कांग्रेसका कारण तालमेल हुन सकेन: प्रचण्ड

“
सप्तरी, भदौ २८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस भित्र अझै अहंकार र दम्भ कायम रहेको आरोप लगाउनु भएको छ । प्रदेश नं.२ को स्थानीय तहको निर्वाचनको क्रममा सप्तरी पुग्नुभएका अध्यक्ष प्रचण्डले आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले मधेशलाइ अझ पनि आफ्नो पेवा ठान्ने गरेको आरोप लगाउनुभयो ।
कांग्रेस एक्लैै जित्छु भन्ने दम्भका कारण दुई नम्बर प्रदेशमा माओवादी केन्द्रसँग तालमेल गर्न नचाहेको खुलासा समेत उहाँले गर्नुभयो । चुनावी तालमेलका लागि आफुले कांग्रेसका शीर्ष नेताहरु र मधेशी दलका नेताहरुसँग कुरा गरे पनि आन्तरिक खिचातानिका कारण तालमेल हुन नसकेको बताउनुभयो । मधेशको सच्चा हिमायती आफनो पार्टी मात्र रहेको दाबी गर्दै अध्यक्ष प्रचण्डले पूनः माओवादी प्रति आकषर्ण बढेकै कारण ठूलो संख्यामा मधेशी नेताहरुको प्रवेश भईरहेको दाबी गर्नुभयो ।
आफू दश महिना प्रधानमन्त्री रहेका बेला मधेशलाई विश्वासमा लिन र जायज माग सम्बोधन गर्न धेरै मेहनत गरेको भन्दै अध्यक्ष प्रचण्डले मधेशी जनताको भावनाको सम्बोधन गर्नुका साथै मधेशी दलको असन्तुष्टी सम्बोधन गर्न र निर्वाचनमा ल्याउन ठूलो भूमिका निर्वाह गरेको दाबी समेत गर्नुभयो ।
“








