चितवनमा छोरीको भ्रुण हत्या कहालीलाग्दो

किशोर खनाल, भरतपुर । भरतपुर–१० की बिमला पाण्डे (नाम परिवर्तन) को लगातार तीन छोरी भए । उनको दुई छोरी भएपछि स्थायी बन्ध्याकरण गर्ने चाहना थियो । तर, परिवारको दबाबपछि चौथो गर्भ पनि उनको रह्यो ।

तीन महिनापछि भिडियो एक्सरेमार्फत उनको चौथो गर्भ पनि छोरी रहेछ भन्ने थाहा भयो । बसिसकेको सन्तान जे भए पनि स्वीकार्न तयार थिइन् उनी । तर, परिस्थिति उनको वशमा रहेन । वंशलाई निरन्तरता दिन छोरा जन्माउन उनलाई परिवारले दबाब दियो । लिङ्ग पहिचानपछि उनले आफ्नो गर्भ फाल्न बाध्य भइन् ।

उनीमात्र होइन, छोराको चाहनाले पारिवारिक दबाबका कारणले गर्दा धेरै चेलीहरुले आफ्नो गर्भ फाल्न बाध्य भएका छन् । कतिले छोराको आसमा आफ्नै इच्छाले गर्भमा छोरीको हत्या गरिरहेका छन् । पछिल्लो समय चितवनमा पनि गर्भमा छोरीको भु्रण हत्या गर्नेहरुको सङ्ख्या दिनहुँ बढिरहेको छ ।

‘लिङ्ग पहिचान गरेर जुन गर्भपतन गरिन्छ, यो अपराध हो । गर्ने अपराधी हुन् । यो महामारी चितवनमा फैलिदै छ’ सीएसओ नेटवर्क चितवनका अध्यक्ष केशवप्रसाद रेग्मीले भने, ‘यो महामारी फैलिन नदिऔँ, सबै मिलेर यसलाई न्यूनीकरणमा लागौँ ।’

चितवनमा छोरीको भ्रण हत्या गर्ने महामारी बढ्दै गएपछि सीएसओ नेटवर्कले लिङ्ग पहिचान गरेर गरिने गर्भपतन तथा त्यसले पार्ने असर र रोकथामको विषयमा बहस नै चलायो । सीएसओ नेटवर्कले स्थानीय जनप्रतिनिधिलाई राखेर छोरीको भ्रुण हत्याको चितवनको समस्याबारे जानकारी दिएको छ ।

चितवनमा छोरी भु्रण हत्याको तथ्याङ्क यकीन नभए पनि विभिन्न अस्पतालहरुमा छोरीभन्दा छोराको जन्मदर बढेको पाइन्छ । ‘नेपाली समाजमा छोरीलाई भगवान् लक्ष्मीको प्रतीकका रूपमा हेरिए पनि वंश चलाउन छोरा चाहिन्छ भन्ने सोच उत्तिकै बलियो छ’ अध्यक्ष रेग्मीले भने, ‘समाजले धार्मिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक रूपमा पनि छोरालाई नै बढी महत्त्व दिँदै आएको छ ।

चिकित्सा विज्ञानले भु्रणको लिङ्ग पहिचान गर्ने प्रविधि विकास गरेपछि छोरीहरूको जन्मपूर्व नै हत्या गरिने विकृति मौलाउँदै गएको छ । लिङ्ग पहिचानपछि गरिने गर्भपतनलाई गैरकानुनी मानिन्छ तर विभिन्न अस्पताल तथा चिकित्सकहरूको मिलेमतोमा भु्रण हत्या बढ्दै गएको अध्यक्ष रेग्मीले बताए ।

यसको असरले सामाजिक संरचना भत्कने, बलात्कार, हिंसा, अपराधका घटना बढ्ने र जैविक रूपमा समेत गम्भीर खतरा पुग्ने सिविन नेपाल चितवनका कार्यक्रम संयोजक शारदा रिजालको भनाइ थियो । उनले भनिन्, ‘वंश परम्परा छोराबाट मात्र धान्छ भन्ने मान्यताले छोरीलाई गर्भमै मारिएको छ ।’ उनले चितवनका विभिन्न अस्पतालको तथ्याङ्क प्रस्तुत गर्दै छोरीको सङ्ख्याको तुलनामा छोराको जन्मदर बढेको बताइन् । उनले भनिन्, ‘छोरीकै जन्म नभए छोराले बुहारी कहाँबाट ल्याउँछ ?’

छोराको चाहना राख्ने अत्याधिक हाउसहोल्ड सर्भेले छोराको चाहाना राख्नेको सङ्ख्या अत्याधिक रहेको दखाएको थियो । यो सर्भेमा ९८ दशमलव ८ प्रतिशत परिवारले छोराको चाहाना राख्ने गरेको उल्लेख छ । सर्भेले ७९ दशमलव ५ प्रतिशतले बुढ्यौलीको सुरक्षाका लागि, ६७ प्रतिशतले आर्थिक सहयोगका लागि, ६० दशमलव १ प्रतिशतलले वंश चलाउन छोरा चाहेको देखाएको छ ।

यसै गरी, ५ दशमलव १ प्रतिशतलले अन्तिम संस्कारका लागि, २३ दशमलव ६ प्रतिशतले सम्पत्तिको हकदारका लागि, २१ दशमलव ५ प्रतिशतलले शक्तिका लागि र ११ दशमलव २ प्रतिशतले धार्मिक कारणले छोराको चाहाना राखेका छन् ।

चितवन पनि हरियाणा बन्न सक्ने
नयाँ प्रविधिको दुरुपयोग र छनौटले पनि गर्भपतन गर्ने प्रवृत्ति बढ्दै गएको छ । यसले लैङ्गिक दरमा प्रभाव पारेको छ । सामान्य लैङ्गिक दर प्रति १०० महिलामा १०२ देखि १०६ पुरुष हुनुपर्छ । यो दर १०८ भन्दा बढी भयो भने लैङ्गिक दरमा असमानता भएको मानिन्छ ।

‘लैङ्गिक असमानताले भारतको हरियाणामा बिहे गर्ने केटी नै नपाउने अवस्था सृजना भएको छ । बेलैमा नसोच्ने हो भने त चितवन पनि हरियाणा बन्न के बेर !’ सीएसओ नेटवर्कका अध्यक्ष केशवप्रसाद रेग्मीले भने ।

चितवन मेडिकल कलेजमा २०७२/७३ मा एक हजार ११९ बालक जन्मेका थिए भने जम्मा ८२९ बालिका जन्मेका थिए । २०७२/७३ मा भरतपुर अस्पतालमा ६ हजार १६२ बालक जन्मेका थिए भने ५ हजार २५ बालिकाको जन्मदर थियो ।

‘यसरी बर्सेनि विभिन्न अस्पतालमा छोरीको तुलनामा छोराको जन्मदर बढिरहेको छ, यस्तो अवस्थामा न्यूनीकरण नआए यसले भयावह अवस्था आउन सक्छ’ सिविन नेपालका चितवन अध्यक्ष शारदा रिजालले बताइन् । पत्रकार महासङ्घका चितवनका अध्यक्ष राधेश्याम खतिवडाले भु्रण हत्या गर्ने अवस्था विकराल बनेको र यो कठिन विषय भएको बताए ।

प्रविधिको दुरुपयोग
१२ हप्ताभन्दा तलका शिशुको लिङ्ग पहिचान नगरी गर्भपतन गर्न वा गराउन कानुनले छुट दिएको छ । तर, प्रविधिको विकाशसँगै एम्निओटिक फ्लुडबाट ६ हप्तामै लिङ्ग पहिचान गर्न सकिन्छ । अल्ट्रासाउन्ड प्रविधिबाट १२ हप्ताभन्दा माथिको लिङ्ग पहिचान गर्न सकिन्छ ।

‘छोरीको भ्रण हत्या गर्नेमा सक्षम, बौद्धिक, धनी, सहरी क्षेत्रमा बढिरहेको छ’ अध्यक्ष रिजालले बताइन् । सहरी क्षेत्रका अधिकांश गाइनेक्लोजिस्टका क्लिनिकमा लिङ्ग छुट्याउने काम हुन्छ । धेरै हप्ता भइसकेको अवस्थामा पनि जथाभावी गर्भपतन गराउँदा महिलाको ज्यानैसमेत गएका उदाहरण प्रशस्तै छन् ।

के भने जनप्रतिनिधिले ?
कालीका नगरपालिकाका मेयर खेमनारायण श्रेष्ठ गोपीले छोरीको भ्रुण हत्याको अवस्था दयनीय रहेको बताउँदै यसलाई न्यूनीकरण गर्न कालीका नगरपालिकाले भूमिका खेल्ने बताए । उनले भने, ‘पैत्रिक सम्पतिको हकदार छोरीलाई पनि बनाए यो समस्या आउने थिएन जस्तो लाग्छ ।’

रत्ननगर उपमहानगरपालिकाकी उपमेयर बिमलादेवी दवाडीले छोरीलाई निःशुल्क शिक्षा र रोजगार दिने अवस्था सिर्जना भए छोरीको भु्रण हत्या नहुने बताइन् । उनले भनिन्, ‘हरेक कुरामा छोरीलाई प्राथमिकता दिए छोरा चाहना गर्नेको सङ्ख्या कम हुँदै जान्छ र छोरीलाई भु्रणमा मार्नेहरुको पनि कमी हुन्छ ।’ राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले भु्रण हत्या गर्ने अवस्था गम्भीर भएको र यसलाई योजना बनाएर अगाडि बढ्ने बताए ।

के छ कानुनमा ?
मुलुकी ऐनको गर्भपतनसम्बन्धी व्यवस्थाअनुसार कसैले गर्भवती महिलालाई करकाप, धम्की, ललाइफकाई वा प्रलोभनमा पारी गर्भपतन गराउनु वा गर्भपतन गराउने उद्देश्यले गर्भमा रहेको भु्रणको लिङ्ग पहिचान हुने कुनै काम गर्नु गराउनु दण्डनीय मानिएको छ । भु्रणको लिङ्ग पहिचान गर्ने र गराउनेलाई तीन महिनादेखि ६ महिनासम्म कैद सजाय हुन्छ । लिङ्गको आधारमा गर्भपतन गर्ने र गराउने दुवैलाई थप एक वर्ष कैद हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *