आज मन्त्री जो आएको छ । “माया गर्छु भन्दैमा कमललाई पोखरीबाट झ्किेर स्वीमिङ पुलमा रोप्यो भने के हुन्छ ? मर्छ । अरे, असली माया त त्यो हो, जब कोही हिलोको परवाह नगरिकन आफैँ त्यो कमललाई भेट्न आउँछ !” मन्त्रीको अप्रत्यासित दर्शनले सबैलाई ट्वाल्ल पारिदियो । लगत्तै, हाँसोको फोहोरा छुट्यो । बोतलहरू खुल्न थाले, गिलासहरू ठोक्किन थाले । तर, मन्त्री हाँसेन । ऊ विगत सम्झ्रिहेको थियो ।

संयोगले उसको विवाहकै दिन यो भट्टी खुलेको थियो । भर्खर जुँगाको रेखी बस्दैथियो, तर ऊ विवाह गर्दैथियो । यसको आफ्नै कथा थियो । सानो छँदा बाबुले स्कूल पठाउँथे । स्कूलछेउ दोबाटोको वर–पीपलका रूखमा भएभरका गोठालाहरू गुच्चा खेल्न भेला हुन्थे । स्कूलबाट भागेर आउनेहरू पनि मिसिन्थे । उसलाई भने कहिल्यै भागेर आउनु परेन । किनभने, ऊ सधैँ त्यहीँ साँझ् पारेर घर फिथ्र्यो ।

एक दिन वर–पीपल चोकमा कोही आएनन् । ऊ बाध्य भएर स्कूलै गयो । बडो अचम्मको अनुभूति भयो, उसलाई । आफैँमाथि गर्व लागेर आयो । बिदा भएपछि ऊ दौड्दै घर आयो, कोही भेटेन । दौडेको दौड्यै खेतमा पुग्यो र बाबुको अगाडि ठिङ्ग उभि यो । “कथि भैलौ ?” बाबुले सोधे । “आई त हम किलासमे गेलियै ।” बाबुको अनुहार बिस्तारै रातो हुँदै गयो । बल्ल उसले कुरा बिग्रेको थाहा पायो । “यत्ते दिन तक तु कत्त जाय छेलही ?” लठ्ठी लिएको बाबुले झ्म्टँदासम्म ऊ वायुवेग भइसकेको थियो । त्यसपछि ऊ कहिल्यै स्कूल गएन । उसले भैँसी चरायो, बाबुसँगै खेतमा काम ग¥यो । तर त्यो क्रम पनि धेरै चलेन । साँझ् गोधूलिसम्मै ऊ खोलातिर हुन्थ्यो । किनकि, त्यतिबेलै खोला किनारमा महिलाहरू दिसा बस्न आउँथे । दिउँसो नुहाउने र लुगा धुनेको भीड हुन्थ्यो । मेला–पर्वको बेला ऊ बिहारी ‘बाई’ र ‘अर्केष्ट्रा’को चक्करमा हुन्थ्यो जहाँ छोटाछोटा लुगा लगाएका किशोरीहरू उत्तेजक नृत्य गर्थे । धेरै पटक ऊ स्टेजमा पनि चढेको थियो, तर त्यहाँ खटाइएका भुसतिघ्रे स्वयंसेवकहरूले उसलाई तलै गलहत्याइदिन्थे ।

एउटा गोधूलिमा थारू टोलका केटीहरू खोला किनारतिर आएर छरिए । एउटी ऊ लुकेको ढिस्कोतिरै आई । केटीको पाइलासँगै उसको उत्तेजना आकासिइरहेको थियो । निश्चिन्त केटी आफू नजिक आएर बस्न मात्र के खोजेकी थिई उसले पछाडिबाट झयाम्मै समात्यो । केटी जोडले चिच्याई । शुरुमा आत्तिएकी केटीले उसको टाउकोमा जोडले माटोको डल्ला बजारी । ऊ बेतोडसँग भाग्यो । केटीहरूले परसम्म लखेटे ।

गाउँमा यस्तो घटना पहिलो पटक भएको थियो । थारू केटाहरूले उसलाई घरैमा घेरा हाले । यो टोल–टोलबीचको झ्गडा नबनोस् भनेर सचेत उनीहरूले राति नै बूढापाका बोलाएर पञ्चायत राखे । उसलाई हात बाँधेर ल्याइयो । भीडको बीचमा उसको बाबु रोइरहेको थियो । भीडमा धेरै कुराहरू उठ्न थाले । कसैले कुट्ने कुरा गरे, कसैले कालोमोसो दलेर गाउँ डुलाउने भने । अन्त्यमा सजाय तोक्ने जिम्मा थारू टोलका वयोवृद्ध चलित्तर चौधरीलाई दिइयो ।

“एहन काम फेर कर्वही ?” बूढाले सबैले सुन्ने गरी सोधे । उसले तुरुन्तै टाउको हल्यायो, गर्दिनँ भनेर । “थुक फेक !” उसले अनकनाउँदै भुईंमा थुक्यो । “ले आ चायटके कह एहन काम कहियो नै कर्वै ।” उसको आँखामा आँसु आउन थाल्यो । तर, त्यो अरू सजाय भन्दा सजिलो थियो । उसले भुईंको थुक चाट्यो र यस्तो कुकर्म कहिल्यै गर्दिनँ भन्यो । चलित्तर चौधरी अब उसको बाबुतिर फर्किए । “बेटा त तोरे हौ । एकरा बारेमा किछ सोच्ने छहि की नै ?” “हम अपना तरफ से त सब किछो केलु । आव अहेँ सव वतादु हम कथि करु ?” बूढाले एकक्षण गम खाए ।

“हमरा बात मान । यकरा बिहा कैर दही !” यसरी उसको विवाह हुने भयो । सयाँै जन्तीका बीच ब्रास व्याण्डले उत्तेजक बिहारी गीतहरू घन्कायो । केटीहरूको हूलले आफूतिर हेरेको देख्दा उसलाई बडो रमाइलो लाग्यो । त्यही बेला उसले नयाँ भट्टीकी साहुनीको पहिलो झ्ल्को पाएको थियो । गोरो अनुहारमा कपाल खुला छाडेकी साहुनी उसलाई हिन्दी फिल्मको हिरोइन जस्तै लागी । ऊ मुस्कुराउँदा लाजले भुतुक्कै भयो ।

“मन्त्रीज्यू, यो भट्टीलाई नै काठमाडौं नलगी भएन !” फेरि सबै हाँसे । “म काठमाडौंलाई नै यहाँ ल्याइदिन्छु ।” मन्त्रीले टेबुल ठोक्यो अनि एक सासमा गिलास रित्यायो र अर्को बोतलको बिर्को खोल्न थालेकी भट्टीवाल्नीको हात समायो । भट्टीको साहु टुलुटुलु हेरिरहेको थियो । सबै हाँस्न थाले । साहुनी पनि मुस्कुराई । तर, मन्त्री हाँसेन । उसका आँखा बलिरहेका थिए ।

ऊ साहुनीलाई हेर्नकै निम्ति भट्टीमा छिरिरहन्थ्यो । त्यही क्रममा एक दिन उसले पहिलो पटक आगो निलेझै कष्टले रक्सी खाएको थियो । रक्सी थपिदिँदै गरेकी साहुनीको मुस्कान उसका लागि स्वादिष्ट सितन भएको थियो । विस्तारै सारा भट्टी हल्लिन थाल्यो । मुस्कुराइरहेकी साहुनीले उसलाई अँगालोमा बोलाइरहेझै लाग्यो । लर्खराउँदै उठेको उसले साहुनीलाई जोडले अँगालोमा बेर्यो । आफ्नी स्वास्नीलाई हेरुन्जेलसम्म त त्यति मतलब नगरेको साहुले छेउमै रहेको दाउरा उसको ढाडमा बजार्यो । दाउराको प्रहारको पीडा र साहुनीको शरीरको तातो उसले एकैपटक अनुभूत गर्यो । साहुनीले साहुको हातको दाउरा खोसी ।

“ए साहु !” मन्त्री चिच्यायो । “हजुर मन्त्रीज्यू… !” साहुले आफ्नो खुट्टा कामेको थाहा पायो । मन्त्रीले दुवै हात जोडेर अगाडि उभिएको साहुलाई शिर–पुच्छर नियाल्यो । रङ उडेको उसको अनुहार मन्त्रीलाई काइदाको लाग्यो । “पहिला मेरो ढाडमा दाउरा बजारेको थिइस्, हैन ?” “थिएँ हजुर” रुन्चेस्वरमा साहुले सकार्यो । “पछाडि फर्की !” साहु फक्र्यो । मन्त्रीले पिठ्यूँमा जोडले लात्ती बजार्यो । आफैं मातिसकेको साहु भित्तामा ठोक्किएर भुईंमा थुप्रियो, पीडाले केही सेकेण्ड चल्मलायो अनि घुर्न थाल्यो । तमासा हेरेर बसेको जत्थामा हाँसोको फोहोरा छुट्यो । साहुनी पनि हाँसी । तर मन्त्री हाँसेन । उसको अनुहार झ्न् गम्भीर भयो । ऊ अझैँ विगतमा हराउन छाडेको थिएन ।

मधेश आन्दोलनको बेला ऊ सदा झ एकाबिहानै भट्टीमा छिर्यो । नजिकैको पीपल चौतारामा मानिसहरू भेला हुन थाले । शुरुमै लहान घटनाका कुरा भए । शहीद रमेश महतोप्रति श्रद्धाञ्जली चढाइयो । व्यवस्थित आन्दोलनका लागि समिति बनाउने कुरा उठ्यो । आफ्नो झुण्डसहित भट्टीबाट निस्किएर चौताराको भीडमा मिसिएको ऊ एकाएक आफ्नै एक चेलाको प्रस्तावमा आन्दोलन सञ्चालन समितिको सदस्य बन्यो । “धत्, हुनु नै छ भने अध्यक्ष नै हुनुपर्छ”, समितिको अध्यक्षबारे छलफल हुँदा उसलाई सदस्यमा प्रस्ताव गर्ने चेलाले नै कान फुक्यो । एकाबिहानैको लोकल ट्वाँटले यसै पनि उसको दिमाग रिँगाइरहेको थियो । ठूलो स्वरमा ऊ कुर्लियो, “हो, अध्यक्ष हुने नत्र केही नहुने ।”

झ्ल्लरुहरूका अगाडि बोल्ने हिम्मत कसैले गरेन । ऊ सर्वसम्मत अध्यक्ष भयो । त्यसपछिका घटनाहरू ख्यालख्यालका भएनन् । सरकारी भवनहरू ध्वस्त भए, कैयन् गाडीहरू जलाइए । प्रहरी र आन्दोलनकारी बीच डरलाग्दा भिडन्तहरू हुन थाले । दर्जनौंले शहादत प्राप्त गरे । धरपकड बढ्यो । आन्दोलन समितिको अध्यक्ष भएकाले ऊ प्रहरीको सूचीमा थियो ।

त्यही साँझ् सईको कमाण्डमा खटिएको प्रहरी टोली भट्टीतिर लम्कियो । साहुनीले उसलाई चर्पीमा लुकाएर बाहिरबाट ताल्चा लगाइदिई । “कहाँ छ त्यो ?” सईले कर्कश आवाजमा सोध्यो । “मलाई थाहा छैन ।” “नखरा नपार ! भर्खरै यहीँ देखेको थिएँ ।” “ए केटा हो, जा भित्र खोजेर निकाल ।” त्यहाँ खोज्नलाई धेरै ठाउँ थिएन । कोठामा नपाएपछि प्रहरीहरूले चर्पी फोरेर उसलाई घिसार्दै निकाले । “यहीँ र’छ त तेरो नाठो !” सईले साहुनीलाई हात लगाउन खोज्यो । “ए, उसलाई न छो !” ऊ चिच्यायो । सई नजिकै आएर उसको गालामा मुड्की बजार्याे । उसको मुखबाट रगतसँगै एउटा दाँत पनि उछिट्टियो ।

“ए, साला पवन !” पवन उसको आफ्नै सालो थियो, तर रिस उठेको बेला साला भन्थ्यो । अहिले पवन मन्त्रीको पिए थियो । “हजुर मन्त्रीज्यू !” पवन उसलाई भिनाजु नभनेर मन्त्रीज्यू भन्थ्यो । त्यहाँ रक्सी नखाने पवन मात्र थियो । “त्यो मादर… सई कहाँ छ, पत्ता लगाएर जागिर खोस्दे सालेको !” “सरुवा मात्र गराउन मिल्छ अरे !” “सालाऽऽऽ !”

मन्त्रीले सालोतिर रक्सीको गिलास हु्र्यायो । “साला, जागिर खान मिल्दैन भन्छ । त्यसले मेरो दाँत झर्न मिल्थ्यो ?” मन्त्रीको सुनको दाँत टल्कियो । “जागिर खोस्न मिल्दैन ! ए, मादर… सरकार ढाल्न मिल्छ मिल्दैन भन् ?” “अरे मन्त्रीजी, जागिर किन खोस्न पर्याे ?” मन्त्रीसँगै बसेको सिकुटे बोल्यो, “उसलाई सरुवा गरेर यता ल्याउने अनि बोर्डरमा लगेर… ।” बिहारबाट आएको पाहुना सिकुटेले त्यसपछि नबोली हातको इशाराले उपाय सुझयो । मन्त्रीले जोडले धाप मार्यो, सिकुटेलाई । फेरि हाँसोको फोहोरा छुट्यो । तर, मन्त्री हाँसेन । ऊ पुरानै कुरा सम्झ्रिहेको थियो ।

त्यसपछि ऊ थुनामै जिल्लाको चर्चित नेता भयो । राजमार्ग दक्षिणका गाउँहरूमा उसको जातका मानिस बढी थिए । तिनीहरू उसको रिहाइका लागि राजमार्गमा भेला भए । प्रहरी दमनमा उत्रियो । पहिलो पटक प्रहरीसँग भिडेका गाउँलेहरूले टियर ग्याँस र रबरको गोली चाखे । कैयन् घाइते भए ।

यो खबर जिल्लाभर डढेलो बनेर फैलियो । गाउँ–गाउँबाट मानिसहरू राजमार्गमा थुप्रिन थाले । नियन्त्रण गर्न गाह्रो हुँदैजाँदा प्रहरीले गोली चलायो, तीन जना मारिए । घटनाले राष्ट्रव्यापी चर्चा पायो । पार्टीले उसलाई आफ्नो नेता घोषणा गर्दै मागको सूचीमा गृहमन्त्रीको राजिनामाको बुँदा थप्यो, जसबाट सरकारसँगको वार्ता असफल भयो ।

पत्रकारहरूले थुनामै ऊसँग अन्तर्वार्ता लिए । ऊ राष्ट्रिय पत्रिकाहरूमा चढ्यो । जिल्ला र क्षेत्रका सबै संघ–संस्थाले उसको रिहाइको माग गर्दै विज्ञप्ति निकाले । उसको नाममा पम्प्लेटहरू बाँडिए, प्लेकार्डहरू प्रदर्शन गरिए, ब्यानर झुण्ड्याइयो । जुलुसहरू निस्किए । पार्टी अध्यक्षले उसको रिहाइका लागि जोडदार भाषण गरे । सरकारसँगको दोस्रो वार्तापछि ऊ रिहा भयो । बाहिर चिल्ला कारहरूका ताँती देखेर ऊ छक्कै पर्यो। सबभन्दा पहिला पार्टी अध्यक्ष, जिल्लाका ठूला व्यापारी र चर्चित गुण्डाहरूले उसलाई अङ्कमाल गरे । त्यसपछि जनसाधारणको पालो आयो । उसको सानो टाउको फूलका मालामुनि हरायो ।

अध्यक्षले उसलाई आफ्नै गाडीमा बसालेर उसैको गाउँको डगरबाट हुँइक्यायो । उसले भट्टीपसल अगाडि गाडी रोक्न लगायो । ऊ घाँटीभरिका माला सिटमा थुपारेर दौड्दै भट्टीभित्र छिर्याे । लाटी जस्तै वाल्ल परेर हेरिरहेकी साहुनीलाई अँगालोमा कसुझै लाग्यो, तर सम्हालियो । साहु छेउमै थियो । “झ्ट्टै एक गिलास देऊ !”

साहुनीले बाहिर नियाली । त्यत्रा गाडीहरू उसैलाई पर्खिरहेका छन् । उसले रक्सी स्वात्त पा¥यो । अचानक उसको अगाडि सबै कुराहरू छर्लङ्ग भएर आए । साहुनी साँच्चैकी थिई । गाडीका लस्कर पनि विपनै हो । अनुहारमा रङ्गिएको अबिर पनि साँच्चिकै हो । मुसुक्क हाँस्दै उसले साहुनीको गालामा अबिर सारिदियो । “पछि आउँछु ।”

ऊ गाडीमा गएर बस्दा ह्वास्स रक्सी गन्हायो । अध्यक्ष मुस्कुराए । “अब नेता भयौ, खाने टाइमको ख्याल गर… ।” संविधानसभा निर्वाचनमा पार्टीले उसलाई प्रत्यक्षबाट उम्मेद्वार बनायो । उसले आफ्नै जातको बाहुल्य भएको क्षेत्र रोज्यो । उसको निर्वाचन खर्च बेहोर्न जिल्लाका एक से एक व्यापारी अग्रसर भए । जुलुस र ¥यालीका निम्ति सीमापारिसम्मका केटाहरू तयार थिए । पार्टीले जिल्लाकै चर्चित वकिललाई उसको सहायक बनायो । शुरुमा उसले दुवै हात जोड्ने र हल्लाउने काम मात्र ग¥यो । त्यसपछि वकिलले सिकाएको भाषण गर्न थाल्यो । छोटोछोटो भाषणको अन्त्यमा मुठी उचाल्दै ‘जय मधेश !’ भन्दा उसलाई गजब लाग्थ्यो ।

सजातीयहरूसँग उसलाई खासै गाह्रो भएन । बूढाबूढीलाई दादा–दादी भन्दै गोडामै ढोगिदिन्थ्यो । त्यसपछिकालाई काका–काकी भन्दै निहुरिन्थ्यो । आफ्ना उमेरकाहरूलाई अँगाल्थ्यो । आफूभन्दा सानासँग हात मिलाउँथ्यो । महिलाहरूलाई दुवै हात जोडेर प्रणाम गथ्र्यो । अनि सबैलाई भन्थ्यो, “अहेँ सवहक सहयोगसे देशमे पहिलबार मधेश आन्दोलन सफल भेल । आ पहिलबार भरहल संविधानकसभाके चुनावमे सेहो सफल कराबके जिम्मेवारी अहेँ सबके उपर छै । हमरा विश्वास छै, अहाँ सब मधेश आन्दोलनके इज्जत जरुर राखबै ।” थारू वस्तीमा जान भने उसले निकै गाह्रो मान्यो । सबैको करबलले त्यहाँ पुगेको उसले टोलभरिमा एउटै कुरा दोहोर्यायो, “केहनो छि त अहँ सवहक अगाडिमे बेटा जाकी वरहल छी । आ अहेँ सवहक अगाडिमे रहव । … अहाँ सवसे बहुते आस केने छी (जे–जस्तो भए पनि तपाईंहरूकै अगाडि हुर्केको छोरा हुँ, तपाईंहरूकै अगाडि रहनेछु । तपाईंहरूबाट ठूलो आशा गरेको छु) ।”

अन्ततः ऊ पार्टीमा सबभन्दा बढी भोट ल्याएर चुनाव जित्नेमा दरियो । जिल्लामा पनि उसकै पार्टीले सबभन्दा बढी सिट जित्यो । समानुपातिकमा पनि त्यस्तै भयो । पार्टी मुलुकको चौथो ठूलो दल भयो । सरकार गठन प्रक्रियामा पार्टी निर्णायक बन्न पुग्यो । तर, अध्यक्षले पहिलो चरणमा उसलाई मन्त्री बनाएन । “साला अध्यक्ष, मादर… !” उसले भएभरका केटा भेला पारेर रक्सीको खोलो बगायो । “साला, मलाई मन्त्री हुने बेला भएको छैन भन्छ ।” ऊ मन्त्री नभएकोमा केटाहरू पनि उदास देखिन्थे । “साला, यो जिल्लामा पार्टीको जरा कसले गाड्यो ?” उसले छाती पिट्यो ।

“अझ् मेरो हैसियत पुगेन ? मादर… उसको पुग्ने मेरो नपुग्ने ?” ऊ जुरुक्क उठ्यो र हावामा मुड्की घुमाउन थाल्यो । केटाहरू डराए । अन्त्यमा साहुनी उठेर उसको निधारको पसिना पुछिदिई । उसले शितल मान्यो । “अब कि त्यो मादर… अध्यक्षको टाउको फोर्छु कि पार्टी ।” साहुनीले उसको निधार सुम्सुम्याइरही । त्यो रात ऊ त्यहीँ निदायो । नौ महिनापछि सरकार ढल्यो । नयाँ सरकारमा जान पार्टी विभाजन भयो । अब ऊ सरकारमा थियो ।

मन्त्री शान्त थियो । वरपरकाहरू गिलास समात्न सक्ने अवस्थामा थिएनन् । साहुनी सामानहरू उठाउन थाली । मन्त्रीले उसको हात समात्यो । साहुनीलाई हात छुटाउनु थिएन । “कत्ति स्वास्नीलाई दुःख दे’को हँ तैँले !” मन्त्री जङ्गियो । साहुजीले सकी–नसकी बत्तीस दन्त देखायो । मन्त्रीले साहुनीलाई नियाल्यो । उसलाई पहिलो पटक देखेको जस्तै लाग्यो— गोरो मुहारमा कपाल लत्रिएको फिल्मी हिरोइन जस्ती । उसले साहुनीलाई विस्तारै म्वाईं खायो । सिकुटेले उठेर सबैलाई कोठाबाट निस्कन इशारा गर्यो र अन्तिममा आफैं निस्कँदै बाहिरबाट ढोकामा चाबी लगाइदियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *