पल्लो घरको दशैँ !

कालो रेखी सेतो रेखी

गयो दशैँ देखी देखी ।

नेपालमा दशैँको आगमनसंगै दशैँको कठालो समातेर प्रकृति पनि सुटुक्क भित्रिन्छिन् । शरद्ऋतुको रात्रिकालिन शीतको हल्का थप्पडले भुईंभरि असरल्ल बिस्कुन झै पसारिएका सुवासित पारिजातका फूलहरु, पूर्व क्षितिजबाट कलिलो सुत्केरी अनुहार लिएर टुपुल्किने नाङ्लेघाम, उत्तर तर्फ टलक्क टलक्क टल्किने हिमाच्छादित कञ्चन हिमाली श्रृंखलाहरु, आँगन तथा करेसाबारीका मलिलो माटोमा आफ्नो आधिपत्य जमाउँदै ढकमक्क फुल्ने जाई, जूही, चाँयाफूल अनि सयपत्री तथा सुपारेफूलहरु । बर्षायामको झरिले सिनित्त पारेर बढारेर कञ्चन बनेका बाटाघाटा, नदि, कुवा तथा गल्छेडाहरु । मनोहारी स्निग्धिता पस्किएर प्रसवता पछि स्नानादिकार्य बाट चोखिएर सुकुमार अनुहार लिएर सदाको शरदकालिन ऋतुसंगै प्रस्तुत भएकी कलिली नवआमा जस्तै कुमारी अनुहार लिएर प्रस्तुत भईदिन्छे दशैँ ।

साँस्कृतिक मोहले दशैँ तिहार परम्परा धान्नको लागि अनेकौँ बहाना बनाएर मान्नु आफ्नो अलगअलग चलन त छँदै छ । तर दशैँ तिहार पर्वको निहुँ बनाएर पैसालाई सिमलको भुवा जस्तो ठान्दै जूवा खेलेर पैसा र घर जग्गा निथु्रक्क निखारेर एकै रातमा भिक्षांदेही भन्नु पर्ने अवस्थामा अवतरण हुदै त्यहि टाट पल्टाईएको नियति भोग्नु परेका डाईसे जुवाडेहरुको व्यथा आफ्नो ठाउँमा छ । मासु पचाउने बहानामा खुट्टा पसारेर जाँड खानेहरुको रौनकता आफ्नो ठाउँमा छ भने मासु चपाउन नपाएका माड खानेहरुको बिवशता आफ्नै ठाउँमा छ । गरीबको दैलोमा दशैँमा  न खसी छ न खसीको सिङ छ न त भुराहरुको हर ढाक्ने नाना छ न बलेनीमा पीङ छ ।

जमरा उमार्ने मकै र जौ नभएर बाटो छेउको केँवराको फूल टपक्क टिपेर झुत्रे टोपीको चरबाट लुसुक्क घुसार्दै भुईंमा झरेको अक्षता सोहोरेर रिन्यु गर्दै लालाबालाको निधारमा टुसुक्क टाँसेर चाड मानी टोपल्नेको पनि दशैँ । चार सदस्यीय परिवारमा छ थरि पशु नस्लको मासुका परिकार खाएर पचाउन नसकी छेरेर चाड मान्नेको पनि दशैँ । छिमेकीको कसौँडीमा पाकेको छोराछोरीको मन धुरुक्क रुवाउने मासुको पीडादायक सुगन्ध नाक भित्र हुल्दै र छिमेकीले खाएको हेरेर चाड उम्काउने गरीबको पनि दशैँ हाम्रो नेपाली निरीह समाजको दारुण दशैँ हो । मेरो घरको पुर्वदिशामा संभ्रान्त सँधियारे, तिनै छिमेकीको बाटो पारि सम्मुखमा एउटा सार्की दाईको घर अर्थात् निर्धो छिमेकी । आँखाले केस्राकेस्रा खोस्रेर हेर्ने गरेको छु बिगतका केहि बर्ष देखि । केहि बर्ष पहिले हालका मेरा ति संभ्रान्त छिेमेकी जोगी धुनी लगाएर नै गुजारा गरेका निरिह खानदानी रहेछन् । जोगबनी भन्सारमा ४ बर्ष सम्म सीमा वारिपारि गर्ने बटुवा पथिकका पोका पुन्तुरा लौरोले घोच्ने काम के पाएका थिए, सनकी भाग्यले ति छिमेकीलाई सडकबाट हलक्क उचालेर महलमा पुर्याएर छोडिदिएको रहेछ ।

तिनै छिमेकीको छोरी गतबर्षको दशैँको छेको पारेर इम्पोरियमबाट आफ्नै रोजाईमा महंगो टि–सर्ट र मिनी स्कर्ट लिएर आईन् । आफूले ल्याएको उक्त कपडा शनैशनै पहिरिएर आफ्नै घरको दुई तल्लाको बालकोनी बाट चिच्याउँदै आमाको ध्यान आफुतिर आकर्षित गर्दै बोल्न थालिन् । “मामु……..? मलाई हेरिस्योत अहिले म कस्ती  देखिएकी छु ?” उनको आमाको भन्दा मेरो संघारे आँखा ति छिमेकी नानीको आभुषित नुतन बस्त्रमा हकानिदै बजारिन पुग्यो । छातीको उभारले धकेलेको टिसर्टको अग्रभागमा लेखिएको थियो  “DO NOT TOUCH HERE “। त्यो पढ्ने बित्तिकै मेरो आँखा त्यहि छिमेकीको दुई तलाबाट आफ्नै आँगनमा बजारिन पुग्यो ।

उता बाटो पारिको छिमेकी सार्कीदाईको दशैँ अन्मरिनुको व्यथा अर्कै छ । गाउँ चाहारेर आएका सार्की दाई आफुले बोकेर आएको ठूलो धोक्रे थैलो फ्यात्त पिँढिमा फाल्दै निहुरेर आफ्नो घरको पाली भित्र पस्यो । सरदर आधा दर्जन उसका अंशियार छोराछोरीहरु पिँढीमा भेला भएर झोला तानातान गर्न थाले । मानौँ यस्तो अनुभूत गराउँथ्यो त्यो दृश्यले कि सोमालियामा पाउरोटी खोसाखोस भईरहेको छ । झोलाभरि गाउँका साहु महाजनका छोराछोरीले लगाएर पुरानो भएको दोश्रो बेते कपडाहरु बटुलेर ल्याएको रहेछ र त्यसै कपडाको छिनाझपटीमा उसका सन्तानबीच भीष्मयुद्ध भईरहेको थियो । बलिया बलिया छोराछोरीले राम्रै खोसेर रोजेर हात गोडा घुसारेर दशैँ मनाए । सबभन्दा निर्धो कान्छो छोरोले एउटा मात्र बचेको कपडा हात पार्यो र त्यहि जडौरीमा आफ्नो खुट्टा घुसारेर आफ्नै पहिरन हेरेर एक फन्को फनक्क घुम्दै बाउको चिउँडो हल्लाउँदै बाउलाई सोध्यो । “बीचमा सिलाएको कट्टु भेट्टाउनु भएन बा ?” बाउ लुत्रुक्क पर्यो ।

गहभरि आँसु बनाएर बाटो पारिको धनाढ्य छिमेकीको छोरा छोरीलाई नियाल्यो । सार्की दाईको कान्छो छोराको पहिरन देखेर छिमेकीको छोरीले उपहासयुक्त हाँसो ओकली । बिचरो सार्की दाईको कान्छो छोरोले मस्त तरुनी जातले लगाउने मिनी स्कर्ट लगाएर पिँढीको खाँबो समाएर फन्फनी घुम्दै रमाउँदै आफैँलाई थुप्थुपाउँदै आफुलाई फुल्याई रहेको थियो ।

पातलो खरको फुस्को छानो, पीरो धुवाँले आलसतालस भएकी उसकी श्रीमतीले आफ्नो बुढालाई सोधी, “केहि खानेकुरा दिएनन् बुढा गाउँमा ?” सार्की दाईले ओठ लेप्य्राउँदै बोल्यो । “के को दिनु नि, दमैलाई पुच्छर कामीलाई काँधो सार्कीलाई हुँदो न खाँदो पो भन्छ है पातकी बाहुन त ।” भित्रभित्रै कुँडिएर खै कुन चाहिँ बाहुनसंग बेस्सरी मुर्मुरियो ।

उता छिमेकीको घरमा पालेको उन्नत नस्लको डोभरम्यान कुकुर नाना परिकार घिचेर घुर्न पनि नसक्ने गरी आँगनमा निस्लोट संग पल्टिरहेको थियो भने  यता बाटो वारिको सार्कीदाईको घरमा छोराछोरीहरु खानै नपाएर लम्पट पेट लिएर असरट्ट पिँढिमा सुतिरहेका थिए । पिँढीबाट बाहिरीएर उनकी श्रीमति छानो माथिको बुढो घिरौँला देखाउँदै बर्बराउन थाली । “हैन ए बुढा यहि जालो पसेको घिरौँला टिेपेर भएपनि छोराछोरीलाई नुने झोल बनाएर खुवाउन पर्छ कि ?” मानाै यस्तो लाग्थ्योकि उनको उत्तर पर्खाईको प्रश्न गराईले घरको ठुलै महत्वपूर्ण खजाना चलाउने तम्तयारीमा अनुमतिको प्रतिक्षामा ब्यग्र छे । पिँढीबाट बाहिरीएर सार्की दाईले घरको धुरी तिर लत्रिएको बुढो घिरौँला नियाल्यो र भन्यो “ए टिप टिप आजलाई गर्जो टर्छ ।” पश्चिम तर्फ ओर्लिदै गरेको थकित घामको अबीरे रबिकिरणले उसको नाकको डाँडी छिचल्दै हाँच्छ्युँ गर्न बाध्य बनायो । दुई खेप हाँच्छ्यु गर्दै आफैँ मनमनै बरबरायो । थुक्क पाजी दशैँ अब फेरि हाम्रो घरमा गल्ती गरेर पनि हाम्रो असक्तताको खिल्ली उडाउन नआइज । –रबि रोषी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + sixteen =