अव्यवस्थित प्रदर्शनीका कारण भृकुटीमण्डप बन्यो भिडमण्डप

काठमाडौं, भदौ २४ । व्यवस्थित प्रर्दशनी स्थलको अभावमा भृकुटीमण्डप र त्यस वरपरको क्षेत्र अव्यवस्थित बन्दै गएका छन् । बैकल्पिक र व्यवस्थित प्रर्दशनी स्थलको अभावका कारण एउटै मात्र प्रर्दशनीस्थल भृकुटीमण्डपमा चाप बढेपछि त्यसले वरपरको क्षेत्र प्रभावित बनाएको हो ।
यसले सिंगो शहर भरिकै सवारी व्यवस्थापनमा पनि प्रभाव पार्दै आएको छ ।

विशेष गरेर दशै तिहार जस्ता चाडपर्वको समयमा विभिन्न व्यवसायीले संचालन गर्ने मेलाका कारण त्यस वरपरको वातावरण संगै यातायात व्यवस्था अस्तव्यस्त बन्ने गरेको हो ।

हिन्दुहरुको महान चाड दशै नजिकिएसंगै अहिले भृकुटीमण्डपमा पनि मेला आयोजकको भीड बढेको हो । भृकुटीमण्डप प्रर्दशन प्रवेशको मुल गेट प्रवेश गर्दैगर्दा दायाँतर्फ राखिएको दशैं जुत्ता मेलामा लागेको उपभोक्ताको चापले बाहिर पैदल यात्रीलाई पनि सडकमा सहज यात्रा गर्न कठिन पारेको छ । त्यसपछि मुख्य प्रर्दशनीस्थलमा लागेका स्टक क्लियरेन्स मेला र यामाहा मोटरबाईकको मेलाले आगन्तुकको भीडलाई थप बढाएका छन् ।

स्टक क्लियरेन्स मेलामा सबै वर्ग र तहका उपभोक्ताको उल्लेख्य भीड लागेको छ । चुरा, धागो, पोते लगायत श्रृंगार बालबालिका तथा महिला र पुरुषका पोशाक राखिएको सो प्रर्दशनीमा सामान जाँचेर सुहाए नसुहाएको हेर्ने र किन्ने महिला पुरुषको संख्या उत्तिकै छ ।

त्यसै संगै रहेको यामाहा मोटरसाईकल प्रर्दशनीमा पनि मोटरसाईकल किन्ने र हेर्नेको भीड लागेको छ ।
एउटै प्रर्दशनी स्थलमा रहेका भिन्न भिन्न प्रकारका मेलामा किनमेल गर्न आउने जाने सर्वसाधरणका कारण त्यस क्षेत्रको यातयात व्यवस्था अव्यवस्थित बन्ने गरेको हो । मेला र प्रर्दशनीको संख्या बढे संगै अहिले सो क्षेत्रमा पैदल हिड्ने यात्रुले समेत सुविस्ताले हिड्न पाएका छैनन् । ट्राफिक प्रहरीलाई पनि सवारी साधनको पार्किङ लगायत संचालनको व्यवस्था मिलाउन हम्मे हम्मे पर्ने गरेको छ । मेला र प्रर्दशनीको अलावा विभिन्न समुह र वर्गले दैनिक जसो निकाल्ने गरेको र्याली लगायतको चपेटामा पनि सो मार्ग पर्ने गरेको छ । त्यसैले बढ्दो मेला र प्रर्दशनीप्रतिको सर्वसाधरणको आकर्षण तथा व्यवसाय प्रर्बधनका लागि पनि व्यवस्थित प्रर्दशनी स्थल तथा बैकल्पिक प्रर्दशनी स्थलको आवश्यकता टट्कारो बन्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *