यातनासम्बन्धी विधेयकमा दफाबार छलफल सुरु

काठमाडौं, भदौ २७ । व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा ‘यातना दिने तथा निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गर्ने कार्यलाई नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७१’ माथि दफाबार छलफल सुरु भएको छ ।

समितिको आजको बैठकमा उक्त विधेयकमाथि छलफल भई अधिकांश विषय टुङ्ग्याएको छ भने बाँकी केही विषयमा भोलि पनि छलफल जारी रहनेछ । आजको बैठकमा धारणा राख्ने सबैजसोले विधेयकलाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिँदै केही संवेदनशील विषयमा गृह र रक्षाअन्तर्गतका निकायसँग आवश्यक छलफल गरी निचोड निकालिनुपर्ने धारणा राखे ।

सांसदहरु जीवनबहादुर शाही, लोकमणि ढकाल, रवीन्द्रप्रताव शाहलगायतले लामो समयदेखि थाती विधेयकलाई जतिसक्दो चाँडो पारित गरिनुपर्ने बताए ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव कमलशाली घिमिरेले २०७१ सालमै यो विधेयक संसदमा पेश भएको तर अहिलेसम्म पारित हुन नसकेको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको हिसाबले पनि यो ऐन चाँडो टुङ्ग्याइनुपर्ने बताए ।

गृह मन्त्रालयका सहसचिव निर्मला अधिकारीले विधेयकलाई चाँडो टुङ्गो लगाउन मन्त्रालयले पहल गर्ने बताउनुभयो । रक्षा मन्त्रालयका सहसचिव शंकरप्रसाद पाठकले सम्बन्धित पक्षको रायसुझावलाई समेटेर ऐन पारित गरिनुपर्नेमा जोड दिए ।

समितिका सभापति दिलबहादुर घर्तीले संवेदनशील विषयको ऐन भएकाले यसलाई दफावार छलफल गरी अन्तिम रुप दिने बताए । समितिको अर्को बैठक भोलि ११ बजे पुनः बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *