उपकूलपतिले मान्छे प्रयोग गरेर धाकधम्की दिएको आरोप

भाद्र २५, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले प्रतिष्ठानका उपकूलपतिको निर्देशनमा प्रतिष्ठान भित्र र बाहिरबाट कर्मचारीहरूलाई विभिन्न धाकधम्की दिने गरेको आरोप लगाएको छ । प्रतिष्ठान स्थित कर्मचारी कल्याण समाजले आज एक विज्ञप्ति जारी गर्दै समाजले उठाएका जायज मागहरू सम्बोधन गर्नुको सट्टा उपकूलपति डा. राजकुमार रौनियारको निर्देशनमा आन्दोलनमा उत्रिएका कर्मचारीलाई बाहिर तथा भित्रबाट विभिन्न धाकधम्की आएको जिकिर गरेको हो ।

समाजद्वारा जारी विज्ञप्तिमा कर्मचारीहरूको मौलिक हक–अधिकारका लागि शान्तिपूर्ण दवावमूलक कार्यक्रम गर्न पाउने हकलाई चुनौती दिँदै उपकुलपतिको निर्देशनमा प्रतिष्ठान भित्र र बाहिरबाट कर्मचारीहरूलाई धाक–धम्की दिने गरेको बताइएको छ । उपकूलपतिको उक्त कार्यको घोर निन्दा गर्दै कुनै पनि कर्मचारी माथि अप्रिय घटना भएमा त्यसको जिम्मेवारी उपकुलपति स्वयम् हुनुपर्ने भनिएको छ ।

कर्मचारीहरू आन्दोलनमा

व्यवस्थापनले प्रतिष्ठानमा कार्यरत कर्मचारीका मागहरू उपर कुनै सुनुवाइ नगरेपछि कर्मचारी कल्याण समाजले आन्दोलन सुरु गरेको छ । प्रतिष्ठानका उपकूलपति समक्ष १९ बुँदे मागपत्र पेस गरेको दुईसाता वितिसक्दा पनि व्यवस्थापन पक्ष सकारात्मक नबनेपछि वीपी प्रतिष्ठान धरानका कर्मचारीहरुले आजबाट आन्दोलनमा उत्रिएका हुन् । आज समाजको नेतृत्वमा कर्मचारीहरुले तीन घण्टा उपकूलपतिको कार्यालय घेराउ गरे ।

कर्मचारी कल्याण समाजले कर्मचारीहरूको सेवा सुविधा वृद्धि, प्रतिष्ठानवाट प्रवाह हुने सेवा सुविधाको गुणस्तर र क्षमता विस्तार तथा मितव्ययी र पादरदर्शी आर्थिक प्रणाली विकाससँग सम्बन्धित विभिन्न १९ बुँदे माग ज्ञापन–पत्र मार्फत उपकुलपति समक्ष पेस गरे पनि उपकूलपतिले उल्टै आन्दोलन गर्ने कर्मचारीलाई कारबाही गर्ने अभिव्यक्ति दिएपछि कर्मचारी कल्याण समाज आन्दोलनमा उत्रिएको समाजका अध्यक्ष सुजेन्द्र तामाङले बताए ।

समाजद्वारा जारी विज्ञप्तिमा कर्मचारी कल्याण समाजको विधान बमोजिम तिहार लगत्तै निर्वाचन गराउन माग गरेको छ । प्रतिष्ठानको विधान अनुसार समाजको निर्वाचन प्रतिष्ठानले गराउनुपर्ने भए पनि विगत एकवर्ष यता समाजको निर्वाचन भएको छैन । उपकूलपति डा. रौनियारले समाजको निर्वाचन नगरेपछि अहिले समाज अवैधानिक रहेको अभिव्यक्ति दिँदै आएका छन् । प्रतिष्ठानका एक कर्मचारीले सिनेटले मान्यता दिएको समाजलाई उपकूलपतिले अवैधानिक भन्नु गलत रहेको बताए । उनले प्रतिष्ठानले नै समाजको निर्वाचन हुन नदिएको जिकिर गरे ।

यता प्रतिष्ठानका उपकूलपतिले भने, यो विषयमा प्रतिष्ठानका प्रवक्तासँग कुरा गर्न भन्दै पन्छिए । प्रवक्ता डा. पशुपति चौधरीले आरोपहरू लगाउनकै लागि मात्र भएको बताए । उनले समाजले लगाएको आरोपमा कुनै सत्यता नभएको भन्दै प्रमाण भए प्रतिष्ठान व्यवस्थापन सँग कुरा गर्नुपर्ने जिकिर गरे । साथै चौधरीले प्रतिष्ठानका कर्मचारीले व्यवस्थापनसँग आफ्ना माग राख्नु अधिकार भएको भन्दै उनीहरूका नियम र परिधी भित्र रहेर पुरा गर्नु व्यवस्थापन पक्षको काम भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *