विदेशी चलखेल रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिने प्रचण्डको भनाइ

“
काठमाडौं, असोज ४ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी शक्तिको चलखेल रोक्न देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता रहेको बताउनुभएको छ ।
गोरखा सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सबै राजनीतिक दलसँग सल्लाह गरी संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने व्यवस्था गरियो भने कम्तीमा पनि पाँच वर्ष देशमा राजनीतिक स्थिरता हुने धारणा राख्नुभयो ।
अध्यक्ष प्रचण्डले प्रत्यक्ष कार्यकारी प्रमुख नै राख्नुपर्ने एजेण्डा पहिलो संविधानसभा निर्वाचनका बेला नेपाली काँग्रेस, एमाले र मधेस केन्द्रित दलहरुले पनि सहमति जनाएको उल्लेख गर्दै सरकार टिकाउन मन्त्री थप गर्नैपर्ने, नौ÷नौ महिनामा सरकार फेर्नै पर्नेजस्ता प्रवृत्तिको अन्त्यका लागि पनि कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष प्रचण्डले सबै माओवादी पुनः एक ठाउँमा आउनुपर्नेमा जोड दिंदै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जहाँ जोसँग सहकार्य गर्दा उपयुक्त हुन्छ, उही दलसँग सहकार्य वा तालमेल गरिने बताउनुभयो ।
“








