वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, राजनीति र असफल नेतृत्व

दक्षिण एसियाकै उदाहरणीय स्वास्थ्य संस्थाका रूपमा परिचित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान यति बेला ‘बिरामी’ भएको छ । पूर्वाञ्चलका जनतालाई अत्याधुनिक स्वास्थ्योपचार दिन र देशका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्न स्थापना गरिएको प्रतिष्ठान भ्रष्टाचार, कर्मचारीतन्त्र र राजनीतिकरणका कारणबदनाम बन्दै गएको छ ।

पछिल्लो समय एमआरआई मेसिन खरिद, एमसिएच भवन निर्माण र क्यान्सर सेन्टरको लागत स्टिमेटमा पदाधिकारीले व्यापारी र ठेकेदारसँग मिलेर राज्यको करोडौं रुपैयाँ दोहन गरेको चर्चा चुलियो । सञ्चार माध्यममा आएका विषयलाई हेरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि तत् सम्बन्धमा फायलहरु नियन्त्रणमा लिएर हे¥यो । तर, अहिलेसम्म गुदी तथ्य बाहिर किन आउन सकेन ?

यति बेला प्रतिष्ठानमा कर्मचारी चिकित्सकहरु विभिन्न माग राखी आन्दोलनरत छन् । उनीहरूले तलबमान आयोगले सिफारिस गरेको तलब सुविधावाहेक प्रतिष्ठान भित्रको भ्रष्टाचार र कमिसनतन्त्रका कुरा पनि उठाएका छन् । नयाँ उपकूलपति आएको ६ महिना वितिसक्दा पनि प्रतिष्ठान भित्र कुनै सुधार हुन नसकेको बताएका छन् । स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रमा यसरी दिनहुँ आन्दोलन भइरहँदा त्यसले पार्ने प्रभाव पक्कै राम्रो छैन । यसअघि विगतका वर्षहरूमा पनि प्रतिष्ठानमा बारम्बार आन्दोलन भइरहेको यथार्थ लुकेको छैन ।

वीपी प्रतिष्ठान भित्रको समस्या भनेको आन्तरिक व्यवस्थापन नै हो । प्रतिष्ठानमा राजनीतिक नियुक्ति लिएर आएका पदाधिकारीले प्रतिष्ठानलाई ‘दुहुनो गाई’ बनाउनु नै अभिषाप हो । अस्पताल निर्देशक, रजिष्ट्रार, शिक्षाध्यक्ष, उपकूलपति जस्ता पदहरुमा योग्यता र दक्षता भन्दापनि पैसा र पावर हेरिन्छ । जसको सरकार छ, जोसँग पैसा छ त्यसले प्रतिष्ठानमा पदाधिकारी नियुक्ति गर्दछ । नियुक्ति गर्ने बेलामा योग्यता र क्षमता हेर्ने चलन छैन । पार्टीमा काम गरेको, पदमा पुगेपछि पार्टीलाई आर्थिक सहयोग गर्न सक्ने र ब्यापारीहरुसँग राम्रो सम्बन्ध बनाउन सक्नेलाई प्राथमिकता दिइन्छ ।

यसरी राजनीतिक नियुक्ति लिएर आएका पदाधिकारीले दलका नेता तथा कार्यकर्तालाई पोस्ने काम बाहेक केही गर्न सक्दैनन् । अहिले त्यही खर्च गरेको पैसा उठाउन पदाधिकारीहरुले प्रतिष्ठानलाई ‘लुछ्न’ थालेका छन् । यसरी दिन दहाडै प्रतिष्ठानको सम्पत्तिमाथि पदाधिकारीले ‘नाङ्गो नाच’ देखाइरहँदा त्यहाँ आश्रित कर्मचारी चिकित्सक तथा धरानबासीले आवाज उठाउनु किमार्थ नराम्रो हैन । प्रतिष्ठानमा आश्रित तल्लो तहका कर्मचारीमा धेरै विभेद छ । ज्यालादारी र करारमा रहेका कर्मचारी न्यूनतम तलब सुविधामा काम गरिरहेका छन् । हेल्पर तहका कर्मचारीले पाउँदै आएको सुविधाले साधारण जिवनयापन समेत गर्न सकिन्न । यो विषयमा व्यवस्थापन पक्षले कहिल्लै सोच विचार गर्न सकेन । पछिल्ला चार पाँच वर्ष यता प्रतिष्ठानमा सेवा सुविधाकै विषयमा धेरै आन्दोलन, बन्द हड्ताल भएका छन् । र, सहमति पनि भएका छन्, तर, कार्यान्वयन हुन सकेका छैनन् ।

प्रतिष्ठानका कर्मचारीले व्यवस्थापनलाई आरोप लगाइरहँदा कर्मचारीका पनि कमजोरी छन् । तलब प्रतिष्ठानको खाने, काम बाहिर गर्ने, पार्टीको झन्डा ओढेर नेताका गुणगान गाउने, व्यापारीसँग कमिसन खाने, कार्यालयमा समयमा नआउने, चिकित्सकहरु बाहिर बिरामी जाच्न जाने, ल्याव परीक्षण बाहिर गर्न पठाउने, आफ्नो पदीय जिम्मेवारीबाट भाग्ने यस्ता अनगिन्ती कारण छन् जसले प्रतिष्ठानको दिनचर्यामा बाधा आइपरेको छ ।

स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रमा काम गरिसकेपछि त्यसको गम्भिरता बुझ्न आवश्यक छ । त्यसमाथि प्रतिष्ठान पूर्वाञ्चलकै रेफरल सेन्टर हो । दैनिक तीन–चार हजारको हाराहारीमा बिरामी आउँछन् । यी बिरामीलाई प्रतिष्ठानबाट चुस्त रूपमा गुणस्तरीय सेवा दिनु कर्मचारी, चिकित्सक र व्यवस्थापन पक्षको पहिलो दायित्व हो । तर, प्रतिष्ठानका कर्मचारी, चिकित्सक र व्यवस्थापन कति लापरवाह र गैर जिम्मेवार छन् भन्ने कुरा त्यहाँ उपचार गर्न गएपछि थाहा हुन्छ ।

जब चिकित्सक र कर्मचारी नै नियमको धज्जी उडाउँछन् । जब पदाधिकारीहरू नै भ्रष्टाचारमा लिप्त हुन्छन् । तब त्यहाँबाट गुणस्तरीय सेवाको आशा गर्न सकिन्न । केही वर्षअघिसम्म प्रतिष्ठानमा राम्रा र दक्ष चिकित्सक थिए । अहिले तिनीहरू विराटनगर, काठमाडौँ, भरतपुर सरुवा भएका छन् । डा. याम रोक्का, डा. निदेश श्रेष्ठ, डा. गुणराज पौडेल, डा. सुमन रिजाल जस्ता राम्रा जनशक्तिलाई प्रतिष्ठानले किन राख्न सकेन ? अहिले प्रतिष्ठानमा विषेशज्ञ डाक्टरहरु औलामा गन्न सकिने मात्र छन् । यी पनि अदक्ष व्यवस्थापनका कारण कुनै दिन नबाहिरिएलान् भन्न सकिन्न । यदि त्यसो भयो भने, धरानबासीले ठुलो मूल्य चुकाउनु पर्दछ ।

कुनै पनि संस्था चलायमान हुनका लागि चुस्त व्यवस्थापन र योग्य नेतृत्व चाहिन्छ । प्रतिष्ठानमा आएका एकाध पदाधिकारी बाहेक कुनै पनि पदिय हैसियतभन्दा माथीका भएनन् । १० वर्षअघिसम्म पदाधिकारी बाहिरबाट नियुक्त गरिन्थ्यो । टिका लगाएर बाहिरबाट आएकाले प्रतिष्ठानलाई बुझ्नै वर्षौ लगाउँथे । राजनीतिक नियुक्ति लिएर आएकाहरुले प्रतिष्ठानबाट तलब खाने, ब्यापारीहरुबाट कमिसन खाने काम बाहेक केही गरेनन् । लुकेर आए, लुकेरै गए ।

५ वर्षअघि उपकूलपति भएका डा. बलभद्रप्रसाद दास प्रतिष्ठानबाट पहिलो पटक उपकूलपति भए । इतिहासमै पहिलो पटक प्रतिष्ठान भित्रबाट उपकूलपति नियुक्ति गरियो । प्रतिष्ठान बुझेको प्रतिष्ठान भित्रै व्यक्ति नेतृत्वमा गएपछि त्यसले प्रतिष्ठानलाई केही फाइदा पनि भयो र केही सुधार पनि भयो । यसो भनिरहँदा उनी ‘दूधले नुहाएर आएका’ भनेको पक्कै हैन । उनको कार्यकाल जति सफल भयो त्यत्ति नै विवादित पनि भयो ।

अहिले आएका उपकुलपति डा.राजकुमार रौनियारको नियुक्ति प्रक्रिया विपरीत भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ । उनी यसअघि रेडियोलोजी विभागमा हुँदापनि विवादित नै थिए । रेडियोलोजी विभागमा उनी रहुन्जेल कहिल्लै राम्रो सेवा दिइएन । बिरामीहरु महँगो रेटमा बाहिर ल्याव परीक्षण गर्न जानुपर्यो । उनी रेडियोलोजी डिपार्टको प्रमुख हुँदा १२ करोडमा खरिद गर्न लागिएको रेडियोथेरापी मेसिन ठिक छैन भन्दै खरिद गर्न दिएनन्, अहिले उपकूलपति भएपछि सोही मेसिन १८ करोडमा खरिद गर्नुपर्छ भनेर अड्डी कस्नुको कारण के ? क्यान्सर सेन्टरका लागि आएको बजेट रकमान्तरण गरेर उपकरण खरिद गर्नुको अर्थ के ? उपकूलपति भएँ र असीमित अधिकार छ भन्दैमा प्रतिष्ठानको नियम कानुन नै तोडमोड गरेर मनपरी गर्न पाइन्छ ? एमआरआई खरिद गर्ने विषयमा गरिएका हरेक प्रक्रियालाई सार्वजनिक गर्दा तपाईँलाई के अफ्टेरो छ ? स्थानीय निकायले सार्वजनिक सुनुवाइ गरेर आफ्नो प्रगति विवरण र आयब्यय सार्वजनिक गरेजस्तो प्रतिष्ठानको आयब्यय सार्वजनिक गर्न तपाईँलाई के को आपत्ति ?

प्रतिष्ठानको लेखापरिक्षण महालेखा परिक्षकबाट हुन्छ । विगत लामो समयदेखिको लेखा परीक्षणले प्रतिष्ठानमा अत्याधिक बेरुजू हुने ठहर गरेको छ । यसरी दिन दहाडै उच्च पदस्थ पदाधिकारीले आफ्नो निजी सम्पत्ति जस्तो गरेर प्रतिष्ठानलाई ब्यत्तिगत स्वार्थमा प्रयोग गर्नु कदापि प्रतिष्ठान र धरानबासीको हितमा छैन ।

मिडियामा सुन्नमा आए अनुसार उपकूलपति हुनका लागि धेरै खर्च गरिएको छ । प्रतिष्ठानमा काम गर्ने ठेकेदार, सप्लायर्सबाट करोडौं लिइएको छ । कुनै दिन कुनै ठेकेदार र व्यापारीले डा. सावको कर्तुत सार्वजनिक गरेर नाङ्गेझार पार्दा आफ्नो धोती कसरी सम्हाल्नु हुन्छ ? तपाईँ आफ्नो छातीमा हात राखेर भन्न सक्नुहुन्छ ‘मैले कुनै शक्ति प्रयोग नगरी यो पद पाएको हो, मैले कुनै आर्थिक चलखेल गरेको छैन !’
वीपी प्रतिष्ठान धरानको गहनामात्र हैन, धरानलाई चलायमान गराउने एउटा माध्यम पनि हो । दैनिक चार हजारबढि बिरामी प्रतिष्ठानमा उपचार गर्नका लागि आइरहँदा ६० प्रतिशत बिरामी धरान बाहिरबाटै आएका हुन्छन् । तिनीहरूले धरानको अर्थतन्त्रमा पु¥याउने योगदान ठुलो छ । र, यी जनता स्वास्थ्योपचारका लागि विराटनगर वा सिलिगुडी जानु पर्दा त्यसले बिरामीलाई मात्र असर पर्दैन, धरानको अर्थतन्त्रमा पनि पर्छ । यो कुरा धरानबासीले बुझ्न जरुरी छ ।

यति बेला प्रतिष्ठान भित्रको वेथितिका विरुद्ध धरानबासी युवा समुदाय अग्रसर भएको छन् । वीपी प्रतिष्ठान धरानको चिनारी भएकोले यसको सर्वोत्तम हितका लागि धरानबासी सक्रिय हुनु जरुरी पनि छ । धरानबासी, नागरिक समाज, युवा वर्ग, राजनीतिक दलहरूले प्रतिष्ठानमा हुने हरेक गतिविधिलाई भित्र र बाहिर बसेर निरीक्षण गर्न आवश्यक छ । प्रतिष्ठानमा आएका पदाधिकारी ५ वर्षमा बदलिन्छन् । तर, प्रतिष्ठान त सदियौं रहनु पर्दछ । व्यक्तिगत स्वार्थमा संस्था नै धरासायी बनाउन खोजिन्छ भने त्यसमा धरानबासी र सचेत नागरिकले हस्तक्षेप गर्नै पर्दछ ।

हो, वीपी प्रतिष्ठानभित्र चर्को राजनीति भएकै छ । केही कर्मचारी राजनीति प्रति बढी नै झुकेर लागेको देखिएकै हो । प्रतिष्ठानको नियमावलीले कुनै पनि पदाधिकारी, कर्मचारीलाई राजनीति गर्न दिँदैन । यो व्यवस्थापनले हेर्ने कुरा हो । लामो समयदेखि मिडियाले उठाएको कुरामा उपकूलपति ज्यूले किन एक्सन लिन सक्नु भएन ? तलब प्रतिष्ठानको खाएर विराटनगर एयरपोर्टमा दलका नेता कार्यकर्ता लिन जाने, चुनावमा भोट माग्न जाने, मेयर उपमेयरका अघिपछि लागेर सिंहदरबार धाउनेलाई कारबाही गर्न तपाईँलाई कुन शक्तिले रोक्यो ? सार्वजनिक गर्नुहोस् ।

उपकूलपति ज्यू, तपाईँले पार्टीको सदस्यता लिनु भएको छैन ? तपाईँको दाजु गौरीशंकर रौनियार नेपाली काँग्रेसबाट दुहवीभलुवा नगरपालिकाको मेयर पदमा लडिरहँदा तपाईँ खुल्लारुपमा दुहवी गएर भोट माग्नु भएन ? तपाईँले आफ्नो दाइलाई नैतिक आर्थिक सहयोग गर्नुभएन ! यो कुरा विर्सिदिउँ, तपाईँको नियुक्तिलाई के भन्नुहुन्छ ? तपाईँको नियुक्ति राजनीतिक नियुक्ति हैन ? तपाईँ उपकूलपति हुन पाउँ भनेर राजनीतिक शक्ति केन्द्रमा धाएको हैन ? तपाईँ महिनौंसम्म राजधानीको प्रर्दशनी मार्गमा रहेको नेपाल चिकित्सक सङ्घको कार्यालयको गेष्ट हाउसमा बसेर लाजिम्पाट, सिंहदरबार, बुढानिलकण्ठ, टंगाल धाएको हैन ? यो पनि त राजनीति नै थियो नि हैन र !

हामीले मान्नु पर्दछ प्रतिष्ठानमा चरम राजनीति छ । त्यो राजनीति कर्मचारीमा मात्र हैन, व्यवस्थापन र पदाधिकारीमा समेत छ । जबसम्म राजनीतिक नियुक्ति गरिन्छ । जबसम्म पैसा पहुँचमा योग्यता तौलिन्छ, त्यहाँ राम्रा मान्छेको हैन हाम्रा मान्छेको हैकम चल्छ । तपाईँ प्रतिष्ठानको अभिभावक हो, कर्मचारी, शिक्षक र विद्यार्थी जो सुकैले राम्रो नराम्रो गरे पनि जस तपाईँले नै लिनुपर्छ ।

मैले बुझेको प्रतिष्ठानका केही व्यक्ति पदाधिकारी आफ्नो व्यक्तिगत स्वार्थमा धरानका युवाहरूलाई, पार्टीहरूलाई, नागरिक समाजलाई प्रयोग गरेर आफ्नो स्वार्थ पुरा गर्न लागिरहेछन् । यसका लागि उनीहरूले ‘सामदाम दण्डभेद’ प्रयोग गरेका छन् । एउटा समूहलाई हातमा लिएर अर्को समूहलाई भिडाउने नीति गरिएको छ । यसले धरानबासीलाई नै तितरवितर गराउने काम गरेको छ । प्रतिष्ठान धरानबासीको साझा सम्पत्ति हो । यसको संरक्षणमा सबै सजग रहनै पर्दछ । कुनै व्यक्तिको स्वार्थमा, कुनै दलको स्वार्थमा प्रतिष्ठानलाई प्रयोग गर्नुभएन ।

अन्तमा,
वीपी प्रतिष्ठानको उपकूलपति भएको हैसियतले डा. रौनियारले प्रतिष्ठानका जस अपजस सबैको जिम्मेवारी लिन सक्नुपर्दछ । प्रतिष्ठानका कर्मचारी, चिकित्सक, विद्यार्थीले के गरिरहेछन् ? प्रतिष्ठानको सेवा सुविधा कसरी राम्रो बनाउने ? आइसियू, एनआइसीयू, न्यूरो सेवा कसरी विस्तार गर्ने, प्रतिष्ठानको शैक्षिक गुणस्तरलाई कसरी राम्रो बनाउने ? दैनिक उपचारका लागि आउने सेवाग्राहीलाई कसरी चुस्त दुरुस्त सेवा दिने र, प्रतिष्ठानमा कसरी विस्वस्तरीय सेवा विस्तार गर्ने विषयमा ध्यान केन्द्रित गर्न जरुरी छ ।

तपाईँ आएको ६ महिना भयो । यो ६ महिनामा तपाईँले त्यस्तो ठुलो प्रगति त गर्न सक्नुहुन्न । तर, कमसेकम योजना दिन सक्नुहुन्छ । कर्मचारी, चिकित्सक, विद्यार्थीलाई मोटिभेट गर्न सक्नुहुन्छ । मैले सुने अनुसार तपाईँले यो ६ महिनामा एक पटकपनि आफ्ना सहकर्मी, कर्मचारी, चिकित्सक, विद्यार्थीका प्रतिनिधिलाई बोलाएर उनीहरूका समस्या, धारणासमेत सुन्न सक्नु भएको छैन ।
जबसम्म तपाईँ कसैलाई विश्वास गर्न सक्नुहुन्न । जबसम्म अरूको कुरा सुनेर आफ्नो निर्णय लागू गर्न सक्नुहुन्न । तबसम्म तपाईँ सफल बन्नुहुन्न । तपाईँको सफल कार्यकालको हार्दिक शुभकामना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *