फोक्सोको क्यान्सरको लक्षण, उपचार र बच्ने उपाय

भदाै २९, काठमाडाै । क्यान्सरका विभिन्न प्रकारमध्ये धेरैजसो मुलुकमा फोक्सोको क्यान्सरको समस्या बढी देखिन्छ । पुरुषमा यो क्यान्सरलाई एक नम्बरको क्यान्सर भनेर चिनिन्छ, नेपालमा समेत यो लागू हुन्छ ।  महिलाहरूमा भने फोक्सोको क्यान्सर तेस्रो स्थानमा छ । उनीहरू बढीजसो स्तन र पाठेघरको क्यान्सरबाट पीडित छन् ।

कुल क्यान्सरका रोगीमध्ये १५ देखि २० प्रतिशत फोक्सोको क्यान्सरका बिरामी छन् । कुन मुलुकमा धुमपानको सहज उपलब्धता र प्रयोग छ, त्यस अनुसार नै बिरामीको अनुपात देखिन्छ । युरोपका केही मुलुकमा फोक्सोको क्यान्सरका बिरामी केही बढी छन् ।

फोक्सोको क्यान्सरको ७५ देखि ८० प्रतिशत कारक धुमपान वा सुर्तीजन्य पदार्थको सेवन नै हो । बिरामीमध्ये ८५ प्रतिशतमा कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको प्रभाव पाइन्छ । चुरोट तथा धुमपान नगर्ने करिब १५ प्रतिशतमा पनि फोक्सोको क्यान्सर हुने सम्भावना रहन्छ ।

के हो फोक्सोको क्यान्सर ? 

फोक्सोको क्यान्सर दुई प्रकारका हुन्छन्, स्मलसेल र नन स्मलसेल । स्मलसेल करिब १५ प्रतिशतमा हुन्छ भने नन स्मलसेल करिब ८५ प्रतिशतमा । जब शरीरको सामान्य सेल बिग्रिएर अस्वाभाविक रूपमा बढ्न थाल्छ, तब क्यान्सर विस्तार हुन थाल्छ ।

फोक्सोको क्यान्सर पनि अरू क्यान्सर जस्तै हो । जब फोक्सोको भित्री भागमा रहेका कोषहरूको जीनमा म्युटेसन भएर खराबी आउँछ, फोक्सोका कोषहरू अनियन्त्रित रूपमा बढ्छन् । सन् १९७० तिर सबै क्यान्सरको उपचार विधि एउटै हुन्थ्यो भने अहिले प्रकार अनुसार उपचार विधि फरक हुन थालेको छ ।

किन हुन्छ ? 

चुरोट तथा सुर्तीजन्य पदार्थले फोक्सो लगायत विभिन्न आठ प्रकारका क्यान्सरको सम्भावना बढाएको हुन्छ । त्यसैले चुरोट तथा धुमपानको अवस्था घटाए यसको जोखिम कम गर्न सकिन्छ ।

फोक्सोको क्यान्सर किन पनि जोखिमपूर्ण हो भने पहिलो र दोस्रो चरणमा यो निकै कम अवस्थामा पत्ता लाग्छ । फोक्सोको क्यान्सर लागेका मध्ये १५ प्रतिशतलाई पाँच वर्षसम्म मात्र बचाउन सकिन्छ । किनभने क्यान्सर लागेको ढिलोगरी अर्थात् तेस्रो र चौथो चरणमा मात्रै रोग पत्ता लाग्छ । नेपालमा ८० प्रतिशत बिरामी तेस्रो र चौथो चरणमा पुगेपछि उपचारका लागि आउने गरेका छन् । सुरुवाती चरणमा फोक्सोको क्यान्सरको लक्षण देखिँदैन, भएका लक्षण पनि टिबी लगायतका अन्य रोगको लक्षणसँग मिल्न पुग्छ । फोक्सोको क्यान्सरमा शल्यक्रिया गरेर बिरामी बाँच्ने सम्भावना एक प्रतिशतभन्दा कम हुन्छ ।

हामीले गर्ने धुमपानमा चार हजार प्रकारका रसायन हुन्छन् । त्यसमध्ये झन्डै ५५ प्रकारका रसायन कार्सिनोजेनिक खालका हुन्छन् । जसको सेवनले क्यान्सरको जोखिम हुन्छ । निकोटिनले त लत बनाउने मात्रै हो ।

सुर्ती र चुरोट उस्तै हो । फरक यति हो कि चुरोट खाँदा धुवाँको रूपमा जान्छ भने सुर्तीमा तरल रूपमा । कतिपय नेपालीले चुरोट खान छाडेर खैनी खाने झनै नराम्रो आदत सुरु गरेका छन् । खैनीले मुखको क्यान्सरको जोखिम अझ बढाउँछ ।

धुमपान गर्नेहरूको छेवैमा बस्नेलाई ‘प्यासिभ स्मोकर’ भनिन्छ । चुरोट सल्काएपछि फैलने रसायन शरीर भित्र–बाहिर जान्छन् । चुरोट तान्ने क्रममा भित्र खपत नभएका रसायनहरू फूऽऽ गर्दा बाहिर निस्कन्छन् र छेवैमा बस्नेको शरीरभित्र पुग्छ । त्यसैले चुरोट नखाने र चुरोट खानेको छेउछाउमा बस्नेहरूले सुरक्षित छु भनेर दाबी गर्न मिल्दैन । तथ्यांक अनुसार, प्यासिभ स्मोकरलाई सर्ने सम्भावना १० प्रतिशतको हाराहारीमा रहन्छ भनिन्छ ।

गाउँघरमा बालिने चुल्होको धुवाँमा धुमपानमा जत्तिको विषाक्तता हँुदैन । तर यसले जनस्वास्थ्यमा प्रतिकूल असर पार्छ । नेपालका कतिपय ठाउँमा चुरोट तथा सुर्तीजन्य पदार्थ नखाएर तमाखु, हुक्का वा सिसा भनेर खाने चलन छ । सोझै सुर्तीजन्य पदार्थ नभए पनि त्यो धुवाँमा धेरै प्रकारका खराब रसायन हुन्छन् ।

फोक्सोका क्यान्सरका धेरै लक्षणहरू टिबीको लक्षणसँग हुबहु मिल्छ । त्यसैले खोकी, रगतमा खकार तथा फोक्सोमा पानी जमेको लक्षण देखिनासाथ टिबी होला भनेर उपचार गर्नेहरू पनि छन् । क्यान्सरको सुरुमा जब एउटा सेलमा खराबी भएर आउँछ, त्यसले शरीरको प्रणालीसँग समन्वय गर्दैन । त्यस्ता कोषको संख्या बढ्दै गएर वरपरका कोषहरूलाई नष्ट गर्छ । कालान्तरमा यसले शरीरका प्रणालीहरूलाई अवरुद्ध गर्छ र अन्य अंगमा समेत असर गर्छ ।

लक्षण

१. निरन्तर खोकी लागिरहने

२. खकारमा रगतको मात्रा देखापर्ने

३. स्वर फरक हुँदै जाने र भासिने

४. सास फेर्न गाह्रो हुने, स्वाँस्वाँ बढ्ने

५. शरीरको तौल बढ्ने

६. क्यान्सर फोक्सोबाट अन्यत्र फैलिए हाड दुख्ने ।

नेपालले धुमपान विरुद्धको अन्तर्राष्ट्रिय सन्धिमा समेत हस्ताक्षर गरेको छ । भुटानले मुलुकलाई सुर्तीमुक्त मुलुक घोषणा ग¥यो । नेपालमा यो चेतना कहिले आउने हो ? नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग घटाउने हो भने कुल क्यान्सर रोगीमध्ये एक तिहाइ नै कम भएर जान्छ । नेपालकै हकमा फोक्सोको क्यान्सरका बिरामीमध्ये करिब ८५ प्रतिशत कमी हुन्छ ।

नेपालमा कुनै आधिकारिक आँकडा नभए पनि केही अस्पताल र उपचारका लागि भारत जाने बिरामीहरूको तथ्यांक हेर्दा आजभन्दा १० वर्षअगाडि ५० हजार क्यान्सरका बिरामी नेपालमा थिए । अहिले करिब ७०÷८० हजार क्यान्सरका रोगी नेपालमा छन् । हरेक वर्षमा २५ देखि ३० हजार क्यान्सरबाट दिवंगत हुने र २० देखि २५ हजार नयाँ बिरामी थपिने अनुमान छ । यो आधारमा हेर्दा फोक्सोका क्यान्सरका बिरामीको संख्या १५ हजारभन्दा बढी भएको अनुमान गर्न सकिन्छ ।

उपचारबाट बचाउन सजिलो हुने स्तनको क्यान्सर नै हो । फोक्सोको क्यान्सरमा बिरामी बाँच्ने सम्भावना नभएकाले पनि उपचारमा तदारुकता देखिन्न ।

उपचार कसरी ? 

फोक्सोको क्यान्सरमा रेडियोथेरापी र सर्जरीलाई नै जोड दिइएको हुन्छ । कहिलेकाहीँ सर्जरी गर्न नसकिने केसमा रेडियोथेरापी गरिन्छ । तेस्रो चरणको क्यान्सर देखिएमा किमो र रेडियोथेरापी गरिन्छ । सन् १९९० मा फोक्सोको क्यान्सर भएपछि बाँच्ने दर एक वर्ष पनि थिएन भने अहिले झन्डै साढे दुईदेखि तीन वर्ष पुगेको छ । पहिले जस्तो किमोथेरापी मात्रै छैन । अहिले फोक्सोको क्यान्सरको उपचारका क्रममा नयाँनयाँ टार्गेटेड थेरापीको प्रविधि विकास भएको छ।

क्यान्सर हुन नदिन समयमै चनाखो हुनु अनिवार्य छ । खोकी, खकारमा रगत जस्ता लक्षण देखिनासाथ उपचारमा गइहाल्नुपर्छ । नेपाल सरकारले स्क्रिनिङको पनि व्यवस्था गर्नुपर्छ।

अहिले पनि उपचारका लागि भारत जाने क्रम जारी छ । यो उपचार नेपालमा नै सम्भव छ । सर्जरी, रेडियोथेरापी लगायतका उपचार यहीँ सकिन्छ । किमो र टार्गेटेड थेरापी नेपालमै छ भने पेटस्क्यान सुरु भएको छ।

नेपालमा महिलाहरूले सुर्तीजन्य पदार्थ खपत गर्ने दर दक्षिण एसियाकै उच्च छ । खासगरी तराई बाहेक उच्च पहाडी र हिमाली भागमा उनीहरूले उच्च दरमा सुर्तीजन्य पदार्थ खपत गर्छन् । अर्कोतर्फ त्यसले क्यान्सरको जोखिम बढाएको छ।

धुमपान र सुर्तीजन्य पदार्थको प्रयोग र खपतलाई कडाइ गर्नुपर्छ । पहिलेको तुलनामा चुरोट र सुर्तीजन्य पदार्थको सहज पहुँच र खपत घटे तापनि अवस्था सन्तोषजनक छैन । नेपालमा धुमपान र मदिरापान एकै साथ हुने भएकाले त्यसले झनै खराब गर्छ । तसर्थ यी दुवै पदार्थको सहज पहुँच र प्रयोगमा अत्यन्त कडाइको प्रावधान राखिनु आवश्यक छ।

(डा घिमिरे नेपाल क्यान्सर अस्पताल, हरिसिद्धिका मेडिकल डाइरेक्टर हुन्)

स्रोत : स्वास्थ्य खबर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *