मोरङमा डेंगु रोग नियन्त्रण अभियान सुरु

मोरङ, भदौ २७ । गत वर्ष डेंगु रोगबाट प्रभावित बनेको मोरङको उर्लाबारी, पथरी र शनिश्चरेमा यस वर्ष डेंगु नियन्त्रणको अभियान थालिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले सोमबार (हिजो) उर्लाबारी, पथरी र शनिश्चरेमा डेंगु नियन्त्रणसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम राखी नियन्त्रण अभियान सुरु गर्न लागेको हो ।

पथरी र शनिश्चरे स्वास्थ्य चौकीको संयोजनमा पथरीमा सम्पन्न कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख चन्द्रदेव मेहताले मंगलबार (आज)देखि उर्लाबारी, पथरी र शनिश्चरेमा डेंगुरोग सार्ने लामखुट्टेको वासस्थान नष्ट गर्ने चारदिने अभियान अघि बढ्ने जानकारी दिए ।

उनले कार्यक्रममा सहभागी विभिन्न पक्षका सरोकारवालालाई कुलर, गमला, टिन तथा प्लास्टिकका डब्बा, टायरमा पानी जम्न नदिनु नै डेंगु रोग नियन्त्रणको उपाय रहेकाले सबैलाई सचेत गराउन अनुरोध गरे ।

कार्यक्रममा कार्यालयका प्राविधिक रिपुमर्दन डोटेलले डेंगु रोग सर्ने तथा यसको नियन्त्रणका उपायका बारेमा जानकारी गराए ।

पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलीपकुमार राईले पथरी बजार क्षेत्र लामखुट्टेजन्य रोगको जोखिम क्षेत्र भएकाले यसमा सबै पक्ष मिलेर जनचेतना जगाउन र निरन्तर सरसफाइ गर्न आवश्यक रहेको उल्लेख गरे ।

सफा पानीमा बस्ने ‘इडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेका माध्यमबाट भाइरसका कारण उच्च ज्वरो आउने डेंगुको लक्षणका आधारमा उपचार गरिन्छ । गतवर्ष नौजनामा डेंगु देखा परेको उर्लाबारीमा यस वर्ष एकजनामा देखा परेको छ ।

पथरीशनिश्चरेको पथरी बजारमा गत वर्ष तीनजनामा यो रोग देखा परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *